८ वैशाख २०८१ शनिबार
अर्थ

कामिरिता २१औं पटक सगरमाथा शिखरमा

काठमाडौं- संसारभरका पर्वतारोही र हिमाल आरोहणमा चासो राख्नेका लागि खुसीको खबर छ– एक नेपाली आरोहीले सर्वोच्च शिखर सगरमाथामा २१ औं पटक विजयी झन्डा फहर्‍याएका छन्। 

सोलुखुम्बु थामे गाउँका ४७ वर्षीय कामिरिता शेर्पाले शनिबार २१ औं पटक सगरमाथा शिखर चुमेका हुन्। उनको यो २१ औं सफल आरोहण विश्वभरका आरोहीका लागि उत्साह र प्रेरणामात्र नभई नयाँ चुनौती पनि हो किनभने उनको कीर्तिमान तोड्नु चानचुने काम होइन।

'कामिरिता शेर्पाले बिहान ८ः१५ बजे सगरमाथाको सफल आरोहण गरे,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले शनिबार नागरिकसँग भने, 'सबैभन्दा धेरैपल्ट सगरमाथाको सफल आरोहण गरेकामध्ये उनी तेस्रो आरोही भएका छन्। यसअघि आप्पा शेर्पा र फूर्वातासी शेर्पाले २१ पटक आरोहण गरिसकेका थिए।'

राजधानीको सांग्रिला नेपाल ट्रेकको व्यवस्थापनमा 'अल्पाइन एसेन्ट्स एभरेस्ट एक्सपिडिसन' दलमा सहभागी भएर गएका कामिरिताले साधारण रुट (दक्षिणपूर्वी मोहोडा) बाट सफल आरोहण गरेका हुन्। उनी गत शुक्रबार राति ११ बजे शिखरतिर उकालो लागेका थिए।

'कामिरिताको सफलता नेपालमात्र नभई हिमालबारे रुची राख्ने अनि आरोहणमा हिँड्ने पर्वतारोहीका लागि गज्जबको खबर हो,' नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नागरिकसँग भने, 'कामिरिताले विश्वकीर्तिमान कायम गरेका होइनन्, २१ पल्ट शिखर पुगेर आप्पा र फूर्वातासीजस्तै बनेका हुन्।'  

सबैभन्दा धेरै पटक सगरमाथाको सफल आरोहण गरेको पहिलो आरोहीको कीर्तिमान भने आप्पाको नाममा रहेको शेर्पाले जानकारी दिए। आप्पाले सन् २०११ मा उक्त कीर्तिमान राखेका थिए। त्यसपछि उनले सगरमाथा आरोहण गरेका छैनन्। आप्पाको कीर्तिमान पछ्याउँदै आएका फूर्वातासी २०१३ मा २१ औं पटक शिखर पुगेका थिए। उनले २१ औं सफल आरोहण गरेपछि 'अब आप्पाको कीर्तिमान तोड्दिनँ' भन्दै सगरमाथा आरोहणमा नजाने घोषणा गरेका थिए।

तीनैजना आरोही सोलुखुम्बुका हुन्। आप्पा र कामिरिता थामे गाउँ र फूर्वातासी खुम्जुङका हुन्। आप्पा र कामिरिता नातेदारसमेत हुन्। अब कामिरिताले भने आप्पाको कीर्तिमान तोड्न अर्को वर्ष सगरमाथा आरोहणमा जान्छन् कि जाँदैनन् भन्ने हेर्न बाँकी छ।

त्यसबाहेक गत वर्ष २० औं पटक सगरमाथाको सफल आरोहण गरेका अर्का नेपाली आरोही निमा शेर्पा यसपालि पनि आरोहणमा गएका छन्। तर, उनले सफल आरोहण गरे कि गरेनन् भन्ने जानकारी आइनसकेको पर्यटन विभागले जनाएको छ।  

यसैबीच अनुकूल मौसमको फाइदा उठाउँदै शनिबार एकै दिन स्वदेश तथा विदेशका थप ३० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। आधार शिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शनिबार ती आरोही शिखर पुगेका हुन्।

यसपालि वसन्त ऋतुमा आरोहण सुरु भएयता हालसम्म करिब ३ सय आरोही शिखर पुगिसकेका छन भने आधा दर्जनले ज्यान गुमाइसकेका छन्। अझै नेपाली तथा विदेशी गरी ५ सयभन्दा बढी आरोही शिखर पुग्ने पर्खाइमा रहेको मन्त्रालयका आरोहण सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।

'सगरमाथाको मौसम त्यति अनुकूल छैन, अबको एक/दुई दिनभित्र सफल आरोहण गर्न सकेन भने बाँकी आरोही फिर्ता आउनुपर्ने सम्भावना उच्च छ,' उनले भने, 'बाँकीले अर्को वर्ष प्रयास गर्ने बाहेक अन्य उपाय छैन।'

विभिन्न देशबाट आइपुगेका ३ सय ७३ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ४ सयसमेत गरी करिब ८ सय आरोही सगरमाथामा छन्। तीमध्ये करिब ३ सय शिखर पुगिसकेका छन्।

पर्यटन मन्त्रालयले खटाएका सातजना 'आइसफल डाक्टर' (स्थानीय आरोही) ले चुचुरोसम्मै डोरी राखेपछि जेठ सुरुबाट आरोहण सुरु भएको थियो। सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन्। आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन्। अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगन गरेको थियो।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो। 

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो।

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App