८ वैशाख २०८१ शनिबार
अर्थ

बजेटलाई सेयर बजारको ‘रेड सिग्नल’

काठमाडौं – सरकारले सोमबार ल्याएको बजेटमा प्रोत्साहन गर्ने खालका नयाँ कार्यक्रम नल्याएपछि सेयर बजारले नयाँ बजेटलाई ‘रेड सिग्नल’ दिएर स्वागत गरेको छ । नयाँ बजेट सार्वजनिक भएपछि पहिलो दिन मंगलबार खुलेको सेयर बजार मापक नेप्से सूचक २१.१५ विन्दुले ओर्लिएको छ।

मंगलबार नेप्से सूचक १६०० अंकभन्दा तल ओर्लिएको छ । बजेटमा पुँजीबजारलाई सघाउने नयाँ कार्यक्रमको आशा गरेका लगानीकर्ता अपेक्षाअनुसार केही नआउँदा निराश देखिएका हुन्।

नेप्से सूचक १५९४.४३ अंकमा आइपुगेको छ । संविधानमै तोकिएको समय जेठ १५ गते बजेट आए पनि पुँजी बजारलाई उत्थान गर्ने नयाँ कार्यक्रम नआएका कारण बजेटलाई हरियो संकेतले स्वागत गर्न सकेन।

अर्थिक वृद्धि ७.२ प्रतिशत हुने लक्ष्य लिएको ठूलो आकारको बजेट आउँदा पनि लगानीकर्तामा भने खुसी तुल्याउन सकेन । बजेटमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नआएकाले पनि सेयर बजार तल ओर्लिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले मंगलबार नागरिकलाई बताए। 

‘बजेटमा पुँजी बजारलाई पनि समेट्नु पर्छ भन्ने हिसाबले मात्र एक–दुई लाइन लेखिएको छ,’ उनले भने, ‘तर, पुँजी बजारलाई सम्बोधन गर्ने खालका नयाँ कार्यक्रम नआएकाले पनि सेयर बजार ओरालो लागेको हो।’

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनपछि लगानीयोग्य पुँजी (तरलता)को अभाव नहुने अनुमान लगानीकर्ताले गरेका थिए । तर, तरलताको अवस्था सहज हुने छाँट नदेखिएकाले पनि सेयर बजारमा सकारात्मक प्रभाव पर्न नसकेको पौडेलले बताए।

स्थानीय निकायको दोस्रो चरणको निर्वाचन पनि सरेको सरै छ । जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ९ गते भनियो । त्यो पनि पर धकेलियर असार १३ गर्ने भनिएको छ । मधेसवादी दल चुनावप्रति सकारात्मक बन्न नसकेकाले पनि सेयर बजार ओर्लिएको विश्लेषकको भनाइ छ । 

दोस्रो चरणको स्थानीय निर्वाचनमा अन्योल हुँदा बजार तल झरेको अनुमान गरिएको छ । तर, सरकारले मधेसवादी दललाई विश्वासमा लिएर असार १३ गते दोस्रो चरणको निर्वाचन गराउने घोषणा गरिसकेको छ । तर लगानीकर्ताले भने तोकिएको समयमा नै निर्वाचन हुनेमा विश्वस्त नभएका कारण बजारले सकारात्मक रुप लिन नसकेको ब्रोकरको भनाइ छ।

मंगलबार कारोबार रकममा पनि खासै सुधार आएन । उक्त दिन कुल एक सय ४७ कम्पनीको ७६ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । १२ लाख ९७ हजार आठ सय २८ कित्ता सेयर किनबेच भएका हुन्। 

‘अझै सेयर बजारमा धेरै उतारचढाव आउने सम्भावना देखिँदैन,’ पौडेलले भने, ‘केही महिनायतादेखि नेप्से १६०० अंकको वारिपरि मात्र घुमेको छ ।’ आगामी दिनमा हुने राजनीतिक घटनाक्रमले मात्र सेयर बजार उकालो वा ओरालो लाग्ने भन्ने स्पष्ट बाटो निर्धारण हुने उनको भनाइ छ।

नेकपा माआवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा गरिसकेको र नयाँ सरकारको गठन नभएकाले पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन 

सरकार परिवर्तन भइनसकेकाले पनि सेयर बजार उकालो लाग्न नसकेको विश्लेषकको भनाइ छ । ‘सत्ता परिवर्तन, दोस्रो चरणको निर्वाचन हुने वा नहुने भन्ने कुराले पनि सेयर बजारलाई सकारात्मक प्रभाव पार्न नसकेको हो,’ पौडेलले भने, ‘पहिलो निर्वाचनपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान गरिएको थियो तर, त्यो हुने सम्भावना नदेखिएकाले पनि लगानीकर्ताको मनोबल सकारात्मक नभएको हो ।’

लगानीयोग्य पुँजी अभाव कायमै रहेको, बैंकको ब्याजदर घट्ने छाँट नभएको, सेयर बजार ओरालो लागेसँगै मार्जिन कल माग्ने क्रम बढेकाले पनि सेयर बजार अस्थिर बन्न पुगेको छ ।

मंगलबार वित्त समूह र उत्पादनमूलकबाहेक बाँकी सबै समूहको सूचक ओरालो लाग्यो । सबैभन्दा धेरै बिमा सूचक १२०.५ अंकले घटेको छ । यसैगरी, अन्य समूह २६.९ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि १९.३७ अंकले घटेकोे छ । उक्त दिन हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको कारोबार रकम सबैभन्दा बढी पाँच करोड ६८ लाख रुपैयाँ भएको छ।

प्रकाशित: १७ जेष्ठ २०७४ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App