coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एघारौं अनशन बस्न डा. केसी दाङमा

दाङ- स्वास्थ्य क्षेत्रका विकृति अन्त्यका लागि पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसी ११औं अनशन दाङमा बस्ने भएका छन्। यसका लागि केसी शनिबार दाङ आइपुगेका छन्। यसअघि उनी त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौंमा अनशन बसेका थिए।

संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउँदै पारित गर्नुपर्ने, प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव फिर्ता हुनुपर्ने र विगतमा अनशनका क्रममा भएका  सहमतिअनुरुप दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने तीनबुँदे मागसहित ११ औं अनशन बस्न आफू दाङ आएका केसीले बताए। शनिबारदेखि अनशन सुरु गर्ने तयारीमा रहेका केसीले माग कार्यान्वयनका लागि सरकारबाट 'सकारात्मक आश्वासन' आएको भन्दै एक दिनपछि सारेका छन्। उनले माग कार्यान्वयन प्रक्रिया अघि नबढाइए आइतबार दिउँसो दुई बजेदेखि अनशन थाल्ने बताए। 'आज (शनिबार) दिउँसो चार बजेदेखि अनशन बस्ने भन्नेमा थिएँ,' राप्ती उपक्षेत्रीय अस्पतालमा नागरिकसँग केसीले भने, 'सरकारबाट सकारात्मक आश्वासन पाएकाले अनसन आजैदेखि सुरु हुन सकेन।'

उनका अनुसार स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. केसीलाई टेलिफोन गरी अनशन नबस्न भनेका छन्। थापाले माग सम्बोधन गर्ने भन्दै आइतबार दिउँसो दुई बजेसम्म पर्खन भनेको केसीले बताए। 'मन्त्रीको अनुरोधलाई स्वीकार गरेर शनिबार अनशन बसिनँ,' केसीले भने, 'आइतबार दिउँसो दुई बजेसम्म मन्त्रीज्यूले  समय माग्नुभएको छ।' मन्त्री थापाले भनेजस्तै माग सुनुवाइ नभए केसीले घोराहीमा आइतबार दिउँसो दुईबजेदेखि अनशन सुरु गर्नेछन्।

 केसीले राप्तीवासीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर दाङमा अनशन बस्ने योजना बनाएको बताए। उनका अनुसार पूर्वसहमति अनुसार दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउनुपर्छ तर दलीय स्वार्थका कारण यहाँ प्रस्तावित मेडिकल कलेजलाई अन्यत्रै लैजाने षडयन्त्र भइरहेको छ।  केसी र सरकारबीच दुई वर्षअघि प्रत्येक विकास क्षेत्रमा सरकारी मेडिकल कलेज निर्माण गर्ने र पहिलो चरणमा मध्यपश्चिमको दाङस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेज बनाउने सहमति भएको थियो।

राप्ती उपक्षेत्रीय अस्पताल हातामै अनशन बस्ने भनिए पनि अस्पताल प्रशासनले त्यहाँ असुविधा हुने भन्दै रोकेको छ। अस्पताल हातामा रोकावट भएपछि केसीले घोराहीकै 'शिरडीसाई मन्दिर' परिसरमा अनशन थाल्ने तय भएको छ।

आफ्ना तीनबुँदे मागमा कार्यान्वयन नभएसम्म आफू राजधानी नफर्कने उनले बताए। उनको दोस्रो माग प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग फिर्ता लिनेबारे शनिबार दलहरूबीच सहमति भइसकेको छ।

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App