८ वैशाख २०८१ शनिबार
राजनीति

रेणुले मतान्तर घटाउँदा भरतपुरको मत गणना रोमाञ्चक

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

भरतपुर—भरतपुर महानगरपालिकाको पछिल्लो परिणामले मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक बनाइदिएको छ। मत गणना भइरहेको १९ नं. वडाको प्रारम्भिक नतिजापछि माओवादीकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँग मतान्तर अझ घटाउँदै ७६४ मा झारेकी छिन्।

यसअघि परिणाम सार्वजनिक भएको २१ नं. वडाको मतपरिणामभन्दा उनले २० मत अन्तर घटाएकी हुन्। २१ नं. वडाको परिणामपछि माओवादीकी दाहाल र एमालेका देवी  ज्ञवालीबीच ७८४ मतको फरक देखिएको थियो। १९ नं. वडामा मतणना जारी छ।

परिणाम आउन बाँकी १९ र २० वडाको नतिजा यसकै पक्षमा जान्छ भनेर निर्क्योल गर्न सक्ने स्थिति छैन।

पछिल्लो परिणामअनुसार एमालेका ज्ञवाली ४१ हजार २०१ मतका साथ अगाडि छन्। माओवादीकी दाहाल ४० हजार ४३७ मतका साथ एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्। वडा नं. १९ र २० को परिणाम आउन बाँकी रहँदा दुई उम्मेदवारबीच ७६४ मतको मात्र अन्तर देखिएको हो। परिणाम आउन बाँकी १९ र २० वडाको नतिजा यस्तै हुन्छ भनेर निर्क्योल गर्न सक्ने स्थिति छैन।

मत आउने हिसाबले ती वडाहरू एमालेका लागि भन्दा काँग्रेसका मतदाता धेरै भएको ठाउँ मानिन्छ। यस हिसाबले रेणु दाहालले २१ नम्बर वडामा पाएको मतको ट्रेन्ड हेर्दा १९ र २० को परिणामले एमालेका ज्ञवालीलाई ढुक्कसँग विजय हुने स्थिति देखाउँदैन। मत परिणाम आउन बाँकी वडा १९ र २० चितवन निर्वाचन क्षेत्र नम्बर चारमा पर्छन्। चार नम्बर क्षेत्रमा कांग्रेस बलियो मानिन्छ। १८, १९ र २० वडा तत्कालीन चित्रवन नगरपालिकाअन्तर्गत थिए। साबिकको चित्रवन नगरपालिकामा कांग्रेसको प्रभाव क्षेत्र हो।

मतगणनाका क्रममा मंगलबारसम्म ज्ञवाली  दाहालभन्दा ३८ सय ३६ मत अन्तरमा पुगेका थिए। माओवादी र कांग्रेसको प्रभाव रहेका वडाको गणनापछि बिस्तारै मतान्तर घट्दै अहिलेको अवस्थामा आइपुगेको हो।

भरतपुरलाई महानगर बनाउन तत्कालीन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो। चित्रवनका बासिन्दा महानगरमा नमिसिने अडानमा थिए। उनीहरूले आन्दोलनसमेत गरेका थिए। अहिले सोही क्षेत्रका बासिन्दाको बाक्सामा कैद भएका मत गनेर सकिँदा भरतपुर महानगरपालिकाको पहिलो मेयर घोषणा हुने भएको छ।

अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बरका वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवारहरू १, ३, ६, ८, १४, १५, १७, १८, २१ र २७ नम्बर मा विजयी भएका छन्। माओवादीका उम्मेदवारहरू १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

काँग्रेस माओवादी गठबन्धनकी मेयर प्रत्यासी रेणु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुन्।

प्रकाशित: १४ जेष्ठ २०७४ १४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App