७ वैशाख २०८१ शुक्रबार
अर्थ

लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई बेवास्ता

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट काम चलाउ खालको भएको भन्दै यहाँका उद्योगी व्यवसायीले निजी क्षेत्रलाई खासै उत्साही हुनुपर्ने ठाँउ नभएको बताएका छन् ।

लगानी प्रोत्साहन तथा उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता नदिएको भन्दै यहाँका उद्योगी व्यवसायीले बजेट कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे । विकास बजेट खर्च हुन नसक्दा आर्थिक गतिविधि सुस्त भएको भन्दै उद्योगी व्यवसायीले बजेट कार्यान्वयनमा जोड दिएका हुन् ।

काम चलाउ सरकारले ल्याएको बजेट पनि काम चलाउ खालकै भएकाले निजी क्षेत्र खासै उत्साही हुनुपर्ने ठाँउ नभएको सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले बताए । राष्ट्रिय गौरवका आयोजना र उर्जालाई महŒव दिनु बजेटको सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले लगानी प्रोत्साहन र उत्पादनमूलक कार्यक्रमलाई सम्बोधन गर्न नसकेको बताए ।

७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित सोमबार प्रस्तुत बजेटमा लुम्बिनी गुरुयोजनाको कामलाई तीव्रता दिने उद्देश्यसहित एक अर्ब बजेट विनियोजन गरिएको छ । त्यस्तै लुम्बिनी–काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता  अध्ययनका लागि बजेट विनियोजन,  वेलहिया–बुटवल व्यापारिक मार्ग दुई वर्षभित्र सम्पन्न गर्ने, लुम्बिनीको पर्यटकीय विकासमा महत्वपूर्ण मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७५ भित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ । 

त्यस्तै भैरहवा नाकामा वर्षौदेखि अलपत्र रहेको निर्माणाधीन एकीकृत जाँच चौकी आइसिपीको काम अगाडि बढाउने, बुटवल–गोरखपुर चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन आगामी वर्षदेखि सुरु गरिने बजेटमा उल्लेख छ । जसलाई यहाँको निजी क्षेत्रले खुलेर स्वागत गरेको छ ।
 
तर उर्जा संकट समाधानका लागि जलविद्युत् आयोजनामा  पर्याप्त रकम विनियोजन गरिनु सकारात्मक पक्ष भए पनि बुटवल–भैरहवा १३२ केभी प्रसारण लाइन परियोजना, लुम्बिनी औद्योगीक कोरिडोर र भैरहवा–धकधइ कोरिडोरमा  औद्योगिक सुरक्षा बल स्थापना, लुम्बिनीमा पाँच हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निमार्ण जस्ता महŒवपुर्ण योजनालाई बजेटले समेट्न नसक्दा आफूहरु उत्साही हुन नसकेको सिद्धार्थनगर उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीको भनाइ छ । 

संघका वरिष्ठ उपाध्यक्ष तथा भन्सार एजेन्ट महासंघ  नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्तराम शर्माले निजी क्षेत्रले दिएका औद्योगिक विकास सम्बन्धित सुझावलाई बजेटले समेट्न नसकेको बताए । नयाँ कार्यक्रम नसमेटिएको र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएकाले यसपालिको बजेट आहा भन्ने खालको छैन । बजेटका लागि बजेट आएको छ,’ शर्माले भने । 

सिद्धार्थ टुर एन्ड ट्राभल एजेन्ट साटाका अध्यक्ष चन्द्र थापाले बजेटले पर्यटन क्षेत्रलाई महत्व नदिएको बताए । लुम्बिनी एग्रो पोडक्ट एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक शशी पौडेलले बजेटले कृषिलाई महत्व दिएजस्तो देखिए पनि ती कार्यक्रम सिंहदरबार, मन्त्रालय र विभागमै सीमित हुने खालको भएको प्रतिक्रिया दिए । किसानलाई प्रत्यक्ष राहत र सहुलियत दिने खालका लोकप्रिय र व्यवहारिक कार्यक्रम बिनै बजेटको आकार ठूलो देखाइएको कृषि उद्यमी पौडेलको भनाइ छ । 

पश्चिमाञ्चल सिमेन्ट उत्पादक सघंका अध्यक्ष ऋषिकेश अग्रवालले विकास बजेट खर्च नहुँदा आर्थिक क्रियाकलाप बढ्न नसकेकाले बजेटमा जतिसुकै राम्रा कार्यक्रम र योजना समेटिए पनि कार्यान्वयन फितलो भए त्यसको अर्थ नहुँने भन्दै कार्यान्वयनतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘विगतमा जस्तो कार्यान्वयनको पाटो फितलो नहोस्,’ अग्रवालले भने ‘त्यसका लागि विशेष संयन्त्र बनाएर प्रभावकारी अनुगमन र निरीक्षण गर्नु जरुरी छ ।’ 

स्थानीय तहलाई बजेट विनियोजन गर्नु सकारात्मक भएको भन्दै अग्रवालले सो रकमको सहि सदुपयोग गर्न सके मुलुकमा आर्थिक विकासले गति लिने बताए । सिद्धार्थ यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष मनिलाल खरेलले स्थानीय तहमा विनियोजित रकम सकारात्मक भएको प्रतिक्रिया दिए । प्रमुख समस्याको रुपमा रहेको उर्जा संकट र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिनु सकारात्मक भए पनि  यसपटकको बजेटले निजी क्षेत्रलाई उत्साही बनाउन नसकेको खरेलको भनाइ छ ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App