coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

छानबिन गर्न समिति गठन

काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगले आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले घटनाका विषयमा छानबिन गर्न सहन्यायाधिवक्ता तिम्सिनासहित गृह मन्त्रालयका सहसचिव र प्रहरी नायब महानिरीक्षक सदस्य रहेको टोली गठन गरेको हो। छानबिन टोली सोमबारै चितवन पुगेको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भरतपुर महानगरपालिकाको मतगणना कार्य जारी रहँदा केही व्यक्तिले मतपत्र च्यातेको विषयमा सत्यतथ्य बुझेर टोलीले प्रतिवेदन पेस गर्ने बताए। टोलीलाई बुधबारसम्म प्रतिवेदन पेस गर्न समय दिइएको छ। उनका अनुसार वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वडाको मतगणना सम्पन्न भएको थियो। 'वडा नम्बर १९ को मतगणना जारी रहेको समयमा जेठ १४ गते राति ११ः३० मा मतगणना स्थलमा रहेका दलका प्रतिनिधिमध्ये केहीले मतपत्र च्यात्ने कार्य गरेको प्रतिवेदन मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनबाट आयोगलाई प्राप्त भएको छ,' प्रवक्ता शर्माले भने, 'घटनापछि आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ बमोजिम अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ।' आयोगको निर्णयसँगै मतगणना कार्य रोकिने भएको छ। माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि उत्पन्न विवादका कारण आइतबार रातिदेखि नै भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।

१९ वडामा पुनः मतदान गर्ने आयोगको तयारी

भरतपुर महानगरपालिकाको मतगणनामा खटिएका माआवोदी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोग माओवादी केन्द्र र कांग्रेस मागबमोजिम १९ वडामा पुनः मतदान गर्ने तयारीमा छ। घटनाको छानबिन भन्दै आयोगले तीन सदस्यीय समिति गठन गरेर पठाए पनि आयोग भने त्यस वडाको पुनः मतदान गर्ने तयारीमा लागेको हो।

आयोग स्रोतका अनुसार छानबिन टोली फर्किएलगत्तै बुधबार आयोग बैठक बसेर भरतपुर महानगरपालिकाको १९ वडामा पुनः मतदान गर्ने निर्णय गर्दै मितिसमेत तय गर्नेछ। 'नियतलाई पुष्टि गर्न अप्ठेरो हुन्छ,' आयोगका एक अधिकारीले नागरिकसँग भने, 'छानबिन टोली त पठाएका छौं तर पनि टोली फर्किएपछि सम्भवतः बुधबार निर्वाचन घोषणा हुन्छ।' उनले मतपत्र च्यातिएपछि पुनः निर्वाचन गराउँदा हार्ने भए मतपत्र च्यात्ने गलत पद्धतिको विकास हुने बताए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App