coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टोट्टीको बिदाइ सम्झनलायक

मिलान- डिएगो पेरिटोले अन्तिम मिनेटमा गोल गरेपछि आइतबार दर्शकले भरिभराउ साडियो ओलम्पिकोमा जिनोवामाथि ३–२ को सनसनीपूर्ण जितका साथ रोमाले क्लबका महान् हस्ती फ्रान्सिस्को टोट्टीको बिदाइ सम्झनलायक बनाएको छ।

आफ्नो अन्तिम खेलमा टोट्टी इजिप्टका मोहम्मद सलाहको स्थानमा ५४औं मिनेटमा मैदान प्रवेश गरेका थिए। टोट्टीले २५ वर्ष रोमाबाट व्यावसायिक खेल खेलेका थिए। सो क्रममा उनको टोलीले एक पटक मात्र इटालियन सिरी ‘ए’ को उपाधि जितेको थियो।

रोमाले महत्वपूर्ण जितका साथ अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरे पनि आफ्ना महान् खेलाडी मैदानबाट बाहिर निस्कँदा भने सबै समर्थकका आँखा रसाएका थिए। तीमध्येका एक समर्थकले सुरक्षा घेरा तोड्दै इटालीका लागि २० वर्षयताकै उत्कृष्ट खेलाडी मानिएका टोट्टीलाई अंकमाल गरेका थिए।

‘त्यो समय आएको छ। म पूरा दिन रोएँ। यो नै मेरो एक जर्सी हो,’ टोट्टीले भने, ‘मैले मेरो परिवार र श्रीमतीसँगको सल्लाहमा यो निर्णय लिएको हुँ। मलाई अझ अर्को २५ वर्ष बस्न मन थियो। धन्यवाद रोमा, मेरो परिवार, मेरो आमा बुबा र दाजुभाइ। मलाई कविता र गीत लेख्न मन थियो तर मैले आफूलाई प्रस्तुत गर्न मेरो खुट्टाको प्रयोग गरंे।’

सन् २००१ मा रोमाको १८ वर्षे उपाधिको खडेरी तोड्दै क्लबलाई सिरी ‘ए’ को उपाधि जिताउन टोट्टीले महत्वपूर्ण भूमिका खेलेका थिए। साथै उनले खेलजीवनलाई निरन्तरता नदिने निर्णयसमेत गरेका छन्। अब उनले रोमाका खेलकुद निर्देशक मोन्चीसँगै काम गर्नेछन्।

जिनोवा टोट्टीको सुखद बिदाइलाई रोक्ने उद्देश्यका साथ रोमाको भ्रमण निस्किएको थियो। खेलको तेस्रो मिनेटमा पेट्रो पिलेग्रीको गोलमा जिनोवाले अग्रता लिएपछि साडियो ओलम्पिका रंगशाला स्तब्ध भएको थियो। उनले डार्को लाजोभिचको पासलाई पोस्टको दिशा दिएका थिए।

तर १०औं मिनेटमा इडेन जेकोको गोलमा रोमा खेलमा फर्किएको थियो। ड्यानियल डि रोसीको पासमा आफैंले गरेको प्रहार पोस्टमा लागेर फर्कंदा रिबाउन्डमा प्राप्त बललाई जेकोले जाली चुमाएका थिए। यस गोलसँगै उनी २९ गोलका साथ यस सिजनको सर्वाधिक गोलकर्ता रहे। नेपोलीका द्रिइस मार्टिन्स उनीभन्दा एक गोलले पछि रहे।

७४औं मिनेटमा जेकोको पासमा रोसीले गरेको गोलमा रोमाले अग्रता लिएको थियो। तर त्यसको पाँच मिनेटपछि नै लाजोभिचले डिएगो लासाल्टको पासमा गोल गरेपछि  जिनोवा खेलमा फर्किएको थियो। ३६ अंक जोडेको जिनोवा १६औं स्थानमा रह्यो।

अन्तिम मिनेटमा जेकोको पासमा पेरिटोले गोल गर्दै रोमाको लागि महत्वपूर्ण जित पक्का गरेका थिए।

यस सिजनको २८औं जितपछि ३८ खेलमा ८७ अंक जोडेको रोमा दोस्रो स्थानमा रहँदै स्वतः अर्को वर्षको च्याम्पियन्स लिगका लागि छनोट भएको हो।

यसअघि तेस्रो स्थानको नेपोलीले साम्पडोरियामाथि ४–२ को जितपछि दोस्रो स्थानमा उक्लिँदा रोमा तेस्रो स्थानमा झर्दै स्वतः च्याम्पियन्स लिगमा छनोट हुन असफल हुने खतरा बढेको थियो। ३८ खेलमा ८६ अंक जोडेको नेपोली तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्न बाध्य भयो।

३६औं मिनेटमा द्रिइस मार्टिन्सको गोलमा नेपोलीले अग्रता लिएको थियो। ४२औं मिनेटमा लोरेन्टो इन्जाघीले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारेका थिए। ४९औं मिनेटमा मरहेक ह्यासेकले गोल गर्दै नेपोलीको अग्रता बढाएका थिए।

त्यसको एक मिनेटपछि फाबियो क्वाग्लियरेल्लाको गोलमा साम्पाडोरियाले गोलअन्तर कम गरेको थियो।

६५आंै मिनेटमा जोस मारिया काल्लेजोनले गोल गर्दै नेपालीलाई ४–१ को अग्रता दिलाएका थिए।

अन्तिम मिनेटमा रिकार्डो आल्भेजले गोल गर्दै साम्पडोरियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन। ४८ अंक जोडेको साम्पडोरियाले १०औं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ।

यता लाजियोमाथि ३–१ को जित हात पार्दै क्रोटोनीले भने रेलिगेसनको खतरा टारेको छ।

क्रोटोनीको जितमा आन्द्रिया नालिनले २ तथा डिएगो फाल्सिनेलले एक गोल गरे। लाजियोका लागि सिरो इमोबाइलले सान्त्वना एक गोल फर्काएका थिए।

अप्रिलको सुरुआतमा रेलिगेसनमा पर्ने खतरामा रहेको क्रोटोनीले पछिल्लो ९ खेलमा २० अंक जोड्दै सिरी ‘ए’ हैसियत जोगाएको हो। पालेर्मोसँग २–१ ले पराजित भएपछि इम्पोली भने रेलिगेसनमा परेको छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App