७ वैशाख २०८१ शुक्रबार
अर्थ

पौने ४८ अर्बको गहुँ फल्यो

काठमाडौं- यो वर्ष गत वर्षभन्दा करिब साढे तीन अर्ब रुपैयाँ धेरै मूल्यको गहुँ फलेको छ। गत वर्षभन्दा एक लाख ४१ हजार मेटि्रक टन धेरै फलेर १८ लाख ७५ हजार मेटि्रक टन गहुँ उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको छ।

यो वर्ष करिब ४८ अर्ब ७५ करोड रुपैयाँ मूल्यको गहुँ उत्पादन भएको छ। पोहोरको तुलनामा करिब आठ प्रतिशत उत्पादन बढेको कृषि विकास मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्ष गहुँ खेतीको लागि उपयुक्त मौसम, उन्नत गहुँको बीउ प्रयोग, समयमै मल, सिँचाइको व्यवस्था हुँदा उत्पादन बढेको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए। 'गहुँको उत्पादकत्व आठ प्रतिशत बढेको छ,' सापकोटाले भने, 'धेरै फलेकाले आयात प्रतिस्थापन हुनेछ।'

गत आर्थिक वर्षमा १७ लाख ३४ हजार मेटि्रक टन गहुँ उत्पादन भएको मन्त्रालयले जनाएको छ। गहुँ प्रतिकिलो करिब २६ रुपैयाँमा किनबेच हुन्छ। मुलुकभर करिब सात लाख ६२ हजार तीन सय ७३ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुन्छ।

गहुँ उत्पादन बढेसँगै बजार सुनिश्चितताको लागि नेपाल खाद्य संस्थानले किन्ने भएको छ। संस्थानले करिब १२ करोड रुपैयाँको गहुँ खरिद गर्ने जनाएको छ। त्यसको लागि बजेट विनियोजन गरेर किन्न सुरु गरेको छ।

करिब ४० हजार क्विन्टल गहुँ खरिद गर्ने तयारी भएको नेपाल खाद्य संस्थान वितरण विभाग प्रमुख शंकर सापकोटाले बताए। 'खरिद प्रक्रिया अघि बढाएका छौं,' सापकोटाले भने, 'विभिन्न जिल्लामा मूल्य निर्धारण गरिसकेका छौं।'

बाँके, कैलाली, सिराहा, बर्दिया, रूपन्देही, पर्सा, झापा, मोरङका किसानले उत्पादन गरेको गहुँ किन्ने संस्थानले जनाएको छ। संस्थानले खरिद गर्नको लागि कैलालीमा प्रतिक्विन्टल २६ सय ७५, टीकापुरमा २६ सय ३० रुपैयाँ, बर्दियामा २६ सय ३० रुपैयाँ मूल्य निर्धारण गरिसकेको छ। किसानलाई प्रोत्साहित गर्न बजार भाउभन्दा  प्रतिक्विन्टल २० देखि ३० रुपैयाँ बढी मूल्य दिएर किन्ने योजना छ। संस्थानका अनुसार बर्दियाबाट १० हजार, कैलालीबाट १० हजार, बाँकेबाट ५ हजार, रूपन्देहीबाट ५ हजार, पर्साबाट २५ सय, झापाबाट २५ सय सिरहाबाट २५ सय र मोरङबाट २५ सय क्विन्टल किन्ने योजना छ।

गत वर्ष खाद्यान्न उत्पादन घटे पनि यो वर्ष बढेको छ। मौसम, प्रविधि, बीउ, मल उपलब्धताले समग्र खाद्य बाली उत्पादन बढेको कृषि विभागका महानिर्देशक डिलाराम भण्डारीले बताए। 'खाद्यान्नसहित तरकारी उत्पादन पनि राम्रो भएको छ,' भण्डारीले भने, 'समग्रमा मुलुकको अर्थतन्त्रमा यो वर्ष कृषिजन्य उत्पादनले सघाएको छ।'

यो वर्ष धान ५२ लाख ३० हजार ३ सय मेटि्रक टन फलेको थियो। गत वर्षभन्दा नौ लाख ३१ हजार दुई सय मेटि्रक टन धान धेरै फलेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष ०७२/७३ मा ४२ लाख ९९ हजार एक सय मेटि्रक टनमात्र धान फलेको थियो। यसअघि सबैभन्दा धेरै आव ०७०/७१ मा ५० लाख ४७ हजार ४७ टन धान फलेको थियो। चालु आवमा १५ लाख ५२ हजार चार सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। प्रतिहेक्टर तीन हजार तीन सय ६९ टन धान फलेको थियो। धानका लागि अनुकूल हावापानी, समयमा बीउ–बिजन र रासायनिक मलको उपलब्धता, बृहत्तर तथा बास्नादार धान उत्पादनलगायत कार्यक्रमले यो वर्ष धेरै धान फलेको मन्त्रालयका प्रवक्ता सापकोटाले बताए। वार्षिक रुपमा अर्बौंको खाद्यान्न आयात भइरहेको अवस्थामा अघिल्लो वर्षभन्दा करिब २० अर्ब ४८ करोड रुपैयाँको कम चामल आयात हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७४ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App