१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचन सामग्री मिलाउने चटारो

इलाम- दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् भने जिल्लास्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालय चुनावी तयारीमा व्यस्त छ। सदरमुकामको ठूलो टुँडिखेलछेउमा स्थापित मुख्य निर्वाचन अधिकृृतको कार्यालयमा जिल्लाभरका मतदान केन्द्रमा पठाउने मतपत्र रुजु गरिँदैछ। ‘कतै प्रिन्ट मिस्टेक भएको वा कुनै गडबडी पाइए मतदान केन्द्रमा समस्या आउने भएकाले रुजु गरिएको हो,' मुख्य निर्वाचन अधिकृत नवराज दाहालले भने।

मतदान केन्द्रमा सियो–धागोदेखि सलाईसम्मका सामान पठाइँदैछ। यी सामग्री जेठ २६ देखि २८ सम्ममा जिल्लाका सबै मतदानस्थलमा पुर्‍याउने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयले मतदान केन्द्रमा मतदाता संख्याभन्दा बढीमा पाँच प्रतिशत मतपत्र पठाउनेछ। उनले भने, ‘साताभित्र केन्द्रमा खटिने कर्मचारीको टुंगो लागेपछि मतपत्र पठाइनेछ।'

जिल्लाभरका मतदान केन्द्रमा एक हजार पाँच सय कर्मचारी खटिनेछन्। एउटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक तथा सहायक कर्मचारी र कार्यालय सहयोगी दुई–दुई जना खटिनेछन्। केन्द्रमा निजामती कर्मचारी र शिक्षकलाई खटाइनेछ।

‘पहिलेको निर्वाचन अनुभव, अब निर्वाचनमा खटेर काम गर्न सक्ने क्षमता र तटस्थताका आधारमा आवश्यक कर्मचारी छानिनेछन्,' दाहालले भने, ‘तर राजनीतिक रूपमा सक्रिय कर्मचारी छनोट गरिने छैन।'

यसपटकको निर्वाचनमा खटिने कुनै पनि कर्मचारीलाई घर वा मतदाता सूचीमा नाम भएको क्षेत्रमा पठाइनेछैन। निर्वाचन कानुनअनुसार निर्वाचन निष्पक्ष बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई उसैको ठाउँमा नपठाउने दाहालले बताए।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जनशक्ति व्यवस्थापन समितिले आउँदो १८ गतेसम्ममा सबै मतदान केन्द्रमा जाने कर्मचारी छानिसक्नेछ। त्यसपछि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम दिइनेछ।

सदरमुकामभन्दा टाढाका गाउँपालिका–नगरपालिकामा जेठ २७ र नजिकका मतदान केन्द्रमा त्यसको भोलिपल्टसम्ममा मतपत्र पुर्‍याइसक्ने कार्यालयले जनाएको छ।

मतदान केन्द्रमा आवश्यक अन्य सामग्रीको बन्दोबस्त भने जिल्ला निर्वाचन कार्यालयले गरिरहेको छ। मतदान केन्द्रमा सियो–धागोदेखि सलाईसम्मका सामान पठाइँदैछ। यी सामग्री जेठ २६ देखि २८ सम्ममा जिल्लाका सबै मतदानस्थलमा पुर्‍याउने तयारी रहेको निर्वाचन कार्यालयका नायब सुब्बा खेम साम्पाङले जानकारी दिए। ‘सामान प्याकिङ गरिएको छ, पठाउनमात्र बाँकी छ,' उनले भने, ‘मतपत्रबाहेकका सबै सामान हामी पठाउँछौं।' 

मतदान केन्द्रमा मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, स्वस्तिक छापमा मसी लगाउन स्ट्याम्प प्याड, प्याडमा हाल्ने मसी, मतपत्र खसाल्न मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्न लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैंची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो–धागो, बोरा सिलाउन खापसियोलगायत पठाइँदैछ।

मतदाता नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, मतगणनाका लागि मतपेटिका गाउँ वा नगरपालिकाको केन्द्रसम्म पुर्‍याउन रात पर्ने भए टर्च लाइट, झोला, मतदानस्थलमा कोही बिरामी परिहाले उनीहरूका लागि प्राथमिक उपचारका सामान र औषधि, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसीलगायतका सामान बुथमा पठाउने तयारी छ।

मतदान अधिकृतका लागि रातो–कालो मसी भएका डटपेन, रिफिल, स्टिलको स्केल, मतदान केन्द्र बनाउन सुत्ली, पोस्टर टाँस्ने टेप, मतपत्र राख्ने कपडा र कागजले बनेको खाम, मतदानअधिकृतका लागि नोटबुक, कागजात हाल्ने फाइल, क्याल्कुलेटर, हात पुछ्ने कपडा, बोराको बाहिर लेख्ने मार्कर पेन र पञ्चिङ मेसिनलगायत सामग्री मतदान केन्द्र पुग्नेछन्।

जिल्लामा चार नगर र ६ गाउँपालिका छन्। निर्वाचन आयोगका अनुसार जिल्लाका एक लाख ८९ हजार दुई सय ७४ को नाम मतदाता सूचीमा छ। एक सय ४४ मतदानस्थलमा दुई सय ४९ मतदान केन्द्र रहने निर्वाचन कार्यालयले जनाएको छ। ‘निर्वाचनका लागि अहिलेसम्म कुनै चुनौती अनुभव भएको छैन,' मुख्य निर्वाचन अधिकृत दाहालले भने, ‘निर्वाचन तयारीबारे शुक्रबार जिल्लामा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरी जिल्लाभरको अवस्थाबारे जानकारी लिने तयारी छ।'  

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:१७ आइतबार

निर्वाचन सामग्री मिलाउने चटारो