coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जथाभाबी बाटो काटे कारबाही

काठमाडौंको नयाँसडकमा मंगलबार पैदलयात्रीलाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी ।

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रुलाई जभाभाबी  सडकबाट बाटो काट्न निषेध गरेको छ  । पैदलयात्रुका लागि सहज रूपमा वारपार गन जेब्राक्रस, ओभरहेड ब्रिज तथा सबवे लगायतका पूर्वाधार भने तयार देखिन्न । ट्राफिक प्रहरीले जेब्राक्रसको धर्सा नै मेटिएका ठाउँ वरपरबाट बाटो काट्ने पैदल यात्रुमाथि कारबाही सुरु गरेको छ । 

महाशाखाका अनुसार मंगलबार जभाभाबी बाटो काट्ने तीन हजार तीन सय ७४ पैदल यात्रुमाथि कारबाही गरिएको छ ।  जथाभाबी बाटो काटेका दुई हजार एक सय ४६ जना यात्रुसँग जनही दुई सय रुपैयाँ जरिबाना गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

महाशाखाले एक हजार दुई सय २८  जना पैदल यात्रुलाई तीन घन्टा ट्राफिक प्रहरी नियन्त्रणमा राखेर छाडेको जनाएको छ । महाशाखाका प्रहरी निरीक्षक मधुसूदन सिलवालले जभाभाबी बाटो काट्दा पैदल यात्रुको धेरै मृत्यु भएकाले कडाइका साथ कार्यान्वयन गर्ने तयारीमा जुटेको बताए ।  ट्राफिक प्रहरीको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत पैदलयात्री छन् । आ.व. २०७२÷७३ मा एक सय ६६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

जथाभाबी बाटो काटेका दुई हजार एक सय ४६ जना यात्रुसँग जनही दुई सय रुपैयाँ जरिबाना गरेको ट्राफिक प्रहरीले जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा जथाभाबी बाटो काट्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिबाना वा तीन घन्टा प्रहरी नियन्त्रणमा राखेर छाड्ने व्यवस्था छ । 

‘सडक जताततै भत्काएर पैदलयात्री हिँड्ने फुटपाथको निसानै मेटिएपछि सडकबाटै पैदलयात्री हिँड्नुपर्ने बाध्यता छ,’ ट्राफिक इन्जिनियर आशिष गजुरेलले भने, ‘पूर्वाधारबिनै सर्वसाधारणलाई कारबाही गर्नु  व्यावहारिक होइन ।’ उनका अनुसार पूर्वाधार तयार पारेरमात्र नियम कडाइ गर्दा व्यावहारिक र दीर्घकालीन हुनेछ । 

उपभोक्ता अधिकारकर्मी ज्योति बनियाँले  पूर्वाधार बनाएर मात्रै पैदल यात्रुको बानी सुधार्दा उपयुक्त हुने बताए । ‘पूर्वाधारसँगसँगै  कारबाहीलाई कडाइका साथ अघि बढाउनुपर्छ,’ उनले भने, ‘पूर्वाबारबिना कारबाही गर्दा ट्राफिक प्रहरी र पैदल यात्रुबीच टकराव बढ्ने जोखिम हुन्छ ।’ 

आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थी दीपेश थापाले ट्राफिक प्रहरीले जेब्राक्रस नै नभएको सडकमा पैदल यात्रुमाथि कारबाही गरेकोमा आक्रोश पोखे ।  ‘आरआर क्याम्पस अगाडि ज्रेबाक्रस देखिँदैन । तर ट्राफिक प्रहरीले  पैदल यात्रुलाई जभाभाबी बाटो काट्यो भनेर कारबाही गर्याे,’ उनले भने, ‘ट्राफिक प्रहरीले नियम पालना गराउनुभन्दा कमाइखाने भाँडो बनाउन खोजेको देखियो ।’

महाशाखाका निरीक्षक सिलवालले सडकमा पर्याप्त पूर्वाधार नहुँदा नियम कार्यान्वयन असहज आएको स्वीकारे । ‘सडकमा जभाभाबी बाटो नकाट्न एक महिनादेखि प्रचारप्रसार तथा जनचेतनामूलक कार्यक्रम गरेर कार्यान्वयनमा ल्याएका हौं,’ उनले भने ‘मंगलबारदेखि जथाभाबी बीचसडकमा नै बाटो काट्नेलाई कारबाही थालेका छौं । तर केही पैदलयात्रुले पूर्वाधार नभएको भन्दै नियम मान्न आलटाल गरेका छन् ।’ उनका अनुसार अब जेब्राक्रसमा पैदल यात्रुलाई प्रथामिकता नदिने र तीव्र गतिमा हुइँक्याउने सवारीचालकमाथि कारबाही हुनेछ । 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ दफा १३६ मा पैदल यात्रु सडकपेटीबाट नै हिँडनुपर्ने प्रावधान छ । पेटी नभएको सडकमा सडकको किनारा च्यापी हिँड्नुपर्ने उल्लेख गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जभाभाबी बाटो काट्नेलाई दुई सय रुपैयाँ जरिबाना अर्थात् पैसा नहुनेलाई अनिवार्य तीन घन्टा ट्राफिक नियमसम्बन्धी कक्षामा राख्नेछ । 

सडक विभागका प्रवक्ता दयाकान्त झाले  उपत्यकाका अधिकांश सडकमा जेब्राक्रस तथा लेन चिन्ह् मेटिएको स्वीकारे । ‘धुलो र अत्यधिक सवारी चापले सेता धर्सा तत्कालै घोटिएर जाने समस्या भइरहेको छ,’ उनले भने, ‘सडक विभागले बजेट र स्रोतसाधनअनुसार सडक चिह्न बनाउँदै आएको छ,’ उनका अनुसार तत्कालै आवश्यक पर्ने स्थानमा सडक चिह्न बनाउने तर्फ अग्रसर हुने बताए । 

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App