coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आफैँलाई पुष्टि गर्ने अवसर

६४ हजार मतका साथ विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाको मेयरमा चुनिँदा मेयरकै ‘फुच्ची प्रतिस्पर्धी’ रञ्जु दर्शना २३ हजारका साथ तेस्रो स्थानमा रहिन् । विवेकशील नेपाली दलका तर्फबाट महानगरको चुनावमा होमिएकी उनले नेतृत्व सम्हाल्ने मत पाउन सकिनन् तर उनले पाएको जनादेश भने रोचक भयो । रञ्जुको अगाडि स्थापित दल माओवादी केन्द्रका उम्मेदवार अनि नयाँ शैलीको राजनीतिको प्रारम्भको अभियानमा संलग्न प्रस्तावित साझा पार्टीका उम्मेदवार पछाडि नै छुटे ।

प्रमुखको कमान्ड नेकपा एमालेका उम्मेदवारलाई सुम्पेका महानगरवासीले उपमेयरको कमान्ड भने नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गीलाई दिए । साझा पार्टीको तर्फबाट उपमेयरको प्रतिस्पर्धामा उत्रेकी मधेसकी छोरी निरूपमा यादवले तेस्रो मत ल्याउन सफल भइन् । काठमाडौंमा अनपेक्षित मत आएपछि उनले काठमाडौंले मधेसलाई स्वीकार गरेको प्रतिक्रिया दिएकी छिन् । उता भरतपुर महानगरपालिकामा देवी ज्ञवालीलाई रेणु दाहालले पच्छ्याइरहेकी छिन्।

करिव १५ वर्ष स्थानीय निकाय कर्मचारीको भरमा चल्यो । जनमतका आधारमा बल्ल स्थानीय नेतृत्व चयन हुँदा उत्साह थपिएको छ । गणतन्त्रपछि भएको स्थानीय तहको निर्वाचनको सुन्दर पक्ष आधा आकाश मानिने महिलाको उपस्थिति र प्रभाव बलियो देखिनु नै हो । जसको प्रतिनिधि पात्र हुन् रञ्जु, खड्गी र यादव । 

स्थानीय तहमा चुनिएका महिला प्रतिनिधिको कार्यशैलीले नेपाली राजनीतिमा महिलाको प्रभावशाली उपस्थितिको बाटो खोल्नेछ ।

दर्शना र यादवको उम्मेदवारी र उनीहरूले पाएको सम्मानजनक मतले हेपिएँण्, पेलिएँ, स्थान दिइएन भन्दै गुनासो गरेरमात्रै परिर्वतन सम्भव हुन्न, यसका लागि साहस आवश्यक छ भन्ने पुष्टि गरेको छ । समाज परिर्वतनका लागि तारे होटलमा समावेशिताको चर्का कुरा गरेरमात्र हुन्न यसका लागि परीक्षणमा उत्रन आवश्यक छ भन्ने तथ्य ठूलो संख्यामा नेतृत्वमा महिलाको उल्लेख्य उपस्थितिले देखायो ।  

समाज बदलिइसक्यो, अब लिंगका आधारमा हैन, सोच र शैलीका आधारमा नेतृत्व चयन हुन्छ भन्ने तथ्य चन्दननाथ नगरपालिका, पुतलीबजार नगरपालिका, कावासोती नगरपालिका र राप्ती नगरपालिकाको मेयरमा कान्तिका सेजुवाल, सीमा क्षत्री, चन्दा पुन र प्रभा बरालको विजयले पुष्टि गरेको छ । उनीहरूमात्रै हैन, पहिलो चरणमा ७ गाउँपालिकाको प्रमुखसमेत महिला चुनिएका छन् । 

नेतृत्व निर्माणमा राज्यको नीतिको प्रभाव कस्तो हुन्छ भन्ने स्थानीय तहको निर्वाचनले स्थापित गरायो । प्रमुख या उपप्रमुखमध्ये एक महिला अनिवार्य र सदस्यमा दलितको उम्मेदवारी अनिवार्य गर्दा अधिकांश स्थानीय तहमा निर्वाचित हुने महिलाको संख्या उल्लेख्यरूपमा बढायो । 

स्थानीय तह निर्वाचनमा युवा पंक्तिबाट समेत उल्लेख्य संख्या विजयी भएका छन् । उमेर हैन, साहस चाहिन्छ भन्दै काठमाडौंको मेयरको चुनावी प्रतिस्पर्धामा उत्रिएकी रञ्जु नेतृत्वमा नपुगे पनि २१ वर्षीय सिजर्ना लामा रसुवाको नौकुण्डा गाउँपालिकाको उपाध्यक्ष चुनिइन् भने सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी उपाध्यक्ष २४ वर्षीया सिर्जना चुनिइन् ।

लामो समय कर्मचारीको भरमा चल्दा स्थानीय तह कर्मकाण्डमा मात्रै सीमित बन्न पुग्यो । नयाँ योजनाभन्दा तत्काल देखिएका समस्या समाधान गर्नमै कर्मचारी बढी केन्द्रित भए । रचनात्मक र नयाँ योजना कार्यान्वयनमा आउन सकेन । राजधानी काठमाडौंकै अवस्थाले देखाउँछ  कि यो बीचमा के हालत भयो स्थानीय तहको भन्ने ।

स्थानीय तह निर्वाचनपछि केन्द्रीकृत शासन व्यवस्था कानुनतः स्थानीय तहसम्म विकेन्द्रित भएको छ । पहिलो चरणको निर्वाचनपछि यसको व्यावहारिक कार्यान्वयनको अभ्यास सुरु भएको छ । नयाँ नेतृत्व चयनसँगै प्रत्येक वडा, गाउँ र नगरलाई व्यवस्थित गर्ने, निर्वाचन अगाडि गरेका वाचा पूरा गर्ने अवसर आएको छ । 

राजधानीका अस्तव्यस्तता सुधारको प्रारम्भ वातावरण सुधारबाट गर्नुपर्ने प्रमुख प्राथमिकता नै हो । जसलाई विजेता र पराजीत उम्मेदवारहरूले समेत चुनावअगाडि उत्तिकै प्राथमिकता दिएका थिए । दोस्रो सडक सञ्जालको सुधार, व्यवस्थित सहरीकरण छँदैछ, भूकम्पबाट अस्तब्यस्त भएका सम्पदाको पुनर्निर्माणको चुनौती पनि उत्तिकै छ । योसँगै स्थानीय तहमा मौलाएको भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताले मतदान गर्न हौसिएका मतदाताको हौसला कायम गर्न सक्नेछ।

स्थानीय तहमा चुनिएका महिला प्रतिनिधिको कार्यशैलीले नेपाली राजनीतिमा महिलाको प्रभावशाली उपस्थितिको बाटो खोल्नेछ । जिम्मेवारी खोज्नेमात्रै हैन, पाएको जिम्मेवारी सफलतासाथ पूरा गर्ने क्षमता पनि राख्छन् भन्ने पुष्टिका लागि स्थानीय तहमा पुगेका महिला प्रतिनिधिले सजग, सचेत र सक्रिय भएर क्षमता लैंगिक आधारमा हैन, लगनशीलता र प्रतिबद्धताका आधारमा विकास हुने हो भन्ने पुष्टि गर्न आवश्यक छ । 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App