८ वैशाख २०८१ शनिबार
अर्थ

कर्जा कडाइबीच सेयर बजार उत्साहित

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गरे पनि त्यसको असर सेयर बजारमा देखिएको छैन। सेयर कर्जामा लगानी गर्दा बढी जोखिम हुने भन्दै राष्ट्र बैंकले आर्थिक वर्ष ०७३/७४ को मौद्रिक नीतिमा सेयर धितोमा कर्जा प्रवाह गर्न केही कडाइ गरेको थियो। तर, लगानीकर्ताले त्यस्तो व्यवस्थाको पर्वाह नगरी सेयर खरिद गर्न थालेपछि केन्द्रीय बैंकको कदमले बजारमा असर नगर्ने संकेत देखिएको छ।

मौद्रिक नीति आएको दुई दिनमै सेयर बजार मापक नेप्से ६८.४२ बिन्दुले बढेर १७८६.५७ अंकमा पुगेको छ। मौद्रिक नीतिपछि खुलेको पहिलो दिन आइतबार नेप्से २७.५९ र सोमबार ४०.८३ बिन्दुले बढेको थियो। केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रको लगानीलाई बढावा दिँदै सेयर र रियलस्टेट कर्जालाई कसेको थियो।

'मार्जिन लोन' दिँदा १ सय ८० दिनको अन्तिम मूल्यको औसत वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशत कायम रकममात्र कर्जा प्रवाह गर्न पाइने व्यवस्था मौद्रिक नीतिमा छ। यसअघि बैंक तथा वित्तीय संस्थाले त्यस्तो सेयर कर्जा ६० प्रतिशतसम्म दिँदै आएका थिए।

अत्याधिक जोखिम हुने भएकाले रियलस्टेट र सेयरबजारमा जाने कर्जामा अंकुश लगाउनु मौद्रिक नीतिको सकारात्मक पक्ष भएको बैंकरको भनाइ छ। लगानीकर्ताले भने राष्ट्र बैंकले सेयर कर्जामा गरेको कसिलो नीतिको पर्वाह नगरी सेयर किनिरहेका छन्।

सरकारले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.७७ प्रतिशत र चालु आवको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मुलुकको आर्थिक अवस्था खस्कँदै गए पनि सेयर बजार लगातार उकालो लागिरहेको छ। अर्थतन्त्र तथा सेयर बजारको सम्बन्ध नङ र मासुको जस्तो भए पनि अर्थतन्त्र ओरालो लागिरहँदा सेयर बजार उकालो लागिरहेको छ। सोमबार सेयर बजार पुँजीकरण १९ खर्ब ६५ अर्ब पुगेेको छ।

मौद्रिक नीतिपछि वाणिज्य बैंक समूहको सूचक उच्च रुपमा बढेको छ। यो समूहको सूचक ४०.७९ बिन्दुले उक्लिएको छ। सोमबार ८७ करोड ३९ लाख रुपैयाँको वाणिज्य बैंकहरुको सेयर किनबेच भएको छ।

वाणिज्य बैंकसँगै बिमा क्षेत्रमा आएको उच्च वृद्धिले बजारलाई एकै दिन ४०.८३ बिन्दु माथि पुर्‍याएको हो। बिमा समूहको सूचकले ऐतिहासिक रेकर्ड तोडेको छ। बिमा समूहको सूचक ६१८.४२ बिन्दुले उक्लिएको छ।

बजारमा दिनभरमा एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको किनबेच भयो। मार्जिन लेन्डिङमा सामान्य कडाइ गरिए पनि बैंकिङ क्षेत्रको नाफा यसपालि पनि उच्च आउने देखिएकाले लगानीकर्ता हौसिएका हुन्। बिमामा एफपिओ जारी गर्ने लहर चलेकाले सूचकलाई माथि पुर्‍याएको हो।

अन्य समूहको सूचक ११.२७, विकास बैंक समूहको सूचक २.८३ र फाइनान्स समूहको सूचक ०.२८ ले घटेको छ। उत्पादनमूलक समूहको ४४.४६ तथा होटल समूहको  १.१७ र जलविद्युत समूहको १४.६६ सूचक बढेका छन्।

बजारमा बढी गुमाउनेमा लघुवित्तका लगानीकर्ता छन्। स्प्रेड तोकिएको र उनीहरुको लगानीको स्रोत खोसेर फेरि बैंकलाई नै जिम्मा दिइएकाले लघुवित्तको मूल्य घटेको हो।

राष्ट्र बैंकले लघुवित्तको ब्याजदर स्प्रेडबाट नियन्त्रण गरेको छ। मौद्रिक नीतिमा लघुवित्तको स्प्रेडदर ७ प्रतिशतमा सीमित गर्ने उल्लेख छ।

लघुवित्तले कर्जा लगानी गर्दा ग्राहकसँग लिने ब्याजदर सम्बन्धित संस्थाको कोषको लागतमा बढीमा ७ प्रतिशत कायम गरी निर्धारण गरिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

केन्द्रीय बैंकले लघुवित्त संस्थाले प्रदान गर्ने कर्जासीमा बढाए पनि लघुवित्तको चुक्ता पुँजी बढाउने विषय भने यसमा समावेश छैन।

केन्द्रीय बैंकले राष्ट्रिय स्तरको थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको चुक्ता पुँजी भने ६० करोड रुपैयाँ पुर्‍याउने व्यवस्था गरेको छ।

राष्ट्रिय स्तरको  थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाको चुक्ता पुँजी बढेको छ। थोक कारोबार गर्ने चार संस्था साना किसान विकास बैंक, आरएमडिसी र फर्स्ट माइक्रो फाइनान्स र आरएसडिसी लघुवित्त संस्थाका चुक्ता पुँजी बढाएका हुन्। जसअनुसार यी चारै संस्थाले २०७५ असारसम्म पुँजी ६० करोड रुपैयाँ पुर्‍याउनु पर्नेछ। अहिले यी संस्थाको पुँजी १० करोड रुपैयाँ भए पुग्छ।

बाँकी संस्थाको पुँजी इम्यापिङ र संघीय संरचना अध्ययन प्रतिवेदनलाई आधार मानेर पछि वृद्धि गरिने जनाइएको छ।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले लघुवित्त संस्था दुर्गम र पहाडी क्षेत्रमा शाखा विस्तार गर्न समस्या हुने लघुवित्त सञ्चालक बताउँछन्। यसैगरी वाणिज्य बैंकले विपन्न वर्गमा लगानी गर्नुपर्ने पाँच प्रतिशत कर्जामध्ये न्यूनतम दुई प्रतिशत आफैंले प्रत्यक्ष लगानी गर्नुपर्ने व्यवस्थाका कारण लघुवित्त संस्थालाई कर्जा लगानीका लागि चाहिने कोषमा समस्या पर्ने लघुवित्तका जानकार बताउँछन्। यसले पनि लघुवित्त कम्पनीको सेयर मूल्य घटेको उनीहरुको भनाइ छ।

प्रकाशित: ४ श्रावण २०७३ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App