८ वैशाख २०८१ शनिबार
राजनीति

राजपालाई चुनावमा जान भारतीय सुझाव

काठमाडौं – राष्ट्रिय जनता पार्टीका दोस्रो तहका नेता मंगलबार बिहान नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी भइरहेका बेला शीर्ष नेता भने भारतीय दूतवासमा राजदूत मञ्जीभसिंह पुरीसँग चुनावी परामर्शमा व्यस्त थिए । परामर्शमा राजदूत पुरीले राजपाका नेताहरूलाई स्थानीय तहको चुनावमा भाग लिन सल्लाह दिएका छन् । 

भारतीय दूतावास लैनचौरमा ब्रेकफास्ट गर्न पुगेका राजपा शीर्ष नेताहरूलाई राजदूत सिंहले आन्दोलनका कार्यक्रम छाडेर चुनावमा जाँदा राम्रो हुने सुझाव दिएका हुन् । राजपा संविधान संशोधन र स्थानीय तह संख्या थप नगरिएसम्म चुनावमा नजाने अडानमा छ । 

‘ब्रेकफास्टमा के कुरा हुन्छ र ? हाम्रो निर्णय हामी आफैं गर्छौं । दूतावासको सल्लाह किन लिनुपर्याे ?’
महन्थ ठाकुर, राजपा, अध्यक्ष मण्डलका संयोजक 

राजदूतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरूलाई जे गर्दा ठीक लाग्छ, त्यही गर्नुहोस् । आफ्नो विवेक प्रयोग गर्नुहोस् । चुनावमा जाँदा राम्रो सन्देश जान्छ ।’

राजपाका नेताहरूले राजदूतसमक्ष सरकारले चुनाव मिति सारे पनि आफ्ना माग पूरा नगरेको गुनासो गरेका थिए । चुनावचिह्न नभए कसरी चुनावमा जान सकिन्छ भन्दै उनीहरूले असन्तुष्टि जनाएका थिए । ‘सरकारले मिति मात्र सारेको छ । माग पूरा गर्न अरू केही काम गरेको छैन । चुनावमा जाने वातावरण बनेको छैन,’ राजपाका शीर्ष नेताले राजदूतसँग भनेका थिए । चुनावअघि स्थानीय तह संख्या वृद्धि र संविधान संशोधन भएमा चुनावमा जाने जानकारी उनीहरूले बताएका थिए । 

राजदूत सिंहले राजपाले गर्ने निर्णयमा आफूले साथ दिने पनि बताएका थिए । ‘हामी तपाईंको साथमा छौं । जे गर्दा उपयुक्त हुन्छ, त्यही गर्नुहोस्, अगाडि बढ्नुहोस्,’ उनले भनेका थिए । स्रोतका अनुसार राजपाको आन्दोलन कार्यक्रमबारे पनि राजदूतसँग कुराकानी भयो । अब बन्ने सरकारबारे पनि भारतीय राजदूत र राजपा शीर्ष नेताबीच कुराकानी भएको थियो । 

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भारतीय राजदूतसँग ब्रेक फास्ट गरेको स्वीकार गरे ।  उनले भने, ‘त्यो ब्रेक फास्ट मात्र थियो । ब्रेक फास्टमा के कुरा हुन्छ र ?’ नागरिकसँग उनले भने, ‘हाम्रो निर्णय हामी आफंै गर्छौं । दूतावासको सल्लाह किन लिनुपर्याे?’ भारतीय राजदूतसँग भएको भेटमा हल्काफुल्का मात्र कुरा भएको उनले बताए । ‘हल्काफुल्का कुरा मात्र भएको हो । अरू केही पनि भएन,’ उनले भने । 

 बे्रकफास्ट मिटिङका लागि राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र यादव, अनिल झा लैनचौर पुगेका थिए । स्रोतका अनुसार राजपाका शीर्ष नेताहरूलाई ब्रेक फास्ट मिटिङमा सहभागी हुन सोमबार साँझ दूतावासबाट खबर भएको थियो । 

प्रकाशित: १७ जेष्ठ २०७४ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App