६ वैशाख २०८१ बिहीबार
राजनीति

'गणेशमानको संगत र प्रेरणाले राजनीतिमा'

काठमाडौं- पहिलो चरणको स्थानीय चुनाव (वैशाख ३१) का लागि उम्मेदवारी दर्ता गर्ने दिन १९ गते दिउँसो दुई बजे मात्र उनले टिकट पाएको जानकारी पाएकी थिइन्। अरु पनि दाबेदार भएकाले आफूले नै टिकट पाउँछु भन्नेमा उनी विश्वस्त थिइनन्। झिनो आशाका कारण उम्मेदवारी दर्ताका लागि कागजात भने तयारी अवस्थामा राखेकी थिइन् उनले।

यसअघि संविधानसभा चुनावमा दुईपटक समानुपातिकको बन्द सूचीमा परे पनि प्राथमिकता क्रममा नपरेकी हरिप्रभा खड्गी श्रेष्ठ यसपटक भने काठमाडौं महानगरपालिकाको उपमेयरमा विजयी भएकी छिन्।

मतगणना सम्पन्न भएपछि खड्गी श्रेष्ठलाई देशविदेशबाट फोनमार्फत बधाईको ओइरो लागिरहेको छ। मतगणनाकै क्रममा जित सुनिश्चित बन्दै गएकाले उनलाई बधाई र शुभकामना आउन थालेका थिए। अहिले उनलाई बधाई र शुभकामनाका फोन उठाउन भ्याइनभ्याइ छ।

उनले २०४२ सालदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेवि संघबाट राजनीति सुरु गरेकी हुन्। भक्तपुरमा २०२४ सालमा जन्मेकी खड्गी विवाहपछि काठमाडौंवासी भइन्, उनको थरपछि श्रेष्ठ पनि थपियो।

नेपाली कांग्रेसका नेता गणेशमान सिंह नातेदार भएकाले उनी चाक्सीबारी गइरहन्थिन्। चाक्सीबारीमा गणेशमानका राजनीतिक कुराले उनलाई कांग्रेसतिर तानेको थियो। गणेशमानले राणा शासनमा पाएको दुःख, आफूहरूले गरेको संघर्षबारे सुनाउँथे। त्यसबाट उनी निकै प्रेरित भएकी थिइन्।

बागबजारका प्रकाश खड्गीसँग २०४३ सालमा उनको विवाह भएको थियो। प्रकाश पाटन क्याम्पसमा बोटनी विषय अध्यापन गर्छन्। उनी एसएलसीपछि पद्मकन्या क्याम्पसमा भर्ना भइन्। त्यसबेला उनको नसानसामा कांग्रेस बसिसकेको थियो। २०४६ सालको आन्दोलनमा आफू निकै सक्रिय भएको उनी बताउँछिन्। पद्मकन्या क्याम्पसअघि नै घर भएकाले पनि आन्दोलनमा सक्रिय हुन उनलाई सघाउ पुग्यो।

बागबजारमा प्रहरीले आन्दोलनकारी लखेट्दा जोगिन उनकै घरमा पुग्थे कार्यकर्ता। त्यसैले प्रहरीले उनको घरमा आन्दोलनकारी लुकेको निहुँमा ढुंगा हानेका थिए। त्यसक्रममा सिसा फुटेर निधारमा लागेर उनी घाइते भएकी थिइन्। 

कर्फ्यु लागेका बेला उनको घर आन्दोलनकारी बस्ने स्थान बनेको थियो। 'प्रजातन्त्र ल्याउन सबैको साथ थियो। आन्दोलनकारीलाई जोगाउनु थियो। रत्नपार्क नजिक हाम्रो घर भएकाले आन्दोलनमा नलागी सुखै थिएन,' उनी भन्छिन्, '२०४६ सालको आन्दोलनपछि मेरो सक्रिय राजनीतिक यात्रा सुरु भएको हो।'

मंगलादेवी सिंहले नेपाल महिला संघको इकाइ गठन अभियान सुरु गरेकी थिइन। त्यसैबेला खड्गी श्रेष्ठ संघको इकाइ सचिव बनिन्। महिला संघमा काम गर्दै जाँदा उनी क्षेत्रीय सचिव बनिन्।

२०५४ सालमा भएको स्थानीय चुनावमा उनले वडा सदस्य जितिन्। जनप्रतिनिधि बनेर काम गर्ने पहिलो अवसर वडा सदस्यबाट पाएको बताउँछिन् उनी।

उनी २०५७ सालमा नेपाल महिला संघ काठमाडौंको सदस्य बनिन्। महिला संघबाटै उनी २०६२/०६३ को आन्दोलनमा सक्रिय भएको बताउँछिन्। उनी धेरै पटक पक्राउ परेकी थिइन्। त्यसपछि उनी २०६४ सालको संविधानसभा चुनावमा समानुपातिकको सूचीमा परेकी थिइन्। २०६९ सालमा महिला संघको केन्द्रीय सदस्य बनिन्। दोस्रो संविधानसभा चुनावमा पनि उनी समानुपातिक सभासद्का लागि बन्द सूचीमा परिन्। दुईपटक समानुपातिक सूचीमा परे पनि सभासद बन्ने उनको पालो भने आएन।

नेपाली कांग्रेसको ११ औं महाधिवेशनदेखि उनी लगातार महाधिवेशन प्रतिनिधि छिन्। उनले पार्टीभित्र नेता प्रकाशमान सिंहलाई आदर्श पात्र मान्छिन्।

पार्टी समितिभित्र स्थानीयदेखि केन्द्रसम्म अनिवार्य ३३ प्रतिशत महिला हुनुपर्ने माग राख्दै महिलाले निकै जोडबल गर्नुपरेको उनी सुनाउँछिन्। उनी भन्छिन्, 'पहिले त आफ्नै पार्टीसँग लड्नुपर्छ। त्यसपछि महिलाको अधिकार सुनिश्चित गर्न सकिन्छ।'

स्थानीय चुनावमा ४० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने माग राखेर सबै महिला संघसंगठनले दल, सभामुखलगायतलाई ज्ञापनपत्र बुझाएको स्मरण उनले गरिन्।

उपमेयरमा जितेपछि उनले मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताइन्। 'ठूलो आश्वासन बाँडेकी छैन। महानगरलाई धुलोधुवाँरहित बनाउनु पहिलो चुनौती छ', उनले भनिन्, 'महिला मतदाताले भोट दिएका कारण जित भएको हो। महिलाका लागि केही कार्यक्रम गर्छु।' महिलालाई उद्यमी बनाउने उनको रहर छ।

मेयर, उपमेयर फरकफरक पार्टीका भएकाले  मिलेर काम गर्नुपर्ने उनी बताउँछिन्। 'लडाइँ, झगडाले फाइदा पुग्दैन। जुनसुकै पार्टी भए पनि हामी मिलेर काम गर्नुपर्छ', उनले भनिन्। 

पद्मकन्या क्याम्पसबाट आइए सकेकी उनले बिए पढ्दापढ्दै छोडेकी थिइन्।

प्रकाशित: १५ जेष्ठ २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App