८ वैशाख २०८१ शनिबार
खेल

आर्मीको विजयी सुरुआत

काठमाडौं- त्रिभुवन आर्मी क्लबले ललित स्मृति यु–१८ च्याम्पियनसिप प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आर्मीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुदूरपश्चिमलाई २–० ले हरायो। साबिक विजेता आर्मीले पहिलो हाफमा सुदूरपश्चिमविरुद्ध सहजै अग्रता लिएको थियो। विश्वास उदासले १४औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। आर्मीका दोर्जे तामाङले ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रतालाई दोब्बर पारे। आर्मीका प्रशिक्षक चक्र तामाङले  खेल जितेपछि पनि आफ्नो क्षमताअनुसार खेल्न नसकेको बताए। चक्रले भने, 'हामीले खेल जित्यौं, तर धेरै गोलअन्तर बनाउन सकेनौं। हाम्रा खेलाडीले धेरै अवसर गुमाए। उनीहरूले साँच्चिकै आफ्नो क्षमताअनुसार खेल्न सकेनन्।'

सुदूरपश्चिमका प्रशिक्षक ललित चन्दले सुरुआतमै आर्मीसँग खेल्नु परेकाले खेलाडी नर्भस भएको बताए। चन्दले भने, 'साबिक विजेताविरुद्ध खेल्दा खेलाडी केही नर्भस भए। अर्काे समस्या भनेको आर्टिफिसियल ट्रफमा खेल्न हामीलाई केही अप्ठ्यारो भयो। एस्ट्रो ट्रफमा खेल्न अभ्यस्त छैनौं। त्यसले खेलमा असर गर्‍यो। तर हामी आगामी दिनमा राम्रो प्रदर्शन गर्नेछांै।'

यसै गरी आर्मीले विजयी सुरुआत गर्दा च्यासल युथ क्लब र रमपम झापा– ११ ले १–१ को बराबरी खेलेका छन्। सुरुमा तीव्र गतिमा खेल्ने प्रयास गरे पनि झापाले पहिलो गोल समय कुर्नुपर्‍यो। झापा काउन्टर अट्याक गर्दै ३१औं मिनेटमा गोल गर्न सफल भएको थियो। दिशान्त राईले गोल गर्दै झापालाई अग्रता दिलाए। तर इन्जुरी समयमा च्यासलले गोल गर्दै खेल बराबरी गरेको थियो। इन्जुरी समयको चौथो मिनेटमा पाएको फ्रिकिकमा तेन्जिङले गोल गरेपछि च्यासल हारबाट जोगिएको थियो। झापाका प्रमोद चौधरीले सुशान श्रेष्ठलाई फाउल गरेपछि च्यासलले फ्रिकिक प्रहार गर्ने अवसर पाएको थियो। तेन्जिङले त्यसलाई गोलमा परिणत गरे।

त्यसअघि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठ र एन्फाका पूर्वउपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठकी श्रीमती निलु श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे।

एन्फाले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय लिग खेलेको क्लब र मोफसलबाट राष्ट्रिय लिग खेलेका १६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। एउटा समूहमा चार टोली छन्।

प्रतियोगिताको समूह 'ए' मा झापा–११, एपिएफ, सरस्वती युथ क्लब, च्यासल, 'बी' मा त्रिभुवन आर्मी, फ्रेन्ड्स, लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम फुटबल क्लब छन्। समूह 'सी' मा जगदम्बा लुम्बिनी फुटबल क्लब, आरसिटी जावलाखेल युथ क्लब, हिमालयन शेर्पा क्लब, एनआरटी तथा समूह 'डी' मा सिएमजी संकटा क्लब, नेपाल पुलिस, ब्रिगेड ब्वाइज र मोरङ फुटबल क्लब छन्। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। यसलाई यु–१९ छनोट प्रतियोगिताको तयारीका रूपमा लिइएको छ। प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार पाउनेछ। प्रतियोगिताको उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले समान रूपमा १० हजार पाउनेछन्।

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App