काठमाडौं- सन्तोष चालिसेलाई राजनीतिको चस्का लागेको २०३६ सालदेखि नै हो। बहुदलीय व्यवस्था कि निर्दलीय भनेर रोज्न भएको जनमतसंग्रहका बेला गाउँका साथीले उनमा राजनीतिको हावा भरिदिएका थिए। त्यसको तीन वर्षपछि २०३८ सालतिर चक्रबहादुर ठकुरीले उनलाई यसरी राजनीतिमा प्रवेश गराएकी जहाँबाट उनी कहिल्यै बाहिर निस्कन सकेनन्। अहिले उनी गोकर्णेश्वर नगरपालिकामा मेयर निर्वाचित भएका छन्, नेपाली कांग्रेसका तर्फबाट।
चालिसेलाई कांग्रेस राजनीतिमा ल्याउने ठकुरी अहिले यो संसारमा छैनन्। ठकुरी काठमाडौं क्षेत्र नम्बर ३ बाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। ठकुरीसँगको त्यो भेटले अहिले चालिसेलाई मेयरसम्म पुर्याएको छ। ठकुरीले तत्कालीन समयमा 'वडा नम्बर ९ को अध्यक्षमा लडि्दनुपर्यो भनेर राखेको प्रस्ताव चालिसेलाई अहिले जस्तै लागेको छ।
'हिजै होकि जस्तो लाग्छ चक्र दाइले सन्तोष गाविसको वडाध्यक्ष तिमी नै हुनपर्यो, अरु तिमी बराबरका छैनन् भनेका'े चालिसेले विगत स्मरण गर्दै भने, 'त्यतिबेला नाई भनेको भए अहिले म कहाँ हुन्थें थाहा छैन।'
आरुबारीका चालिसे खानदानको नाम काँठ क्षेत्रमा निकै चलेको थियो। प्रशस्तै खेतबारी भएका ब्राह्मण परिवार भएकाले उनीहरूको समाजमा अलग्गै इज्जत थियो। त्यही भएर पनि ठकुरीले चालिसेलाई राजनीतिमा ल्याएका थिए।
ठकुरीको आग्रह टार्न नसकेर चालिसेले पञ्चायतकालीन २०३८ सालको स्थानीय निर्वाचनमा उम्मेदवारी दिए। पञ्चायतको जगजगी भएको जमानामा चालिसे कांग्रेसको कित्ताबाट उम्मेदवारको रुपमा चुनावी मैदानमा उभिए। 'त्यसपछि राजनीतिमा म यसरी लागेकि दरखास्त हालेर जागिर खाने र व्यापार गर्ने त मैले ककिल्यैं सोच्न सकिनँ', उनले भने, 'नभए त म गीत गाउँदै हिँड्न रुचाउँथें नि, आज चल्तीको गायक हुन्थें होला।'
आफ्नो व्यक्तिगत जीवन, रुचि र लक्ष्य सबै त्यही एकपलको निर्णयले बदलिदियो जस्तो लाग्छ उनलाई अहिले। बिहे नगरेकै अवस्थामा राजनीतिमा लागेका उनी बिहेपछि पनि राजनीतिबाट बाहिर निस्कन सकेनन्। २०३९ सालमा उनले बिहे गरेका थिए। अहिले उनका ३ छोरा र १ छोरी छन्। सबैको बिहे भइसक्यो। जेठा छोरा कन्स्ट्रक्सन कम्पनीमा काम गर्छन्। कान्छाले भने घरकै काममा हात बढाउँछन्। नेपाल मेडिकल कलेजमा चालिसेको फार्मेसी छ। त्यो उनका माइला छोराले सम्हालेका छन्। राजनीति आफ्नो रुचि भए पनि परिवार धान्न फार्मेसी चलाएको उनले बताए। 'मैले सुरुदेखि नै राजनीतिलाई सेवाका रुपमा लिएँ। मैले राजनीतिलाई आर्थिक आर्जनको मेलो बनाइनँ। जनताको सेवा मात्र गरें।'
२० वर्षे जवानीदेखि कांग्रेसको राजनीतिमा लागेका उनले २०३८ सालमा वडाध्यक्ष निर्वाचित भएयता जनताको सेवामा आफूलाई सर्मपित गर्दै आएको बताए। जनताको काम कुनै आग्रहपूर्वाग्रह नराखी गरेकाले दोस्रोपटक २०४३ पनि उनी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भए। मुलुकमा बहुदलीय प्रजातन्त्र पुनर्वहालीपछि २०४८ सालमा भएको स्थानीय निर्वाचनमा उनी जोरपाटी गाविसको उपाध्यक्ष निर्वाचित भए। त्यतिबेला ठकुरी अध्यक्षमा निर्वाचित भएका थिए। तर २०५४ सालको निर्वाचनमा चालिसे झिनो मतले गाविस अध्यक्षमा पराजित भए। तर पनि उनले राजनीति छोडेनन्, झन् सक्रिय भएर काम गर्न थाले। उच्चस्तरिय राष्ट्रिय सहिद पार्क गोकर्णको उपाध्यक्ष, आरुवारी युवा क्लबको संस्थापक सदस्य र पूर्वअध्यक्ष, वाग्मती सफाइ अभियान, युवा सचेतना अभियान जस्ता विभिन्न सामाजिक कार्यमा उनी संलग्न भइरहे। पार्टीले पनि उनको योगदानको कदर गर्दै थप जिम्मेवारी दिँदै गयो। नेपाली कांग्रेस तत्कालीन जोरपाटीको एकाइ सभापति, महाधिवेशन प्रतिनिधि हुँदै क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिको जिम्मेवारी चालिसेले निर्वाह गरिसकेका छन्। क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेकै समयमा पार्टीले मेयरको टिकट दियो। जनताले पनि उनलाई जिताए। गोकर्णेश्वर नगरपालिकामा एमालेका प्रभावशाली नेता पुण्यप्रसाद चौलागार्इंलाई करिब १५ सय मतान्तरले उनले पछाडि पारेर जित हात पारेका हुन्।
मेयरमा निर्वाचित चालिसेका अबका दिन चुनौतीपूर्ण छन्। उनले आगामी दिनमा गर्ने कामको प्राथमिकता निर्धारण गरिसकेका छन्। फोहोर व्यवस्थापन गोकर्णेश्वर नगरपालिकाको मुख्य समस्या हो। उनी यो समस्या समाधान गर्न व्यवस्थित योजना बनाएर कार्यान्वयन गर्ने पक्षमा छन्। प्रस्तावित उच्चस्तरिय सहिद पार्क यही नगरभित्र पर्ने भएकाले त्यसको निर्माणलाई पनि प्राथमिकता राखेको उनले बताए। गोकर्णेश्वरमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले त्यसतर्फ पनि गुरुयोजना निर्माण गरेर अघि बढ्ने उनी बताउँछन्।
बेरोजगार युवालाई रोजगारी दिन उनी धागो, गलैंचा र अन्य रोजगारमूलक उद्योग स्थापना तथा युवालाई आफंै रोजगारी सिर्जना गर्न सहकारीमार्फत सहुलियत दरमा ऋण दिने व्यवस्था मिलाउने उनको योजना छ। सहकारीबाट सहुलियत दरमा ऋण उपलब्ध गराउन नगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने उनी बताउँछन्।
अरब बैंकदेखि दक्षिणढोकासम्मको सडक तत्काल पिच गर्ने र बाँकी सडक प्राथमिकता हेरी स्तरोन्नति र पिचका लागि योजना निर्माण गर्ने उनको सोच छ।
त्यस्तै नगरलाई अर्गानिक खेतीको केन्द्र बनाउन बालुवा, नयाँपाटी क्षेत्रमा यसको पकेट क्षेत्र निर्माण गर्ने उनको योजना छ। ऐतिहासिक गोकर्णेश्वर मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न कार्ययोजना बनाउने उनले बताए। 'हराभरा बाग्मती, हाम्रो बाग्मती', सुन्दरीजललाई पर्यटकीय क्षेत्र, गोकर्णेश्वर मन्दिरलाई धार्मिक तीर्थस्थल बनाउने उनको योजना छ।
नगरभित्र खेलकुद मैदान बनाउने लक्ष्य पनि उनको छ। शिक्षाबाट बालबालिकालाई वञ्चित हुन नदिन निःशुल्क शैक्षिक अभियान थाल्ने उनले बताए। आर्थिक अवस्था कमजोर भएर स्कुल जान नसक्ने परिवारका बालबालिकालाई नगर र वडाको सहयोगमा निःशुल्क शिक्षाको व्यवस्था मिलाउने उनको योजना छ।
प्रकाशित: १४ जेष्ठ २०७४ ०२:५९ आइतबार