७ वैशाख २०८१ शुक्रबार
अर्थ

घाँस खेती गरेर सर्वाेत्कृष्ट

फुटुक घाँस तथा बीउ उत्पादक समूहका अध्यक्ष यामप्रसाद भट्टराई सोमबार समूहले पाएको पुरस्कार ग्रहण गर्दै । तस्बिर : भीम चापागाईं

इलाम – नगदे र खाद्यबाली खेती गरेर उल्लेख्य आम्दानी गरिरहेका किसान पशुका लागि आवश्यक घाँस खेती गरेर पनि व्यावसायिक बन्दैछन् । उन्नत जातको घाँस खेती गरेर किसानले अन्य बालीको तुलनामा बढी आम्दानी लिन थालेका हुन्। 

जिल्लाको देउमाई नगरपालिका–६, शान्तिडाँडाका किसानले घाँस खेतीबाटै लाखौं रुपैयाँ कमाएका छन् । उनीहरूले उत्पादन गरेको घाँस गाउँमा बिक्री हुन्छ । घाँसको बीउ भने जिल्लामात्र नभई बाहिरी जिल्लाहरूसम्म पुग्ने गरेको छ । यहाँका ६० किसानले चार सय रोपनीभन्दा बढीमा घाँस खेती गरेका छन् । ‘फुटुक जई घाँस तथा बीउ उत्पादक समूह’ नै गठन गरेर यहाँका किसानले फाइदा लिन थालेका हुन् ।यो समूहलाई जिल्ला पशुसेवा कार्यालयले वर्षको सर्वाेत्कृष्ट कृषक समूहका रूपमा सोमबार १० हजार नगद पुरस्कारले सम्मानसमेत ग¥यो । घाँस खेतीबाट पशुपालन र घाँस विस्तारका साथै किसानको आम्दानीमा सघाएर प्रगति गरेको मूल्यांकन गर्दै समूहलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । 
यहाँका किसानले २०५० सालमै घाँस खेती थालेका थिए । तर, समूह गठन भने २०७० सालमा गरिएको समूह अध्यक्ष यामप्रसाद भट्टराईले बताए । समूह गठन गरेपछि किसानहरू घाँस खेतीमा अझ उत्साहित भएको उनले जनाए । ‘सुरुमा ३ किसानले घाँस खेती थालेका थियौं, अहिले यो संख्या ६० पुगेको छ,’ उनले भने, ‘घाँसलाई वन्यजन्तुबाट जोगाउन पनि सजिलो भएकाले यसको खेती फस्टाएको हो ।’ समूहले यो वर्ष जिल्ला पशुसेवा कार्यालयलाई सात लाख, पाँचथरमा दुई लाख र झापामा एक लाख रुपैयाँको घाँसको बीउ बेचेको छ । गाउँका किसानले पनि यसको बीउ लगेर घाँस खेती विस्तार गरिरहेका छन् । 

यो ठाउँमा बाँदरले बाली खाइदिने र नष्ट गर्ने गरेपछि किसानले मकैजस्ता बाली मासेर जई घाँस खेती गरेका छन् । ‘पुसमा रोपेको घाँस चैतमा तयार भइहाल्छ । त्यसपछि त्यही खेतमा धान रोपेर दोहोरो आम्दानी हुन्छ,’ अध्यक्ष भट्टराईले भने, ‘बाँदरले आजित बनाएपछि घाँसको आम्दानीले ठूलो भर दिएको छ किसानलाई ।’ समूहबाट बीउ लिएर किसानले आफ्नो निजी खेतबारीमै घाँस खेती गर्छन् । घाँस वस्तुभाउलाई खुवाउने र यसको बीउ भने समूहलाई दिने गरिएकाले किसान र कृषक समूहलाई नै आम्दानी भइरहेको छ । 

यो वर्ष जई घाँसको बीउ प्रतिकिलो ५० रुपैयाँले किनबेच भएको समूहले जनाएको छ । भट्टराई आफैंले यो वर्ष घाँस बेचेर मात्र ५० हजार रुपैयाँ आम्दानी गरेको सुनाए । ‘घाँस वस्तुभाउलाई खुवाउन भइहाल्छ, यसको बीउबाट पनि थप आम्दानी हुन्छ,’ उनले भने, जंगली जनावरले पनि दुःख नदिने, वस्तुभाउलाई पनि घाँस अभाव नहुने भएकाले राम्रो आम्दानी हुँदोरहेछ ।’ स्थानीय धातृका दाहाल र लोकबहादुर श्रेष्ठले पनि वर्षमा ६ देखि नौ क्विन्टलसम्म घाँसको बीउ बेच्ने गरेका छन्। 
जई घाँस खेती गर्न पनि सजिलो छ । यसलाई एकपटक बारी जोतेर छरिदिए खासै हेरचाहसमेत गर्नु नपर्ने किसान बताउँछन् । ‘मल पनि खासै चाहिँदैन, मेहनत पनि धेरै गर्नुपर्दैन,’ किसान धातृकाले भने, ‘अन्य बालीजस्तो बारम्बार हेरचाह गर्नु नपर्ने भएकाले अरू काम भ्याउन सजिलो हुन्छ ।’ समूहले बेच्ने घाँसको बीउ लिन जिल्ला र जिल्लाबाहिरका किसान र कृषक समूह बारम्बार आउने गरेका छन् । बर्सेनि घाँसको बीउको माग र खेती क्षेत्रफल पनि बढेको  समूहले जनाएको छ ।  

सोमबारको कार्यक्रममा चुलाचुलीको अन्नपूर्ण कृषि सहकारीले दोस्रो हुँदै आठ हजार रुपैयाँ पायो । सुलुबुङस्थित बृहत्तर पशुपालन समूहले तेस्रो भएर नगद ६ हजार रुपैयाँ पाएको छ । यी समूहलाई जिल्ला पशु सेवा कार्यालयले पनि विभिन्न सहयोग उपलब्ध गराएको छ । 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App