coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देशभर वायु प्रदूषण मापन केन्द्र राखिँदै

काठमाडौं- सरकारले वायु प्रदूषणको अवस्था पत्ता लगाउन काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मापन केन्द्र स्थापना गर्ने भएको छ। वातावरण विभागले प्रारम्भिक चरणमा काठमाडौं, ललितपुर र काभ्रे गरी तीन ठाउँमा वायु प्रदूषण मापन केन्द्र स्थापना गर्ने भएको हो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहयोगमा काठमाडौंको रत्नपार्क, ललितपुरको पुल्चोक र काभ्रेको धुलिखेलमा केन्द्र स्थापना गर्न अन्तिम तयारी भइरहेको विभागले जनाएको छ। विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलका अनुसार केन्द्रमा आवश्यक उपकरण जडान गर्न आगामी साता जर्मनीबाट प्राविधिक टोली आउँदै छ। 'टोली आएलगत्तै मेसिन इन्स्टल हुन्छ,' उनले भने, 'पहिलो चरणको सफलतापछि उपत्यकाका अन्य स्थानमा पनि उपकरण जडान हुनेछ।'

पौडेलका अनुसार दोस्रो चरणमा खुमलटार, मच्छेगाँउ, टेकु, भक्तपुर, चन्द्रागिरी र कपन वा महाराजगन्ज गरी उपत्यकाका अन्य ६ स्थानमा उपकरण जडान गरिनेछ। यसअघि इसिमोडले उपत्यकाबाहिर चितवन र लुम्बिनीमा उपकरण जडान गरेको थियो।

इसिमोड निर्देशक शेखर घिमिरेका अनुसार वायु प्रदूषणमा नेपाल दक्षिण एसियामै पहिलो नम्बरमा पर्छ। 'यी उपकरण जडानपछि नेपालको वायु प्रदूषणको वास्तविक अवस्था पत्ता लगाई नियन्त्रणका कार्यक्रम बनाउन सहयोग पुग्नेछ,' उनले भने।

काठमाडौं उपत्यकामा सन् २००२ मा विभिन्न ६ स्थानमा प्रदूषण मापन केन्› स्थापना गरिएका थिए। तर, उपकरण बिग्रिएपछि सन् २००९ यता ती प्रयोगमा आउन सकेका छैनन्। त्यति बेला डेनमार्क सरकारको सहयोगमा पुतलीसडक, मच्छेगाउँ, पाटन अस्पताल, कीर्तिपुर, भक्तपुर दरबार स्क्वायर र नागढुंगामा स्टेसन स्थापना गरिएको थियो।

प्रकाशित: ४ श्रावण २०७३ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App