६ वैशाख २०८१ बिहीबार
राजनीति

माओवादी प्रतिनिधिले मतपत्र च्यातेको ठहर

काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका तर्फबाट खटिएका गणना प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि भएको छ। पहिलो चरणअन्तर्गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले खटाएको अनुगमन टोलीले माओवादी केन्द्रका प्रतिनिधिले नै मतपत्र च्यातेको पुष्टि गरेको हो।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७  वटाको मतगणना सम्पन्न भइसकेको र १९ नं. वडाको गणनाका क्रममा मतपत्र च्यातिएका कारण गणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा छानबिन टोली गठन गरेको थियो। टोलीले स्थलगत अध्ययनपछि माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको प्रतिवेदन दिएको हो। टोलीले घटनाको स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरी आयोगमा बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार एमालेका तर्फबाट देवी ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालबीच भइरहेको प्रतिस्पर्धामा माओवादीले सोचेअनुरुप मतान्तर घटाउन नसकेपछि निर्वाचन नतिजालाई प्रभावित पार्न मतपत्र च्यातेको उल्लेख छ। प्रतिवेदनअनुसार थोरैमात्र मतपत्र च्यातिएको, केही कच्याककुचुक बनाइएको र पछि सबै सिलबन्दी गरेर राखिएको उल्लेख छ। प्रतिवेदनमा मतपत्र च्यातिएको भनिए पनि कति मतपत्र च्यातिए भन्ने उल्लेख छैन। अनुगमन टोलीले आयोगमा बुझाएको प्रतिवेदनअनुसार मतपत्र च्यात्ने व्यक्ति अन्य दिन माओवादीका तर्फबाट खटिनेभन्दा फरक प्रतिनिधि भएको समेत उल्लेख छ। प्रतिवेदनअनुसार माओवादी केन्द्रका नेता सूर्य सुवेदी, वाइसिएलका जिल्ला अध्यक्ष मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका हुन्, जसमध्ये न्यौपाने र शिवाकोटी पक्राउ परेको उल्लेख छ। टोलीले योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको उल्लेख गर्दै मुख्य निर्वाचन अधिकृतको कमजोरीसमेत संकेत गरेको छ।  

च्यातिएको मतपत्र संख्या यकिन गर्न निर्देशन

अनुगमन टोलीले स्थलगत प्रतिवेदन बुझाएलगत्तै बुधवार बसेको निर्वाचन आयोगको बैठकले कतिवटा मतपत्र च्यातिएको हो, यकिन गरेर प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ।

बुधवार झन्डै तीन घन्टा बसेको प्रमुख आयुक्तसहितको बैठकले अनुगमन टोलीको प्रतिवेदनमा कति मतपत्र च्यातिएको भन्ने यकिन नभएको भन्दै सुरक्षा व्यवस्था मिलाएर सिलबन्दी खोली च्यातिएका मतपत्र यकिन गर्न निर्देशन दिएको हो। 'यस आयोगबाट खटिएको अनुगमन टोलीले दिएको प्रतिवेदनसमेतको आधारमा उक्त घटनामा केही मतपत्र च्यातिएको उल्लेख भएको तर केकति संख्यामा मतपत्र च्यातिएको हो भन्ने यकिन नभएको, गणना भएका र गणनाको क्रममा रहेका मतपत्र जहाँ जेजस्तो अवस्थामा थिए, सोही अवस्थामा नै एकै पोको पारी सिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको छ,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘त्यसैले उक्त सिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्थासहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा  प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एकएकजना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुखसमेतको रोहबरमा खोली गणनाका क्रममा रहेका मतपत्रमध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत भरतपुर महानगरपालिकालाई लेखी पठाउने निर्णय भएको छ।'

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतले प्रतिवेदन पठाएपछि मात्रै थप निर्णय लिने जनाएको छ। निर्वाचन आयुक्त इला शर्माले च्यातिएर नष्ट भएका मतपत्र कति छन् भन्ने यकिन गरी प्रतिवेदन आएपछि मात्रै थप निर्णय लिने बताइन्। ‘सम्भवतः बिहीबार बेलुकीसम्म प्रतिवेदन आउँछ, त्यसपछि आयोगले आवश्यक निर्णय लिन्छ', उनले भनिन्।

मतपत्र च्यातिएपछि माओवादीले पुनः निर्वाचन माग गरेको छ भने एमालेले मतगणनालाई निरन्तरता दिन माग गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App