६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

टर्कमा ८ हजार प्रहरी निलम्बन

टर्की– टर्की सरकारले कू प्रयासमा संलग्न भएको आरोपमा ८ हजार प्रहरी निलम्बन गरेको जनाएको छ । आइतबार मात्र सरकारले सेना र न्याय व्यवस्थासँग जोडिएका ६ हजारलाई हिरासतमा लिएको थियो । सरकारले सेनाका जनरल सम्मलाई पनि नियन्त्रणमा लिएको थियो ।
राष्ट्रपति रेचप तैयव एड्रोगानले आइतबार सर्वसाधारणलाई सम्बोधन गर्दै कु प्रयास गर्ने भाइरसलाई खत्तम पार्ने घोषणा गरेका थिए ।

टर्की सरकारले कु प्रयासका पछि अमेरिकामा बसोबास गर्दै आएका टर्कीस धर्मगुरु फहतुल्ला गुलेनको हात रहेको आरोप लगाउँदै आएको छ । तर गुलेनले आफ्नो संलग्नतालाई अस्विकार गर्दै आएका छन् ।  सरकारी अखबारले सोमबारमात्र देशभरबाट सय भन्दा बढी सैनिक जनरल र उच्च अधिकारीलाई हातमा लिएको जनाएको छ ।

सोमबार नै टर्कीबाट हेलिकप्टर प्रयोग गरेर ग्रीस भागेका ८ सैन्य अधिकारीलाई पक्राउ गरी अदालतमा पेश गरिएको जनाएको छ । गएको शुक्रबार राति भएको यो प्रयास असफल भएपछि त्यसमा सम्लग्न हुने सैनिक जर्नेलहरू कारबाहीबाट बच्नका लागि टर्कीको सेनाको हेलिकोप्टर प्रयोग गरेर ग्रीसतर्फ भागेका थिए ।

तर उनीहरूले अवैध रूपमा टर्की प्रवेश गरेको, अवैधानिक रूपबाट सेनाको हेलिकोप्टर प्रयोग गरेको आरोपमा ग्रीसमा नै उनीहरूविरुद्ध यस्तो कारबाही गरिने भएको हो ।     ती सैनिकलाई ग्रीसका मुद्दा हर्ने अधिकारीसमक्ष उपस्थित गराइएको छ । त्यसमा उनीहरूले आफ्नो अभियोग पुष्टि गर्न नसकेको बताइएको छ ।  सैनिक विद्रोह असफल हुने निश्चित भएपछि टर्कीका आठजना उच्च पदस्थ सैनिक अधिकारी टर्की भागेका थिए ।

 एड्रोगानले टर्कीमा मृत्युदन्डको व्यवस्था नभएपनि  वर्तमान परिस्थितिलाई मध्येनजर गर्दै मृत्युदन्डको व्यवस्था पुनर्वहाली गर्ने विचार राखेका छन् । सन् २००४ मा  युरोपियन संघमा सामिल हुने शर्तका लागि टर्कीमा मृत्युदन्डको प्रावधान खारिज गरिएको थियो । तर टर्कीले संघको सदस्यता भने पाइसकेको छैन ।

युरोपियन संघका विदेशनीति प्रमुख फेडेरिका मोगरिनीले भने व्यापक धरपकडमाथि टिप्पणी गर्दै टर्कीमा कानुनी शासनलाई महत्व दिन आग्रह गरेका छन् । उनले ब्रसेल्समा चलिरहेको युरोपियन संघका सदस्य देशका विदेशमन्त्रीहरुको बैठकमा यस्तो धारणा राखेका हुन् । बैठकमा टर्कीको मुद्दाले प्राथमिकता पाउने विश्वास गरिएको छ । यता जर्मनीमा टर्कीलाई युरोपियन युनियन (ईयू) मा समावेश गर्न गरिएको पहल टर्कीले मृत्युदण्डसम्बन्धी सजायको प्रावधानलाई पुनः अभ्यासमा ल्याएमा अन्त्य हुने जर्मन सरकारका प्रवक्ता स्टेफेन सेवर्टले सोमबार बर्लिनमा बताएका छन् ।

जर्मनी र ईयूको प्रष्ट अडान आधारभूत रुपमा नै मृत्युदण्डलाई अस्वीकार गर्ने रहेको बताउँदै उनले कुनै पनि मृत्युदण्ड दिने कानुनलाई स्वीकार गर्ने राष्ट्र ईयू सदस्य राष्ट्रको समूहमा प्रवेश नपाउने बताए ।

उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टर्कीबाट सन् २००२ मा ईयूको सदस्यता लिने प्रयासमा अन्त्य गरिएको मृत्युदण्डको प्रावधानमाथि विचार गरिनसक्ने भनी आएको अभिव्यक्तिले ईयूको ध्यानाकर्षण गरेको उनको कथन थियो । शुक्रबारको असफल सैनिक विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानले सन् २००२ मा हटाइएको मृत्युदण्डको सजायलाई पुनः स्थापित गरिने संभावना व्यक्त गरेका थिए ।     टर्कीले असफल कू मा संलग्न भएकालाई कडा सजाय दिइने बताइसकेको छ । टर्की सरकारले सैनिक विद्रोह प्रयासमा सघाएको आरोपमा उच्च पदस्थ सैनिक अधिकारी, न्यायाधीश लगायतका करिब १४ मानिसलाई पक्राउ गरी हिरासतमा राखेको बताइएको छ ।

‘ब्ल्याङ्क चेक’ होइन– फ्रान्स

फ्रान्सले टर्कीमा गत शुक्रबार राति भएको सैनिक विद्रोह असफल भएको विषय टर्कीका राष्ट्रपति रिसेप तेयिप एर्डाेगनका लागि ब्ल्याङ्क चेक नभएको बताएको छ ।असफलताको विषयलाई लिएर राष्ट्रपति एर्डाेगनले आफू विरुद्धका व्यक्तिलाई कारबाही गर्ने, विपक्षी दलका नेता तथा कार्यकतालाई पक्राउ गरी कारबाही गर्नेजस्ता काम गर्न थालेको भन्दै फ्रान्सले सो प्रतिक्रिया दिएको हो ।

फ्रान्सेली विदेशमन्त्री जिन मार्क आरल्टले भने,  ‘हामी  टर्कीमा सैनिक विद्रोह असफल भएपछि पनि कानुनी शासन र नागरिक अधिकारका पक्षमा राम्ररी काम भएको देख्न चाहन्छौँ ।’  टर्कीमा शनिबारदेखि एर्डाेगन सरकारको सेना र प्रहरीले सैनिक विद्रोहको निहुँमा करिब छ हजार सैनिक र ८ हजार प्रहरीलाई  नियन्त्रणमा लिएको छ ।

सो व्यापक पक्राउ र कारबाहीको अभियानपछि विदेशमन्त्री मार्कको यो प्रतिक्रिया आएको हो । यसलाई निहुँ बनाएर टर्कीस् राष्ट्रपतिले आफ्ना विरोधीलाई तह लगाउने काम कदापि नगरुन् भनी फ्रान्सले टर्कीलाई चेतावानी दिएको छ ।

 

प्रकाशित: ४ श्रावण २०७३ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App