५ वैशाख २०८१ बुधबार
खेल

नेपालको फराकिलो जित

काठमाडौं- मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले आइतबार राति इस्टवर्न क्रिकेट क्लबलाई १ सय ८१ रनले पराजित गरेको छ। नेपाल–बेलायत दौत्यसम्बन्धको दुई सय वर्षगाँठको अवसरमा मंगलबार मेरिलेबोन क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल्नुअघि नेपालले इस्टबर्न क्रिकेट क्लबसँग अभ्यास खेल खेलेको हो। नेपालले कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललाई आराम दिएको थियो।

इस्टबर्न सफरोन्स स्पोर्टस क्लबको मैदानमा ओपनर सुवास खकुरेल ६ रनमा आउट भए पनि मध्यक्रमका ब्याट्सम्यानहरूले गतिलोसँग नेपालको इनिङ सम्हालेका थिए। छैटौं ओभरको तेस्रो बलमा सुवास आउट हुँदा नेपाल १९ रनको स्थितिमा थियो।

त्यसपछि ओपनर अनिल मण्डललेशरद भेषावकरसँग दोस्रो विकेटमा १ सय १९ रन र तेस्रो विकेटमा राजु रिजालसँग ३९ रनको साझेदारी गरेका थिए। ६० रन बनाएका शरदवाल्टर हुचुको बलमा बोल्ड भए। अनिलले ७३ रन बनाए। उनी पनि हुचुकै बलमा ट्रपसाको हातबाट क्याचआउट भए।

राजु ६० रनमा अविजित रहे। उनले चौथो विकेटमा विनोद भण्डारीसँग अविजित १ सय २३ रनको साझेदारी गरेका थिए। विनोदले अविजित७७ रनको इनिङ खेलेपछि नेपाल निर्धारित ५० ओभरमा ३ विकेट गुमाई ३ सय रन जोड्न सफल भयो।

३ सय १ रनको लक्ष्य पछ्याएको इस्टबोर्नले ३४.३ ओभरमा  सबै विकेट गुमाएर १ सय १९ रन मात्र जोड्न सक्यो।

इस्टबर्नलाई कम रनमा समेट्ने क्रममा सोमपाल कामीले ३ विकेट लिए। वसन्त रेग्मी र सागर पुनले २–२ विकेट लिए भने विक्रम सोब र शक्ति गौचनले १–१ विकेट लिए।

इस्टबर्नका रलिन्सले सबैभन्दा धेरै ४४ रन बनाए। पुन्जाले २३ र वाट्सले २० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालले लगातार अभ्यासमा यो चौथो जित हो।

प्रकाशित: ४ श्रावण २०७३ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App