१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई फोरमबीच तालमेल तयारी

काठमाडौं- संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले दोस्रो चरणको स्थानीय चुनावमा तालमेल गर्ने भएका छन्। पहिलो चरणको चुनावमा अलगअलग भाग लिएका यी दुई दलबीच दोस्रो चरण चुनावमा तालमेल गर्न दुवै पार्टीका दोस्रो तहका नेता सक्रिय भएका छन्। फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिलो चरणमा नयाँ शक्तिसँग  पनि तालमेल गरेका थिए। अबको चरणमा पनि नयाँ शक्तिसँगको तालमेल जारी राख्ने उनको तयारी छ।

फोरम लोकतान्त्रिकसँग तालमेल मिलाउन फोरम नेपालबाट प्रमुख सचेतक शिवजी यादव, अभिषेकप्रताप साहलगायत सक्रिय छन्। यसैगरी फोरम लोकतान्त्रिकबाट रामजनम चौधरी, योगेन्द्र चौधरीलगायतले सक्रियता बढाएका छन्। यस विषयमा फोरम नेपालका अध्यक्ष यादव र फोरम लोकतान्त्रिकका अध्यक्ष  विजय गच्छदारबीच पनि वार्ता भइसकेको छ । उनीहरुबीच तालमेलबारे सैद्धान्तिक सहमति भइसकेको सम्बन्धित नेताले बताएका छन्।

दोस्रो संविधानसभाको चुनावमा पाएको मत र जिल्लाजिल्लाबाट आएको आन्तरिक रिपोर्टका आधारमा चुनावमा तालमेल गर्ने तयारी भइरहेको फोरम नेपालका नेताले जनाएका छन्। कम पकड भएको पार्टीले छाड्ने गरी तालमेल प्रयास भइरहेको फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले बताए। 'फोरम लोकतान्त्रिकसँग तालमेल गरेर चुनावमा जाने भन्ने सहमति भइसकेको छ, तरिकाबारे छलफल भइरहेको छ,' यादवले भने। फोरम लोकतान्त्रिककी उपाध्यक्ष आशा चतुर्वेदीले पनि फोरम नेपालसँग तालमेल गरेर चुनावमा जाने बताइन्।

यी दुई दलबीच तालमेल भएमा २ नम्बर र ५ नम्बर प्रदेशमा राम्रो परिणाम ल्याउने विश्लेषण दुवै पार्टीका नेताको छ। ७ नम्बर प्रदेशमा फोरम लाोकतान्त्रिकका उम्मेदवारलाई फोरम नेपालले सहयोग गर्ने र २ नम्बर प्रदेशमा फोरम नेपाललाई फोरम लोकतान्त्रिकले सहयोग गर्नेगरी तालमेलको कुराकानी भइरहेको फोरम नेपाल स्रोतले जनाएको छ।

राजपाले चुनावमा भाग नलिएको स्थितिमा त्यस दलसँग निकट भोट तालमेलतिरै जाने विश्लेषण पनि फोरम नेपालका नेताको छ। फोरम नेपालका अध्यक्ष यादव यति खेर मधेसका विभिन्न जिल्लामा व्यस्त छन्। उनी पार्टी प्रवेश कार्यक्रममा व्यस्त रहेको फोरम नेपालका नेताले जनाएका छन्। दोस्रो संविधानसभा चुुनावभन्दा यसपटक पार्टीको संगठन बलियो भएको फोरम नेपालका नेताको दाबी छ।

प्रकाशित: १५ जेष्ठ २०७४ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App