८ वैशाख २०८१ शनिबार
खेल

लडर्समाखेल्दै नेपाल

काठमाडौं- क्रिकेटका केही त्यस्ता ठाउँ छन्, जहाँ हरेक क्रिकेटरले खेल्ने सपना बुनेका हुन्छन्। तीमध्येको एक स्थान हो, बेलायतको लडर्स क्रिकेट मैदान। ‘क्रिकेटको घर’ भनेर चिनिने या भनौं विश्व खेलकुदकै सबैभन्दा पुरानो संग्रहालयको रुपमा लिइने लर्ड्स क्रिकेट मैदानमा नेपालले मंगलबार पहिलोपटक खेल्दैछ।

नेपाल–बेलायत दौत्यसम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको वर्षगाँठमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग एकदिवसिय खेल खेल्न लागेको हो। लडर्स क्रिकेट मैदान एमसिसीको घरेलु मैदान हो।नेपालले स्थानीय समयअनुसार १०:३० बजे एमसिसीसँग खेल्नेछ।

‘लर्ड्समा खेल्न सबैजना उत्साहित हुन्छन्। यो ऐतिहासिक क्षण हो, त्यसैले हामी सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं,’ नेपालका कप्तान पारस खड्काले भने, ‘यसले नेपाली क्रिकेटलाई प्रोत्साहन गर्न पनि मद्धत गर्नेछ।’

नेपाली क्रिकेट टोलीले इङ्ल्यान्ड भ्रमणलाई साउन २९ र ३१ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ।

‘यसलाई हामीले नेदरल्यान्ड्सविरुद्ध हुने खेलको तयारीका रूपमा पनि लिएकाले भ्रमणको भरपूर सदुपयोग गर्नेछौं,’ इङ्ल्यान्ड जानुअघि नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले भनेका थिए, ‘नेदरल्यान्ड्स र त्यहाँको वातावरण मिल्दोजुल्दो छ। त्यसैले त्यहाँको वातावरणमा घुलमिल हुन यो भ्रमण फलदायी हुनेछ। हाम्रो कमजोरी सुधार्न पनि यो राम्रो अवसर हो।’

असार २७मा इङ्ल्यान्ड पुगेको नेपालले ४ अभ्यास खेल खेलिसकेको छ। त्यसमा नेपालले सबै खेलमा विजय नतिजा निकालेको छ। पहिलो खेलमाफ्री फोरेस्टरसँग एकदिवसीय खेल्दा नेपालले १ सय २९ रनको जित निकालेको थियो।

दोस्रो खेल इन्डियन जिमखानाविरुद्ध ट्वान्टी–२० खेल्यो। त्यसमा नेपाल २० रनले विजयी भयो। तेस्रो खेलमा स्थानीय क्रिकेट कन्फ्रेन्स क्लबसँग एकदिवसीय खेल्दा त्यसमा नेपाल४ विकेटको विजयी भएको थियो। अन्तिम अभ्यास खेलमा नेपालले १ सय ८१रनको जित निकालेको छ। एकदिवसिय खेलमा नेपालले इस्टबर्न क्रिकेट क्लबलाई पराजित गरेको हो।

प्रकाशित: ४ श्रावण २०७३ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App