८ वैशाख २०८१ शनिबार
खेल

प्रधानमन्त्री कप वर्षाले प्रभावित

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगताअन्र्तगत मंगलबारको खेल वर्षाले प्रभावित भएपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ अंक बाँडेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मध्यपश्चिमाञ्चलले ४३.२ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । १ सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४.२ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएर खेलिरहँदा पानी परेपछि बाँकी खेल हुन सकेन ।

समूह ‘बी’ मा रहेको एपिएफ २ अंकसहित शीर्ष स्थानमा छ भने मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले समान १–१ अंक जोडेका छन् । पश्चिमाञ्चलले भने कुनै अंक जोड्न सकेको छैन । मंगलबारको बराबरीले बलियो मानिएको मध्यमाञ्चललाई घाटा लागेको छ । 

हरिशंकर शाहले दुई र रसिद खानले मध्यपश्चिमाञ्चलको अग्रपंक्तिलाई पवेलियनको बाटो देखाएपछि टोली दबाबमा परेको थियो । पहिलो ओभरमा रसिद खानले तेस्रो बलमै ओपनर सुशान्त थापालाई शून्यको अवस्थामा सोनु तामाङमार्फत क्याच गराए । ८ रन बनाएका कप्तान सुवेन्दु पाण्डेलाई हरिशंकरले एलविडब्लु आउट गरे । लगत्तै प्रज्वल शाही १ रनको स्थितिमा रनआउट भए । अनुपम सिंहले पनि लामो इनिङ खेल्न सकेनन् । २९ बलमा ४ रन बनाएका अनुपमलाई हरिशंकरले बोल्ड गरेका थिए ।

१२.१ ओभरमा अनुपम आउट हुँदा मध्यपश्चिमाञ्चल २३–४ को अवस्थामा थियो । त्यसपछि टोलीको इनिङ मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । राजवीर सिंहले पाँचांै विकेटका लागि प्रनित थापामगरसँग ४१ तथा अमरसिंह राउटेलासँग छैटौं विकेटका लागि २८ रनको साझेदारी गरेपछि मध्यपश्चिम सम्मानजनक योगफलतर्फ लम्किएको थियो । अमरसिंहले १० रन बनाउँदा प्रनितले २० रन जोडे । राजवीरले ३ चौका र १ छक्कासहित ६३ रन बनाएका थिए ।

तर, त्यसपछि किशोर महतो बलिङमा चम्कँदा मध्यपश्चिमले १ सय २३ रनमा सबै विकेट गुमायो । किशोरले १० ओभरमा ३ मेडन राख्दै २९ रन दिएर ४ विकेट लिए । उनले अमरसिंहलाई विकेटकिपर सुशान्त थापामार्फत क्याच गराएका थिए भने सिद्धान्त शाहीलाई शून्यमा बोल्ड गरेका थिए । किशोरले दुई रन बनाएका आकाश विष्टलाई पनि सुशान्तको हातबाट क्याच गराए । ६३ रन बनाएका राजवीरलाई किशोरले बोल्ड गरेका थिए । 

१ सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४ ओभरभन्दा खेल्न पाएन । पानीले खेल रोकिनुअघि मध्यमाञ्चलले ओपनर हरिशंकरको विकेट गुमाइसकेको थियो । रनको खाता खोल्न नपाएका हरिशंकरलाई सिद्धान्त शाहीले विकेटकिपर सुशान्तमार्फत क्याच गराएका थिए । खेल रोकिनुअघि ओपनर भूपेन्द्र थापा १० र सोनु तामाङ ११ रन बनाएर खेलिरहेका थिए ।

मध्यमाञ्चलले बुधबार पश्चिमाञ्चलविरुद्ध खेल्नेछ भने मध्यपश्चिमाञ्चलले बिहीबार पश्चिमाञ्चलविरुद्ध खेल्नेछ । 

मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले समान १–१ अंक जोडेका छन् । मंगलबारको बराबरीले बलियो मानिएको मध्यमाञ्चललाई घाटा लागेको छ । 

प्रकाशित: १७ जेष्ठ २०७४ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App