८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग

चितवन- भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ। आइतबार मध्यरातमा मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले दुईजनालाई समाएको छ। उनीहरु माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि भएर गणनामा सहभागि थिए । माओवादी चितवनले उनीहरु निर्दोष भएको बताउँदै तत्काल रिहा गर्न माग गरेको छ।

                मतपत्र च्यातिएपछि मतगणना कार्य आइतबार मध्यरातबाटै स्थागित भएको छ । माओवादी केन्द्र चितवनले वडा नं. १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएका कारण सो वडामा फेरि मतदान गराउन माग गरेको छ । नेपाली काँग्रेस चितवनले पनि त्यस्तै माग गरेको छ । काँग्रेसले निकालेको विज्ञप्तीमा मतपत्र कस्ले च्यातेको हो भन्ने विषयमा केही उल्लेख छैन। भरतपुरमा माओवादी र काँग्रेसबीच चुनावी तालमेल छ ।

                नेकपा (एमाले) चितवनले भने सोमबार बिहान भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर मतपत्र च्यात्ने काम माओवादीले गरेको आरोप लगाएको थियो । एमालेले पुनःनिर्वाचनको साटो मत गणना कार्य तत्काल सुरु गर्न माग गरेको छ । एमालेले सोमबार दिउँसो भरतपुरमा विरोध सभा आयोजना गरेर आइतबार मध्यरातमा भएको घटनाको विरोध पनि गरेको थियो।

                ‘एमालेका मतगणना प्रतिनिधि कृष्णराज न्यौपाने लब्ली, गणेश लामा, आश्वीन घिमिरे र प्रकास ढुंगना लगायतले मतपत्र कब्जा गरी च्यात्न लागेपछि हाम्रो पार्टीका मत गणना प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेले मतपत्र रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिन पुगे’ माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

                वास्तविकता यस्तो भए पनि बङ्ग्याएर एमालेले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट माओवादी विरुद्ध गलत प्रचार गरेको माओवादीको भनाइ छ । इन्चार्ज भट्टराईले पक्राउ गरेका सिवाकोटी र न्यौपानेको रिहाइको माग गरेका छन् । माओवादीले सम्वन्धित मतदान केन्द्रमा तत्काल मतदान गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ ।

                त्यस्तै नेपाली काँग्रेस चितवनले पनि पुनः मतदान गर्न आयोगसँग माग गरेको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले निकालेको प्रेस विज्ञप्तीमा मतगणना प्रकृयालाई व्यवस्थित गर्न नसक्दा यस्तो घटना भएको उल्लेख छ । काँग्रेसले घटनाको सत्यतथ्य जनता माझ ल्याउन र दोषिलाई कारवाही गर्न माग गरेको छ ।

               

प्रकाशित: १५ जेष्ठ २०७४ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App