१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोस्रोचरणको चुनाव असार १४ मा

काठमाडौं- सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति तेस्रोपटक सारेर असार १४ मा पुर्‍याएको छ। दुई दिनअघिमात्र असार ९ मा गर्नेगरी मिति सारेको सरकारले बुधबार फेरि आफ्नै निर्णय काटेर निर्वाचन असार १४ मा पुर्‍याएको हो। सरकारले छिनछिनमा निर्णय बदल्दा मतदाता र राजनीतिक दल अन्योलमा परेका छन्।

सुरुमा फागुन ९ गते वैशाख ३१ मा देशभर एकै चरणमा स्थानीय निर्वाचन गराउने घोषणा गरेको सरकारले वैशाख १० गते आएर प्रदेश १, २, ५ र ७ का ४३ (रुकुम र नवलपरासी समेत) जिल्लामा दोस्रो चरणमा जेठ ३१ मा चुनाव गराउने निर्णय लिएको थियो। पहिलो चरणअन्तर्गत प्रदेश ३, ४ र ६ का ३४ जिल्ला (रुकुम र नवलपरासी समेत) मा भने वैशाख ३१ गते निर्वाचन सम्पन्न भई परिणाम सार्वजनिक भइसकेको छ। पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण (जेठ ३१ ) का लागि तयारी अघि बढिरेहका बेला सरकारले जेठ १५ गते असार ९ मा चुनाव गराउनेगरी मिति सारेको थियो। 

मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले असार ९ गते स्लाम धर्मावलम्बीको पर्व रमदान परेकाले निर्वाचन मिति १४ गतेका लागि सारिएको जानकारी दिए। 'असार ९ गते मुस्लिम समुदायको चाड रमदान परेकाले चुनाव मिति १४ गते सार्नुपरेको हो,' सञ्चारमन्त्री कार्कीले भने।

दोस्रो चरणको मिति दोस्रोपटक सारेको  भोलिपल्ट मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि केही दिन पर चुनाव धकेल्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए। सरकारले प्रदेश १, २, ५ र ७ मा दोस्रो चरणमा जेठ ३१ गते निर्वाचन गराउने निर्णय गरेेलगत्तै मुस्लिम समुदायका अगुवा र प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएका थिए। 

तेस्रोपटक चुनाव मिति सारेर तर धान रोपाइँको व्यस्त  समय र मध्य बर्खामा पुर्‍याइएपछि व्यवस्थापनसमेत समस्या बढन सक्ने देखिएको छ।

यसअघि सरकारले राजपालगायत मधेसवादी दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश १, २, ५ र ७ मा  जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गराउने निर्णय लिनुपरेको जनाएको थियो। दोस्रोपटक निर्वाचन सार्दा पनि सरकारले यही कारण देखाएको थियो। तेस्रोपटक सार्दा भने स्लाम धर्मावलम्बीको चाड रमदानलाई कारण देखाएको छ। तर राजपाले पटकपटक मिति सारिए पनि निर्वाचनमा भाग लिने स्पष्ट प्रतिबद्धता अहिलेसम्म जनाएको छैन।

राजपालगायत मधेसवादी दललाई दोस्रो चरणको चुनावमा सहभागी गराउने भन्दै सरकारले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको दफा १८ संशोधन प्रक्रिया अघि बढाइसकेको छ।

६ सय ४४ स्थानीय तहमध्ये २ सय ८३ मा पहिलो चरणमा निर्वाचन भइसकेको छ। दोस्रो चरणमा बाँकी ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउने तयारी अघि बढिरहेका बेला मन्त्रिपरिषद् बैठकले जेठ ८ मा तराईमधेसमा २२ स्थानीय तह थप्नेे, २४ गाउँपालिकालाई नगरपालिका बनाउने तथा विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने निर्णय गरेपछि अन्योल उत्पन्न भएको थियो। स्थानीय तह थप्ने निर्णयविरुद्ध मुद्दा परेपछि त्यसलाई कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिइसकेको छ। सर्वोच्चको आदेशसँगै तह थप निर्णय कार्यान्वयन अन्योलमा परेका बेला सरकारले तेस्रोपटक चुनाव मिति सारेको हो।

दोस्रो चरणको निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ मतदाता छन्।

नयाँ निर्वाचन कार्यतालिका

सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन  मिति तेस्रोपटक सारेर असार १४ मा पुर्‍याएलगत्तै निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। 

दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका अनुसार असार २ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ। सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ। सम्बन्धित मुख्य/निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ। जेठ ३१ को निर्वाचनका लागि जेठ १९ गते मनोनयन दर्ता कार्यक्रम राखिएको थियो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले चुनाव मिति सारिएपछि निर्वाचन कार्यक्रम पनि नयाँ तोक्नुपरेको बताए। उनका अनुसार असार २ गते मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए ३ गते दर्ता गराउन सकिनेछ। सोही दिन मुख्य/निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच गर्नेछ। असार ४ गते उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन्। ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न दिइनेछ। असार १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App