६ वैशाख २०८१ बिहीबार
राजनीति

कसैले चाहँदैमा निर्वाचन सर्दैन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसद्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै पनि हातलमा जेठ ३१ गतेभन्दा पर नजाने दाबी गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिँदै दाहालले कसैले चाहँदैमा दोस्रो चरणको निर्वाचन नरोकिने दाबी गरेका हुन्। 'सरकारको ध्यान दोस्रो चरणको निर्वाचन गराउनेतर्फ पूर्ण केन्द्रित भएको छ', संसद् बैठकमा दाहालले भने, 'दुनियाँको कुनै पनि शक्ति वा व्यक्तिले चाहँदैमा निर्वाचन रोकिँदैन।'

संसद् बैठकमा केही सदस्यले निर्वाचनमा अन्योल भएको भनी टिप्पणी गरेपछि दाहालले शंका नगर्न आग्रह गरे। 'पहिलो चरणको निर्वाचनमा पनि यस्तै टिप्पणी गरिएको हो', दाहालले भने, 'तर मैले आफू हारे पनि देश जिताउन र इतिहास बनाउन निर्वाचन गराएरै छाडें।'

आफूलाई काम चलाऊ भनी टीकाटिप्पणी नगर्न पनि उनले आग्रह गरे। यस्तो टिप्पणी गर्नेलाई आधार पनि स्पष्ट पार्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले भने, 'न विपक्षीले अविश्वासको प्रस्ताव पेस गरेको छ न कसैले बहुमत पुर्‍याएर मलाई हटाउने प्रयास गरेको छ। म त आफैं देशलाई जिताउन मात्र एक कदम पछाडि हटेको हुँ', दाहालले भने, 'देशलाई निकास दिन, पहाड, मधेस र तराई मिलाउँदा काम चलाऊ भएको भनी आरोप लगाउन मिल्दैन।'

सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन आफूले खेलेको भूमिकालाई विपक्षीले आलोचना गर्ने हो वा समर्थन, कुन कित्तामा रहने हो, प्रस्ट हुन उनले आग्रह गरे। आफ्नो भूमिकाको मूल्यांकन इतिहासले गर्ने उनको दाबी थियो। 'मेरो ध्यान इतिहास बनाउन केन्द्रित छ, त्यसको मूंल्याकन जनता र इतिहासले पक्कै गर्नेछन्', प्रधानमन्त्री दाहालले भने, 'मलाई विरोध र आलोचना हैन, प्रतिपक्षले धन्यवाद दिनुपर्छ।'

आफू प्रधानमन्त्री निर्वाचित भएपछि देशको अर्थतन्त्रले गति लिएको, अँध्यारोबाट उज्यालोतर्फ मुलुक अघि बढेको र आर्थिक वृद्धिदरमा उल्लेख्य सुधार आएको उनले बताए। संसद्बाट प्रधानमन्त्री निर्वाचित हुँदै गर्दा सोधिएका प्रश्नको उत्तर पनि आफूले कामबाट दिएको दाहालले बताए। चीनसँग भएको सम्झौता, फास्टट्रयाक, पञ्चेश्वरलगायतमा भएको प्रगतिले नै उत्तर दिने भएकाले आफूले सदनबाट जबाफ दिनुनपर्ने दाहालको भनाइ थियो।

'देश संक्रमणकालमै छ, दोस्रो तहको स्थानीय निर्वाचन, प्रदेश र केन्द्रीय तहको निर्वाचनपछि मात्र यसको अन्त्य हुन्छ', दाहालले भने, 'त्यस अवधिसम्मका लागि मैले हारे पनि देशलाई जिताउन भूमिका खेल्नेछु।' तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विस्तृत शान्ति सम्झौताका बाँकी जिम्मेवारी पूरा गर्न आफूलाई जिम्मा दिएको भन्दै दाहालले देश जिताउने आफ्नो अभियानमा साथ दिन सबै दललाई आग्रह गरे।

'संसदीय जोडघटाउलाई मैले कहिल्यै पनि महत्व दिएको छैन', दाहालले भने, 'म त इतिहास निर्माणको अभियानमा मात्रै सक्रिय छु।' देशलाई निकास दिन र सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन आफूले पदबाट राजीनामा दिएको दाहालले बताए।

छिमेकीसँग सन्तुलित सम्बन्ध

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि छिमेकीसँगको सम्बन्ध सन्तुलित बनाएको दाबी गरे। उनले आफूले अगाडि सारेको त्रिदेशीय साझेदारीको कुरा सफल भएको दाबीसमेत गरे। 'परराष्ट्र नीतिका सन्दर्भमा एकातिर ढल्कने र अर्कोतिर बिगार्नेमा म बिल्कुल थिइनँ तर त्यस्तो हो कि भन्ने पर्न पनि गएको थियो। केही महिनासम्म त्यस्तै प्रचार गरिएको थियो,' उनले भने, 'विश्वासका साथ भन्न सक्छ, दुवै छिमेकीसँगको सम्बन्ध सन्तुलित बनाएको छु।'

नेपाल, भारत र चीनबीचको त्रिदेशीय अवधारणाबारे प्रस्ट पार्दै प्रधानमन्त्रीले भने, 'नेपाल राष्ट्रको हितलाई प्राथमिकता दिई नेपाली जनताको सर्वोपरी हितलाई ध्यान दिएर उनीहरूको विकासबाट लाभान्वित हुनेगरी त्रिदेशीय आर्थिक साझेदारीको कुरा गरेको थिएँ। त्यो दिशामा पनि यो सरकार सफल भएको छ भन्ने महसुस गरेको छु।'

भारतको गोवामा गत वर्ष भएको ब्रिक्स सम्मेलनमा दाहालले चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्› मोदीसँग त्रिपक्षीय भेटवार्ता गरेका थिए।

प्रधानमन्त्रीले आफ्नो सरकारले नेपालको विदेशनीतिको मौलिक पक्ष उजागर गरेको समेत दाबी गरे। 'परराष्ट्र सम्बन्धहरू आवेगबाट होइन, विवेक र राष्ट्रिय स्वार्थबाट प्रेरित हुन्छन्। राष्ट्रिय स्वार्थ पूरा गर्न भूराजनीतिक संवेदनशीलता, इतिहास र राष्ट्रिय रणनीति बुझेर मात्र विदेश नीतिलाई वैज्ञानिक आधार दिन सकिन्छ भन्ने विश्वास छ,' उनले भने, 'त्यही विश्वासबाट चल्दा नेपालको विदेश नीतिको मौलिक पक्ष उजागर भएको छ।'

दाहालले आवेगमा आएर एउटा छिमेकीको विरोध र अर्काको समर्थन गर्ने कुराले मुलुकलाई फाइदा नहुने बताए। 'तपाईं आवेगमा एउटा छिमेकीको विरोध गर्न सक्नुहुन्छ र अर्कोको समर्थन गर्न सक्नुहुन्छ तर विवेकमा नेपालको राष्ट्रिय हितलाई सर्वोपरी ठानी मुलुकको आर्थिक समृद्धि सन्तुलित गर्ने ठाउँमा आउनैपर्छ,' उनले भने, 'त्यसको आधारशिला यो सरकारले तयार गरेको छ।'

विपक्षीको आग्रहअनुसार नै पुराना कार्यक्रम

प्रधानमन्त्री दाहालले निर्वाचनका कारण सरकारले पुरानै कार्यक्रमलाई राखेर नीति तथा कार्यक्रम ल्याएको स्पष्टीकरण दोहोर्‍याए। 'विपक्षीसँग पटकपटक गरेको छलफलपछि नै मैले यस्तो नीति तथा कार्यक्रम ल्याएको हुँ', प्रधानमन्त्री दाहालले भने, 'तर पनि प्रतिपक्षका साथीहरूले आलोचना गर्नुभयो।' नीति तथा कार्यक्रमा नसमेटिएका विषय बजेटमा आउने भएकाले चित्त बुझाउन सांसदलाई उनले आग्रह गरे।

प्रकाशित: १५ जेष्ठ २०७४ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App