७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘राज्यबाट सुको लिन्न, तातोपानी नाका सञ्चालनमा ल्याउँछु’

सिन्धुपाल्चोक – सीमा नाका तातोपानी रहेको भोटेकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार पौडेलले राज्यद्वारा प्रदान गरिने तलब लगायत सेवा सुविधा गाउँको विकासमा खर्चिने घोषणा छन् । 

नागरिक प्रतिनिधिसँगको कुराकानीमा उनले पूर्ववत घोषणा दोहोर्याउँदै उनले भने, ‘राज्यबाट एक रुपैयाँ लिन्न । सेवा, सुविधामा आएको तलव, भत्ता गाउँको विकासमा लगाउने छु ।’ यसअघि पद्भार ग्रहणपछि पौडेलले उक्त घोषणा गरेका थिए । 

अध्यक्षका नाताले २५ हजार रुपैयाँ तलव सेवा प्राप्त हुने सुनेका उनले राज्यलाई कर तिरेर बाँकी हुन आउने रकम सिधै गाउँपालिकामार्फत विकासमा खर्च हुने व्यवस्था मिलाउने बताए । खासगरी उक्त रकम गाउँपालिकाको शैक्षिक र स्वास्थ्य सेवा सुधारमा खर्चिने उनको योजना छ । ‘चीनसँग जोडिए पनि यो क्षेत्र शैक्षिक रुपमा पछाडि छ । स्वास्थ्य सेवा पनि प्रभावकारी छैन,’ उनले भने । गाउँपालिकालाई प्राप्त हुने अनुदान शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा खर्चन प्राथमिकता दिने उनले सुनाए । 

मध्यमवर्गीय परिवारको रहेकाले आफूलाई खान, लाउन समस्या नभएको भन्दै अध्यक्ष पौडेले राज्यबाट कुनै पनि शीर्षकमा एक रुपैयाँ नलिने प्रतिवद्धता जनाए । व्यवसायी रहेका पौडेल चिनियाँ सामग्री आयातकर्ता हुन् । तातोपानी क्षेत्रमा रहेर उनी लामो समयदेखि चिनियाँ व्यवसायमा सक्रिय थिए । उनी नेपाल ट्रक कन्टेनर व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत हुन् । 

नेपाल–चीन व्यापार बुझेकाले आफ्नो पहिलो प्राथमिकता तातोपानी नाका सञ्चालनमा ल्याउनु रहेको उनी बताउँछन् । आफू निर्वाचित भइसकेपछि स्थानीय प्रशासन र कुटनीतिक माध्यमबाट नाका सञ्चालनमा ल्याउन पहल थालेको उनले बताए । ‘छिमेकी नेलाम जिल्ला प्रमुख हुँदै ल्हासासम्म पनि सन्देश पुर्याइसकेको छु,’ उनले भने, ‘हरप्रयास गरेर छिट्टै नाका सञ्चालनमा ल्याइ छाड्छु ।’

२०७२ वैशाख १२ को भूकम्पपछि नाका बन्द छ । २०७३ असार २३ को भोटेकोसी थप क्षति पुर्याउँदा नाकाको भविष्य थप संकटमा पर्दै आएको छ । पौडेलका अनुसार दुई वर्षदेखि नाका बन्द हुँदा वार्षिक झण्डै २० अर्बको आयात र करिब ५ अर्बको निर्यातबाट राज्यलाई ५ करोड रुपैयाँ राजस्व घाटा हुँदै आएको छ । 

तातोपानी, फुल्पिङकट्टी, गाती र मार्मिङ गाविस मिलेर बनेको भोटेकोसीमा पौडेलले २६ वर्षपछि कम्युनिस्ट झण्डा गाडेका हुन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले कांग्रेस किल्ला भत्काए । २०६४ को पहिलो संविधानसभा निर्वाचनसम्म यहाँ एमाले माओवादीलाई गाउँ समिति बनाउन आवश्यक संख्या नै पुग्दैनथ्यो । 

चुनावको महिनाअघि मात्र माओवादीमा खुलेका उनले तत्कालीन लिस्ति गाविस अध्यक्ष रहेका कांग्रेसका बलिया उम्मेदार साङ्बु शेर्पालाई पराजित गरेका थिए । आश्चार्यजनक नतिजा निकाल्ने क्रममा १ सय २३ मतको अग्रता साथ उनी २५७३ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी शेर्पाले २४५० मत ल्याएका थिए । 

प्रकाशित: १५ जेष्ठ २०७४ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App