coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरमा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच ७८४ को मतान्तर

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

भरतपुर— भरतपुर महानगरपालिकाको दुई वटा वडाको मत गणना गर्न बाँकी हुँदा मेयर प्रत्यासीबीचको प्रतिस्पर्धा अत्यन्त रोमाञ्चक देखिएको छ। २१ नं. वडामा काँग्रेसले वडा अध्यक्ष जित्दा माओवादीकी मेयर प्रत्यासी रेणु दाहालले मतान्तर छोट्याउँदै ७८४ मा झारेकी छिन्।

दुई वडाको मतपरिणाम आउन बाँकी रहँदा दुई उम्मेदवारबीच ७८४ मतको मात्र अन्तर देखिएको हो।

नेपाली काँग्रेसका वडा अध्यक्ष प्रत्यासी १ हजार ५३६ मत ल्याएर विजयी हुँदा मेयर उम्मेदवार दाहालले उल्लेख्य मत पाएकी हुन्।

पछिल्लो परिणामअनुसार एमालेका ज्ञवाली ४० हजार ९८० मतका साथ अगाडि छन्। माओवादीकी दाहाल ४० हजार १९६ मतका साथ एमालेका ज्ञवालीलाई पछ्‌याइरहेकी छिन्। दुई वडाको मतपरिणाम आउन बाँकी रहँदा दुई उम्मेदवारबीच ७८४ मतको मात्र अन्तर देखिएको हो।

२१ वडाको परिणामले भरतपुर महानगर कसले जित्ने हो यसै भन्न नसकिने देखिएको छ। परिणाम आउन बाँकी १९ र २० वडाको नतिजा यस्तै हुन्छ भनेर निर्क्योल गर्न सक्ने स्थिति छैन। मत आउने हिसाबले ती वडाहरू एमालेका लागि भन्दा काँग्रेसका मतदाता धेरै भएको ठाउँ मानिन्छन्। यस हिसाबले रेणु दाहालले २१ नम्बर वडामा पाएको मतको ट्रेन्ड हेर्दा १९ र २० को परिणामले एमालेका ज्ञवालीलाई ढुक्कसँग विजय हुने स्थिति देखाउँदैन।

अब गणना हुन बाँकी वडा १९ र २० चितवन निर्वाचन क्षेत्र नम्बर चारमा पर्छन्। चार नम्बर क्षेत्रमा कांग्रेस बलियो मानिन्छ। १८, १९ र २० वडा तत्कालीन चित्रवन नगरपालिकाअन्तर्गत थिए। साबिकको चित्रवन नगरपालिकामा कांग्रेसको प्रभाव क्षेत्र हो।

भरतपुरको बजार क्षेत्रभन्दा बाहिर रेणुलाई कांग्रेस मतदाताको पनि राम्रै मत आइरहेको छ। त्यसैले ज्ञवालीले नै जित्छन् भनेर भन्न सक्ने स्थिति अझै छैन।

मतगणनाका क्रममा मंगलबारसम्म ज्ञवाली  दाहालभन्दा ३८ सय ३६ मत अन्तरमा पुगेका थिए। माओवादी र कांग्रेसको प्रभाव रहेका वडाको गणनापछि बिस्तारै मतान्तर घट्दै अहिलेको अवस्थामा आइपुगेको हो।

भरतपुरलाई महानगर बनाउन तत्कालीन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो। चित्रवनका बासिन्दा महानगरमा नमिसिने अडानमा थिए। उनीहरूले आन्दोलनसमेत गरेका थिए। अहिले सोही क्षेत्रका बासिन्दाको बाक्सामा कैद भएका मत गनेर सकिँदा भरतपुर महानगरपालिकाको पहिलो मेयर घोषणा हुने भएको छ।

भरतपुर महानगरको मेयरका विषयमा अहिलेसम्म यसै भन्न मिल्ने अवस्था नरहे पनि उपमेयरमा काँग्रेसकी पार्वती शाहको विजय निश्चित भएको छ। उनी ४४ हजार ७९ मत मत आएको छ। एमालेकी दिव्य शर्मा आचार्यले ३७ हजार ६८० मत ल्याएकी छन्।

अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बरका वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवारहरू १, ३, ६, ८, १४, १५, १७, १८, २१ र २७ नम्बर मा विजयी भएका छन्। माओवादीका उम्मेदवारहरू १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन्।

काँग्रेस माओवादी गठबन्धनकी मेयर प्रत्यासी रेणु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुन्। जित्ने बलियो सम्भावना रहेको ठाउँमा मेयर पद फिर्ता लिएर काँग्रेसले माओवादीको उम्मेद्वार रेणुलाई समर्थन गरेको थियो। माओवादीसँगको तालमेलप्रति स्थानीय काँग्रेस कार्यकर्ता सुरुमा आक्रोशित भएका थिए।

प्रकाशित: १४ जेष्ठ २०७४ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App