coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गणनालाई निरन्तरता दिन एमाले माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले सरकारकै संलग्नतामा भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने काम भएको दाबी गर्दै गणनालाई निरन्तरता दिन निर्वाचन आयोगसँग माग गरेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, नेता प्रदीप ज्ञवाली र कृष्णगोपाल श्रेष्ठसहितको टोलीले मंगलबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयुक्तलाई भेटेर मतगणनालाई निरन्तरता दिन माग गरेको हो । एमाले नेताहरू मतगणनलाई निरन्तरता दिन माग गर्न आयोग कार्यालय पुगेका थिए ।

एमालेले मतपत्र च्यात्ने, त्यसको योजना बनाउने र निर्देशन दिने काम सत्तापक्षबाटै भएकाले कर्मचारीबाट दिइएको प्रतिवेदन मान्य नहुने बताएको छ । एमालेले प्रमुख आयुक्त र आयुक्तहरूलाई भरतपुर गएर घटनाको छानबिन गर्नसमेत माग गरेको छ । ‘मतपत्र च्यात्ने, योजना बनाउने र निर्देशन दिने काम सत्तापक्षबाटै भएकाले सरकारी कर्मचारी पठाउँदा कर्मचारीमाथि स्वतः दबाब पर्ने भएकाले प्रमुख आयुक्त वा आयुक्त नै भरतपुर गएर छानबिन गर्नुपर्छ,’ भेटमा एमाले अध्यक्ष ओलीले भने, ‘जति मतपत्र च्यातिएका छन्, त्यसलाई सिल गरेर बाँकी मत परिणाम सार्वजनिक गर्नुपर्छ । फेरि निर्वाचनमा जाँदा हार्ने भएपछि एउटा पक्षले मतपत्र च्यात्ने परिपाटी स्थापित हुन्छ ।’ 

ओलीले यसअघि सोमबार पनि प्रमुख निर्वाचन आयुक्तलाई टेलिफोन गरी आफैं गएर भरतपुर घटनाको अनुसन्धान गर्न आग्रह गरेका थिए । 
एमालेले माओवादी केन्द्रका तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहाल हार्ने निश्चित भएपछि सत्तापक्षकै योजनामा मतपत्र च्यातिएको दाबी गरेको छ । 

भेटमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सिंगो सत्तापक्ष मिलेर एमालेविरुद्ध प्रतिस्पर्धामा आएको र हार्ने भएपछि मतपत्र च्यातेको आरोप लगाए । उनले प्रधानमन्त्री कार्यालयमै बसेर सत्तापक्षका नेताले मतपत्र च्यात्ने योजना बनाएको दाबी गर्दै वास्तविकता बुझ्न आयोग पदाधिकारीलाई आग्रह गरे । भेटमा नेम्बाङले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० को व्याख्यासमेत गरेका थिए ।  ‘म पनि कानुनको विद्यार्थी हुँ, ऐनमा मतपत्र नियन्त्रण वा कब्जामा लिइएको अवस्थामा पुनः मतदान भनिएको छ तर कब्जा वा नियन्त्रणमा लिइएको अवस्था होइन,’ उनले भने, ‘सत्तापक्षका दुई  आपराधिक व्यक्तिले मतपत्र च्यातेका हुन् र तिनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । त्यसकारण मतगणनालाई निरन्तरता दिनुपर्छ ।’

भेटमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले भने, ‘हामीलाई चिन्ता जित÷हारको होइन, यो लोकतान्त्रिक पद्धति, निर्वाचन प्रणालीमाथिको प्रहार हो । योजनाबद्ध ढंगले अपराधीलाई प्रोत्साहन गर्ने निर्णय भएमा निर्वाचन हुन नसक्ने र लोकतन्त्र भत्कन सक्नेतर्फ आयोगको ध्यानाकर्षण गराएका छौं ।’ उनका अनुसार मतगणनास्थल कब्जा गरेको नभई गणनामा खटिएका माओवादी प्रतिनिधिले मतपत्र च्यातेका हुन् । मतपत्र सुरक्षित रहेकाले कब्जा वा नियन्त्रणमा लिएको भन्न नमिल्ने भएकाले गणनालाई निरन्तरता दिन आयोगको ध्यानाकर्षण गराइएको छ । ज्ञवालीले भने, ‘गणनाबाट हामीले हारे पनि परिणाम स्वीकार्छाैं । केही ठाउँमा बराबर मत भएर पनि हारेका छौं, केही ठाउँमा एकमतले पनि हारेका छौं ।’

प्रमुख निर्वाचन आयुक्त यादवले घटनाप्रति आयोग गम्भीर भएको बताएका थिए । ‘घटनाले असाध्यै चिन्तित बनाएको छ, अनुगमन टोली, सुरक्षा निकाय र मानवअधिकारको टोलीको प्रतिवेदन बुझेर लोकतान्त्रिक विधिलाई असर नपर्ने गरी निर्णय लिन्छौं,’ यादवले भने, ‘हार्ने भएपछि मतपत्र च्यात्ने परिपाटीको विकास हुन नदिन आयोग सचेत छ ।’

निर्वाचन आयुक्त इला शर्माले घटना छानबिन गर्न सोमबारै तीन सदस्यीय टोली भरतपुरतर्फ पठाएको बताइन् । उनले बुधबार टोलीले प्रतिवेदन दिने र आयोगले निर्णय लिने जनाइन् । ‘लोकतन्त्र, स्वच्छ निर्वाचन पद्धति र जनताको भावनालाई तलमाथि नहुने गरी निर्णय गर्छौं,’ शर्माले नागरिकसँग भनिन्, ‘छानबिन टोलीसँग घटना विषयमा मंगलबार मौखिक कुराकानी भएको छ । हामीले अब रिपोर्ट पर्खिरहेका छौं ।’

मतपत्र च्यातिएपछि छानबिन गर्न आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ। 

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । १९ नम्बर वडाको मतगणनाक्रममा आइतबार राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको छ । माओवादीले पुनः मतदानको माग गरेको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेस गठबन्धनबाट प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल  र एमालेबाट देवी ज्ञवाली प्रतिस्पर्धामा छन् । 


 

प्रकाशित: १७ जेष्ठ २०७४ ०१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App