coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजमार्ग हो कि जलमार्ग !

भक्तपुर- अलि ठूलो पानी पर्न सुरु भएसँगै अरनिको राजमार्ग खण्डको भक्तपुरको जगाती क्षेत्र जलमार्ग हुने गरेको छ। पानी पर्न थालेसँगै सवैतिरका पानी राजमार्ग खण्डमा जम्मा हुन थालेसँगै राजमार्ग जलमार्ग हुने गरी डुव्ने गरेको छ। उचित निकासको अभाबमा यो समस्या भएको हो।

राजमार्ग खण्डको आदर्श वस स्टपदेखि जगाती बस स्टपसम्मको करिव आधा किलोमिटिर सडक खण्ड पानी पर्न थालेसँगै जलमार्ग जस्तै हुने गर्दै आएको हो। निकासको अभाबमा यसअघि नै राजमार्गको छेउको ठूल्ठूलो ढलमा ढलको फोहोर पानी जमिराखेको यो ठाउँमा पानी पर्न थालेसँगै पानीको लेभल माथि उठेर राजमार्ग खण्ड डुव्ने गरेको छ।

दैनिक हजारौं सवारीसाधन चलिरहने राजमार्ग खण्ड नै जलमार्ग हुँदा आवतजावतमै समस्या हुने गरेको छ। ठूलो पानी पर्दा राजमार्ग नै अवरुद्ध हुने गरेको छ। सानोतिनो पर्दा भने राजमार्ग खण्डमा जाम हुने गरेको छ। सडक नदेखिने गरी पानी हुँदा पार गर्न विस्तार भई सवारी जाम हुने गरेको छ। यो बेला पूरै राजमार्ग खण्ड डुव्दा वटुवाको आवतजावत भने पूरै ठप्प हुने गर्दै आएको छ।

भक्तपुर इटा तथा टायल उद्योग प्रालि प्रवेशद्धार नजिकै पसल रहेका भक्तपुर जुजु धौ (दही) सेन्टरका प्रोपाइटर जगतराम त्यातका अनुसार निकासको अभाबमा पानी पर्न थाल्यो कि राजमार्ग खण्ड कालोपत्रे नदेखिने गरी जलमार्गमा परिणत हुने बताउँछन्। त्यसो देखिएपछि यो बेला यहाँ आउने सवैको मुखमा यो राजमार्ग हो कि जलमार्ग भन्छन्, त्यातले भने। उनका अनुसार यो ठाउँमा यो समस्या भएको पनि चार पाँच वर्ष नै वितिसक्यो। निकास खुलाइन धेरै पटक सरकारी कार्यालयहरुमा पुगेको तर सफल हुन नसकेको उनले सुनाए। 

स्थानीय जगाती कल्याण समूहका अध्यक्ष केदार त्वायनाबासू यो समस्याले टोलभरि नै तनाब ल्याएको बताउँछन्। ठूलै पानी पर्दा राजमार्ग छेउका घरमा पानी पस्न थाल्दा थप समस्या हुने गरेको उनले सुनाए। 

डिभिजन सडक कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख देवेन्द्रप्रसाद शाह निकासका लागि प्रत्येक वर्ष काम गरिरहेको बताउँछन्। तर पूर्ण रुपमा समस्या समाधान नभएको उनले बताए। यसैका लागि आज सोमबार पनि म त्यहाँ पुगेको थिएँ, उनले भने। उनका अनुसार यहाँ पानीको निकास पठाउने आउटलेट छैन। त्यसो भए पनि तत्कालका लागि भए पनि समस्या समाधान गर्ने योजना रहेको उनले सुनाए।

पहिला निकास थियो। तर पछि निकासबाट पानी नभई दुर्गन्धित ढलको पानी आयो भन्दै स्थानीयले निकास नै वन्द गरिदिए। यसो हुँदा समस्या भएको उनको भनाई छ। पहिला सडक मुनि हुँदै सडकको उतरतिर निकासको व्यवस्था थियो। तर पछि स्थानीयले ढलको पानी आएको भन्दै वन्द गरिदिए।

निकास नहुँदा प्रत्येक वर्ष मनसुनको समयमा पानी पर्यो कि सडक नै खोला जस्तै दुव्ने गर्दै आएको हो। यसले सडकसमेत बारम्बार मर्मत गर्नुपर्ने गरी विग्रने गर्दै आएको छ।

प्रकाशित: ४ श्रावण २०७३ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App