८ वैशाख २०८१ शनिबार
कला

चार महिनामा 'बक्स अफिस'

काठमाडौं- नेपाली फिल्म क्षेत्रमा सधैं चर्चामा रहने विषय हो, बक्स अफिस। केही वर्ष अघिदेखि बक्स अफिस लागू गर्नका लागि माग बढे पनि कार्यान्वयन हुन सकेको छैन। सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेका छन्। तर, सिंगल थिएटरमा यो प्रयोगमा छैन।

आगामी चार महिनाभित्रमा नेपालमा बक्स अफिस सुरु हुनेछ।  बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ।

यही विषयमा राजधानीमा अन्तरसंवाद हुँदा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आगामी चार महिनाभित्रमा नेपालमा बक्स अफिस सुरु हुने बताए। 'बक्स अफिसको सफ्टवेयर बनाउने काम सुरु भइसकेको छ। सफ्टवेयर बनाउने कम्पनीका लागि आवश्यक रकम दिन मन्त्रालयबाट बजेट निकासा भएपछि कामले गति लिनेछ,' राईले भने, 'हामी पहिलो चरणमा काठमाडौं, त्यसपछि मुख्य सहर र तेस्रो चरणमा अन्य स्थानमा सर्भर जडान गर्नेछौं।' उनले काठमाडौंमा बक्स अफिस बिग्रिएमा चाँडै नै मर्मत गर्न सकिने भएकाले काठमाडौं पहिलो रोजाइमा परेको बताए।

उनले फिल्मकर्मीका लागि बक्स अफिस 'हाउगुजी' भए पनि यो समयको माग भएको दाबी गरे। 'हामी देशभर एउटै सर्भरबाट बक्स अफिस जोड्न चाहन्छौं, जसले गर्दा फिल्मको हिसाबकिताबमा पनि एकरुपता आउनेछ,' उनले दाबी गरे, 'तर अहिले हामीकहाँ गलत कुराको खेतीपाती गर्ने चलन छ। पाँच लाखको सेयरलाई ५० लाख भनेर प्रचार गर्छौ। यो कुराबाट लोभिएर अन्य मानिसहरू फिल्ममा फस्ने गर्दछन्।' हलहरू समयसापेक्ष नभएकाले पनि बक्स अफिस लागू गर्न ढिलाइ भइरहेको उनले बताए।

चलचित्र पत्रकार संघ, नेपालको स्पिकर कर्नरले आयोजना गरेको 'नेपालमा बक्स अफिस' विषयको अन्तरसंवादमा राजकुमारले यसो भनिरहँदा निर्माता र निर्देशक दीपेन्द्र के खनालले भने बक्स अफिसलाई निर्माताले ठूलो कुरा सोचे पनि त्यसले केही प्रभाव नपार्ने दाबी गरे। 'बक्स अफिस लागू भयो भने पैसा धेरै आउँछ भन्ने सोच धेरैको छ। यो गलत हो किनकी बक्स अफिस लागू हुँदा हिसाब पारदर्शीचाहिँ हुन्छ। पैसा नै धेरै आउँदैन,' उनले भने, 'बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ। त्यो खुसीको कुरा हो। तर, यसले सबै कुराको समाधान गर्छ भन्नेचाहिँ छैन।'

नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले अहिलेको अवस्थामा बक्स अफिस आवश्यक नरहेको जनाए। 'मैले हालसम्म निर्माण गरेका फिल्ममध्ये केही हिट भए भने केही फ्लप। बक्स अफिस राखे पनि दर्शक हलमा बढ्ने होइन,' वाग्लेले भने, 'म अहिलेसम्मको हिसाबबाट सन्तुष्ट छु। बक्स अफिसको नाममा राजनीति भइरहेको छ। हाम्रो ध्यान बक्स अफिसमा भन्दा पनि राम्रो फिल्म कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्छ।'

आयोजक संस्थाका महासचिव अनिल यादवले सहजीकरण गरेको कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले फिल्म हलमा आधुनिकीकरण नगरी बक्स अफिस ल्याउन नसकिने बताए। 'बक्स अफिसमा पारदर्शिताको कुरा आउँछ। धेरै निर्माताले हल सञ्चालकलाई अपारदर्शी भनेर आरोप लगाउँछन्। तर, हामी सबैभन्दा बढी पारदर्शी छौं,' उदयले भने, 'हामी पन्ध्र–पन्ध्र दिनमा कर कार्यालयमा गएर कर तिर्छौं। केही हल सञ्चालकले बदमासी गर्लान्। तर, सबैले बद्मासी गर्छन् भनेर आरोप लगाउन पाइँदैन।' उनले आफूहरू बक्स अफिसप्रति सकारात्मक भएको स्पस्ट पारे।  संघका अध्यक्ष सन्दिप सापकोटाले संघले प्रत्येक महिनाको १५ गते नियमित रूपमा बहस र अन्तरसंवाद गर्ने जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App