७ वैशाख २०८१ शुक्रबार
प्रवास

लण्डनमा युवाहरुले सुनाए आफ्ना प्रेरणादायी कथा

लण्डन- बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले युवाहरुकालागि नेपाली दूतावासको ढोका सँधै खुला रहने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा सोमबार लण्डनस्थित नेपाली दूतावासमा अलिक फरक ढँगमा मनाइएको कार्यक्रममा बोल्दै राजदुत सुवेदीले बेलायतस्थित नेपाली समुदायको संख्या बढ्दै जाँदा यहाँ रहेका युवाहरुलाई अभिप्रेरित गर्ने र नेपालसंग जोडने प्रयासहरुको झन् बढी खाँचो भएको बताए। वर्तमानलाई समातेर मात्रै भविष्यतर्फ अघि बढ्न सकिने कुरामा उनले जोड दिए।

सो अवसरमा विभिन्न क्षेत्रमा आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरिरहेका युवाहरु र विभिन्न पेशा तथा व्यवसायमा सुपरिचित व्यक्तित्वहरुलाई आफ्नो अनुभव बाँडचुँड गर्न निम्च्याइएको थियो। कार्यक्रममा बोल्दै ब्लाइण्ड रक्सकी संस्थापक सृष्टि केसीले अपांगहरुले अवसर पाए अन्य व्यक्ति सरह नै आफ्नो क्षमता प्रदर्शन गर्न सक्ने बताइन्। उनले ग्लकोमा रोगका कारण १६ वर्षको उमेरमा आफ्नो दृष्टि गुमेता पनि आफू दृष्टिविहीनहरुकालागि एक राजदूत भएर देखाउने आफ्नो सपना रहेको बताइन्।

सात वर्ष अघि अफगानिस्तानमा बम विष्फोटमा परी आफ्ना दुबै गोडा गुमाएका रोल्पाका हरि बुढामगरले सो दुर्घटना पछि आफु अत्यन्तै निराश भएको र जीवन त्यही टुँगिएको जस्तो ठानेको बताए। तर पछि  हिम्मत नहार्ने अठोट गर्दै आउँदो वर्ष सर्वोच्च शिखर सगरमाथा चढने अठोट लिएर यो वर्ष प्रशिक्षण गरिरहेको उनले बताए। मिस युके नेपाल २०१६ टेनिसा रानाले सफल हुनकालागि आफैमा विश्वास गर्नुपर्ने बताइन्। उनले महिलाहरु सफल भएमा संसार नै अरु सुरक्षित हुने धारणा पनि व्यक्त गरिन्।  नेप्लीज नर्सिङ एसोसियन युकेकी अध्यक्ष प्रसुना कँडेलले दुई वर्ष अघिको भूकम्प पछि एउटा टोली लिएर नेपाल गएको बताउँदै २२ दिन सम्म ननुहाएर गाउँ गाउँमा गएर स्वास्थ्य सेवा पुराएको उनले स्मरण गरिन्। त्यहाँ पुगेपछि मात्रै आफु कति भाग्यमानी रहेछु भन्ने अनुभूत भएको पनि उनले बताइन्।    

बीबीसी नेपाली सेवासंग आबद्ध पत्रकार भगीरथ योगीले सूचना प्रविधिको द्रुत विकासले पाठक, स्रोताहरुको व्यवहार पनि बदलिदिएको र त्यसै अनुसार स्रोता, पाठकहरुको रुची अनुकूलको सामग्री पस्कन सन्चारमाध्यमहरुलाई हम्मेहम्मे परिरहेको बताए। उनले युवाहरुकालागि संसार नै खुला रहेको तर जहाँ पुगे पनि आफु को हुँ र मेरो मूल थलो के हो भन्नेकुरा नबिर्सन सुझाव दिए। सो अवसरमा इन्जीनियर राजकुमार त्रिपाठी, डा. कपिल रिजाल, ट्राभल व्यवसायी बिराज भट्ट, व्यवसायी ओजेश सिंह, युवा उत्प्रेरणाकालागि काम गर्दै आएका प्रणय शाक्य, नायक ध्रुव दत्त लगायतका वक्ताहरुले प्रेरणादायी अनुभव सुनाएका थिए।

कार्यक्रममा राजदूत डा. सुवेदीले नेपाली दूतावासको नयाँ रुप दिइएको वेबसाइट http://www.nepembassy.org.uk/ को उद्घाटन पनि गरेका थिए। सो वेबसाइटमा गएर बेलायतस्थित नेपाली, गैरआवासीय नेपाली तथा संघसंस्थाहरुले आआफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ। त्यस्तो विवरण गोप्य र सुरक्षित रहने दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए। समाजसेवी डा. राघवराज धितालका साथै गैरआवासीय नेपाली संघ युके एवम् नेपाल पत्रकार महासंघ युके शाखाका विवरणहरु भरेर संस्थागत तथा व्यक्तिगत विवरण दर्ता कार्यक्रमको शुभारम्भ गरिएको थियो।

सोही अवसरमा राजदूत सुवेदीले रबर्ट फर्गुसनले पर्यटकहरुलाई जानकारी दिने उद्देश्यले लेखेको नेपाल नामक पुस्तकको विमोचन पनि गरेका थिए।  

 

प्रकाशित: १६ जेष्ठ २०७४ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App