७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयरमा शाक्य, उपमेयरमा खड्गी

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनी नेपाली कांग्रेसका राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन्।

शाक्यले ६४ हजार ९ सय १३ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी जोशीले ४५ हजार दुई सय ६९ मत ल्याए। विवेकशील नेपाली दलकी रञ्जु दर्शना २३ हजार चार सय ३९ मतका साथ तेस्रो बनिन्। साझा पार्टीका किशोर थापाले १८ हजार चार सय ९६ मत ल्याए। सात हजार नौ सय ६ मत प्राप्त गरी माओवादी केन्द्रका सर्वोत्तमदास डंगोल पाँचांै स्थानमा रहे।

त्यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी भारी मतान्तरका साथ निर्वाचित भएकी छन्। खड्गी ५८ हजार नौ सय ५२ मत ल्याएर विजयी भएकी हुन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले भन्दा २४ हजार एक सय सात मत बढी ल्याएकी छन्।  श्रेष्ठले ३४ हजार आठ सय ४५ मत ल्याए।

काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको थियो। गठबन्धनका तर्फबाट मेयरमा एमाले उम्मेदवार शाक्य विजयी भए पनि उपमेयरमा राप्रपाका श्रेष्ठ पराजित भए।

जेठ १ गते सुरु भएको मतगणना १४ औं दिन आइतबार बिहान सकिएको हो। महानगरमा कुल एक लाख ९७ हजार दुई सय २७ मत खसेको थियो। उक्त मतमध्ये ६ हजार एक सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विजयी सबै उम्मेदवारलाई आगामी बुधबार शपथ गराउने कार्यक्रम छ।

मेयर शाक्यले कार्यभार सम्हालेको पहिलो दिनदेखि नै महानगरमा सुधारको काम गर्ने बताए। मेयरमा निर्वाचित भएपछि आइतबार उनले भने, 'मैले जे गर्छु भनेर बोलेको छु, त्यो कार्यान्वयन गर्न पहिलो दिनदेखि नै लाग्छु।' उनले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताए। शाक्यले सबै पार्टीलाई समेटेर महानगरको विकास गर्ने प्रतिबद्धतासमेत जनाए।

जोशीले दिए बधाई

मेयरमा विजयी शाक्यका मुख्य प्रतिद्वन्द्वी जोशीले मतदातालाई धन्यवाद दिएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै उनले आफूलाई अमूल्य मत दिएर सम्मानजनक प्रतिस्पर्धा गर्न सक्षम बनाइदिने सबै मतदातालाई धन्यवाद दिएका हुन्।

'लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया हो। मैले चुनावी दौडमा रहँदा काठमाडौं महानगरबासीसँग गरेका बाचाहरूप्रति म सधंै कटिबद्ध रहन्छु,' उनले भनेका छन्।

मेयर पदमा निर्वाचित शाक्य, उपप्रमुख खड्गी तथा वडाबाट विजयी वडा अध्यक्ष र वडा सदस्यलाई उनले सोही विज्ञप्तिमार्फत बधाई दिएका छन्।

रञ्जु र साझा पार्टीबाट बधाई

मेयर पदमा उम्मेदवारी घोषणासँगै चर्चामा आएकी विवेकशील पार्टीकी रञ्जु दर्शनाले निर्वाचित मेयर शाक्यलाई बधाई दिएकी छन्। आइतबार बिहान मतगणनास्थल राष्ट्रिय सभागृहमै पुगेकी रञ्जुले खादा ओढाएर शाक्यलाई  बधाई दिएकी हुन्।

उनले आफू पराजित भए पनि महानगरवासीको हितमा काम गर्ने बताइन्। 'काठमाडौंलाई सुन्दर नगर बनाउन हामी आफ्नो तर्फबाट योगदान पुर्‍याउँछौं,' उनले भनिन्, 'महानगरवासी र महानगरपालिकाबीच पुलको रूपमा रहेर नगरको विकासमा सहयोग गर्नेछौं।'

साझा पार्टीले पनि निर्वाचित मेयर र उपमेयरलाई बधाई दिएको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी विजयी मेयर र उपमेयरलाई बधाई दिएका हुन्।

पार्टीले महानगरपालिकामा उपमेयर र मेयर पदका आफ्ना पार्टीका उम्मेदवारलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ। 'पार्टी निर्माणको प्रक्रिया सुरु गरेको ६ हप्तामै दुवै उमेदवार क्रमशः तेस्रो र चौथो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिएको तथ्यको स्पष्ट संकेत हो,' विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०७४ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App