coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

द्रुत मार्ग चार लेनमा बन्ने

बारा- वर्षौंदेखि चर्चाको विषय बनेको काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) चार लेनमा निर्माण गरिने भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको द्रुत मार्ग अबको चार वर्षभित्र चार लेनमा निर्माण गरिने निर्माणको जिम्मा पाएको नेपाली सेनाका अधिकारीहरुले बताएका छन्।

सेनाले निर्माण जिम्मा पाएपछि निजगढमा पर्ने द्रुत मार्ग प्रवेशद्वारमा धार्मिक परम्परा अनुसार प्रधानमन्त्री दाहालले आइतबार बिहानै शिलान्यस गरेका छन्। शिलान्यास कार्यक्रममा सरकारले द्रुत मार्ग निर्माण गर्न गठन गरेको उच्चस्तरीय निर्देशक समितिका अध्यक्षसमेत रहेका नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले सरकारले दिएको समयसीमा (चार वर्ष) भित्रैै द्रुत मार्ग निर्माण गरी सक्ने दाबी गरे।

एक खर्ब १२ अर्ब अनुमानित लागत रहेको द्रुत मार्गको ट्र्याक नेपाली सेनाले नै २०७० सालमा खोलेको थियो। 'सरकारले अन्य सहयोगको साथै आवश्यकता अनुसार बजेट पनि समयमै उपलब्ध गराउनु पर्छ,' थापाले भने, 'निर्माणमा खर्च हुने रकम उपलब्ध भए तोकिएकै समयमा द्रुत मार्ग निर्माण गरिने छ।'

स्वदेशी लगानी मै निर्माण गर्न लागिएको द्रुत मार्गका लागि चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनामध्ये उच्च प्राथमिकतामा रहेको द्रुत मार्ग निर्माणको जिम्मा पाएपछि सेनाका लागि यो अवसर र चुनौती दुवै बनेको रथी थापाले बताए। उनले सेनाले सबैको सहयोगमा यसलाई पूरा गर्ने दाबी गरे।

ललितपुरको खोकना, काठमाडौंको दक्षिणकाली, मकवानपुरको पञ्चकन्या, गढी, धियाल र बाराको भरतपुरी, लाल हुँदै निजगढको लामागढीमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग आएर द्रुत मार्ग जोडने बताइएको छ।

द्रुत मार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथी योगेन्द्रबाबु खाँडले सामूहिक प्रयासमा निर्माण गर्न लागिएको द्रुत मार्गको पिडिए तयारीको काम सुरु गरिएको बताए। द्रुत मार्ग समयमै निर्माण सम्पन्न गर्न यसलाई १० भागमा विभाजन गरेर निर्माण अघि बढाउने योजना रहेको उनले सुनाए। 

७६.२ किलोमिटर द्रुत मार्गको समतलमा चौडाइ २५ मिटर हुनेछ भने पहाडी भागमा २३ मिटर रहने बताइएको छ। द्रुत मार्गमा ९९ वटा पुल, दुई किलोमिटर सुरुङ मार्ग आवश्यकता अनुसार पर्खाल समेत निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य रहेको उनले बताए।

द्रुत मार्गको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले समयमै यसको निर्माण पूरा भएको अवस्थामा द्रुत मार्गमा खटिने सबैजनालाई नेपाल सरकारबाट उच्च सम्मान दिलाउन आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे।

द्रुत मार्ग निर्माण कार्यमा आउने भित्री र बाहिरी चुनौतीलाई सबैले मिलेर सामना गर्ने र यसको निर्माण गराएरै छाड्ने प्रधानमन्त्री दाहालले बताए। कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले उच्च मनोबलका साथ यसको निर्माणमा लाग्न सेनाका अधिकारीहरुलाई निर्देशन दिए। द्रुत मार्ग निर्माण भएपछि यसले देशको विकासमा चौतर्फी अवसर जुटाउने भएकाले कुनै बाधा अड्चन आउन नहुनेमा खाँडले जोड दिए।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार द्रुत मार्ग निर्माणको विरोधी भएको हल्लाबीच यसलाई निर्माण गराएरै छाड्ने प्रतिबद्धतासाथ सेनालाई जिम्मा दिइएको बताए।

कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सरकारले द्रुत मार्ग निर्माणको जिम्मा दिनु सेनाका लागि गौरवको विषय भएको बताए। सरकारले दिएको जिम्मेवारी सेनाले दिनरात खटेर समयमै पूरा गर्नुपर्ने क्षेत्रीले बताए।

द्रुत मार्ग निर्माणका लागि सरकारले अहिलेसम्म एक अर्ब ६४ करोड रुपैयाँ खर्च गरिसकेको भौतिक निर्माण मन्त्रालयले जनाएको छ। ट्र्याक खोल्न ८२ करोड र बाँकी मुआब्जा वितरणमा खर्च गरेको जनाइएको छ।

द्रुत मार्ग निर्माण सम्पन्न भएपछि काठमाडौं–निजगढ एक घन्टाको सडक दुरीमा छोटिने भएकाले यसले बारा, पर्सा, रौतहट लगायत मधेसको विकासमा ठूलो भूमिका खेल्ने अनुमान छ।

प्रकाशित: १५ जेष्ठ २०७४ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App