८ वैशाख २०८१ शनिबार
राजनीति

जसले आफैंलाई मत दिएनन्

भाषा शर्मा/खिलक बुढाथोकी

काठमाडौं- स्थानीय तह निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ। कतिपयले आफ्नो एक मत मात्र पाएका छन्।

वैशाख ३१ मा भएको स्थानीय निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उम्मेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन्। किनकि उनीहरुले एक मत पनि पाउन सकेका छैनन्। प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत  पाएका छन्।

पहिलो चरणको स्थानीय निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुख पदमा उम्मेदवारी दिएका १६ जनाले एक मत पनि ल्याउन सकेनन्। त्यस्तै १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका विभिन्न नगरपालिकाका उम्मेदवारको मत परिणामले यस्तो देखाएको हो।

एक मत प्राप्त गरेका उम्मेदवारलाई आफ्नै परिवारका सदस्यले पनि भोट नदिएको स्पष्ट देखिन्छ। एक मत पनि नपाएका उम्मेदवारले आफैंलाई मत नदिएको भन्न सकिन्छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर पदका लागि सुटकेस चिह्न लिएर चुनाव लडेका भगवान गिरीले एक भोट मात्र पाएका छन्। महानगरबाटै टोपी चुनाव चिह्न लिएर मेयरको उम्मेदवार बनेका विनोदकुमार क्षेत्रीले पनि एक मात्र मत ल्याएका छन्। दुवैजनाले आफ्नो मात्र भोट पाएको देखिन्छ।

त्यसैगरी कीर्तिपुर नगरपालिकामा ब्याडमिन्टन कक चुनाव चिह्न लिएर मेयर उम्मेदवार भएका पूर्ण महर्जनले एक मत पाए। सोही ठाउँका अर्का मेयरका उम्मेदवार दिनेश दर्शनधारीले एक मत पनि पाएनन्।

त्यसैगरी चन्द्रागिरि नगरपालिकामा नन्दकुमारी श्रेष्ठले आफ्नो मात्र मत पाइन्। उनले एक मत मात्र पाएकी छिन्। चमेरो चिह्न लिएर स्वतन्त्रबाट चुनाव लडेका कृष्णहरि बस्नेत र ठेकी चुनाव चिह्नबाट लडेका माधवप्रसाद रेग्मीले आफूले आफैंलाई पनि मत दिएनन्। किनकि दुवै जनाले शून्य मत पाएका छन्।

टोखा नगरपालिकामा दुई बालबालिका चिह्नबाट चुनाव लडेका रामकृष्ण डंगोलले पनि आफ्नो मात्र मत पाए। त्यसैगरी टोखाबाटै चुनाव लडेका सुवासबहादुर ठकुरीले एक मत पाए।

दक्षिणकाली नगरपालिकामा क्यामरा चिह्न लिएर चुनाव लडेका महेन्द्रदास श्रेष्ठले एक मत पाएका छन्। कुकुर चिह्न पाएका टोकोल तामाङ र बोतल चिह्न पाएका दीपक थापामगरको एक मत पनि आएन। यसबाट उनीहरूले आफैंलाई  मत नदिएको स्पष्ट हुन्छ।

नागार्जुन नगरपालिकामा कर्नी चिह्नबाट चुनाव लडेका निरन्जन श्रेष्ठले २ मत पाएका छन्। सोही ठाउँबाट उठेका राष्ट्रिय यथार्थवादी पार्टी नेपालका दिलबहादुर मल्ल र कुमार लामिछाने (कामी) ले एक भोट पनि पाएनन्।

बूढानीलकण्ठ नगरपालिकाबाट मेयरका उम्मेदवार बनेका कृष्णकुमार गुप्ताले २ मत, अशोककुमार रोक्का क्षेत्रीले १ मत, स्वतन्त्रबाट उठेका सीताराम श्रेष्ठ, देवीप्रसाद अधिकारीले शून्य मत पाएका छन्।

शंकरापुर नगरपालिकामा ब्याडमिन्टन कक चुनाव चिह्नमा चुनाव लडेका शंकरप्रसाद ढकाल र चमेरो चिह्नमा चुनाव लडेका श्रीजन श्रेष्ठले तीनतीन मत पाएका छन्।

कागेश्वरी मनोहरा नगरपालिकामा दुई बालबालिका चिह्न लिएर चुनाव लडेका हरिहर खड्काले दुई मत पाएका छन्। त्यसैगरी स्वतन्त्रबाटै मेयरमा उम्मेदवार बनेका सुन्दर ढकाल, दिव्यकुमारी घिमिरेले आफूले आफैंलाई भोट नदिएको देखिन्छ। किनकि उनीहरूले एक मत पनि पाउन सकेका छैनन्।

गोकर्णेश्वर नगरपालिकाबाट उम्मेदवार बनेका गोविन्दप्रसाद कोइरालाले एक भोट पनि पाएनन्।   

ललितपुरको कोन्जोसोम गाउँपालिकाका सञ्जय घिसिङ तामाङले पनि आफूलाई मत दिएनन्। किनकि उनले एक मत पनि पाएका छैनन्।

ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा उठेका श्याम खत्री, रोशनकुमार थापा, कृष्णप्रसाद बास्तोलाले पनि एक मत ल्याउन सकेनन्।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा स्वतन्त्र उम्मेदवार महाप्रसाद पराजुलीले आफ्नो मत मात्र पाए। सोही ठाउँबाट उठेका बाबुकृष्ण श्रेष्ठ र रोमन बज्राचार्यले एक मत पनि पाएनन्।

राजनीतिक विश्लेषक कृष्ण पोख्रेलका अनुसार कतिपयलाई चुनाव नसाजस्तो लाग्ने भएकाले उनीहरूले उम्मेदवारी दिएका हुन्। 'कतिपयको चुनाव लड्ने आकांक्षा हुन्छ। हाम्रोजस्तो मुलुकमा यो पनि चलन छ', उनी भन्छन्। चुनावमा कतिपयले डमी उम्मेदवार उठाउने प्रचलन पनि देखिन्छ। एक भोट पनि नल्याउँदा निर्वाचनका बेला पाइने सुविधा उपयोग गर्न डमी उम्मेदवार दिएको पनि हुन सक्ने उनी बताउँछन्।

काठमाडौं महानगरपालिकाको मेयरमा १८ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।

काठमाडौं महानगरपालिकाको चुनावी मैदानमा उत्रिएका २८ जनामध्ये सबैभन्दा बढी ६४ हजार ९ सय १३ मत ल्याएर एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी भए।

महानगरपालिकामा निर्वाचन आयोगमा दर्ता भएका दलबाट १० र स्वतन्त्रबाट १८ जना उम्मेदवार मेयरका लागि चुनावी मैदानमा थिए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल एक लाख ९७ हजार दुई सय २७ मत खसेको थियो।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार १७ जना उम्मेदवारले एक सयभन्दा कम मत ल्याएका छन्। कम मत ल्याउनेमा अधिकांश स्वतन्त्र उम्मेदवार छन्।

 

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App