८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको चिन्ता- 'माघ ७ भित्र तीनै चुनाव नभए के गर्ने?'

काठमाडौं- 'मैले त पद छाडूँला, संविधानले तोकेअनुसार २०७४ माघ ७ भित्र तीनै तहका निर्वाचन हुन नसके त्यतिबेलाका प्रधानमन्त्रीले पदत्याग गर्छन् भन्ने के ग्यारेन्टी?' उच्च स्रोतअनुसार प्रधानमन्त्री केपी ओली निकटस्थसँग छलफलमा यही चिन्ता जाहेर गर्छन्। उनले आफू पदबाट हट्नुअघि यही सुनिश्चितता खोजेका छन्।

नयाँ सरकार गठनका लागि संवैधानिक संकट रहेको औंल्याउँदै आएका उनी माघ ७ भित्र तीनै तहको निर्वाचन हुन नसके त्यसताकाका सरकारप्रमुखको विकल्प के हुने भन्नेमा चिन्तित छन्।

'माघ ७ भित्र तीनै तहको निर्वाचन नभए त्यस समयमा हुने प्रधानमन्त्री (शेरबहादुर देउवा) ले सत्ता छाड्छन् भन्ने ग्यारेन्टी के छ?' छलफलमा सहभागी एक निकटस्थले ओलीलाई उद्धृत गरे, 'अहिले जसरी परिस्थिति विकास हुँदै गएको छ, त्यसले संविधानले निर्धारण गरेको समयभित्रै तीनै तहको निर्वाचन हुन नसके विकल्प सुनिश्चित अहिले नै गरिनुपर्छ।'

अब बन्ने सरकार चुनाव हुन नसकेको अवस्थामा लामो समय जाने र त्यतिबेला एमालेको भूमिका कहाँ हुने भन्ने संवैधानिक रुपमै निश्चित गर्न एमालेले चाहेको स्रोत जनाउँछ।

'भद्र सहमतिले मात्रै नहुने अवस्था अहिलेको परिस्थितिमा देखिएको छ,' ओली निकट एक नेताले भने, 'त्यसैले चुनाव नभएको परिस्थितिमा संवैधानिक २०७४ पछिको व्यवस्थाबारे ग्यारेन्टी खोजेका छौं।' स्रोतअनुसार २०७४ साल माघ ७ पछि पनि देउवा नै प्रधानमन्त्रीमा निरन्तर रहे भने के गर्ने भन्ने एमालेको मुख्य चिन्ता हो।

कांग्रेस र माओवादीबीच दुवै दलले अहिलेको संसदको कार्यकाल २०७४ माघ ७ सम्म आलोपालो गरी ९–९ महिना सरकारको नेतृत्व गर्ने सहमति छ।

यसैबीच, प्रमुख राजनीतिक दलबीच विवाद चुलिइरहँदा सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र मध्यमार्ग खोज्ने प्रयास हुने भएको छ।

मंगलबारका लागि आह्वान गरिएको एमाले स्थायी कमिटी बैठकमा नेताहरुले प्रमुख राजनीतिक दलबीच द्वन्द्व बढ्दै गए त्यसले संविधान कार्यान्वयनमा समस्या पार्ने भन्दै सहमतिका लागि सबै पक्षले एक एक कदम पछि हटेर सहमति खोज्ने प्रयास हुन लागेको हो।

एमाले उच्च स्रोतअनुसार बैठकमा मध्यमार्गी प्रस्तावका रुपमा पहिले

प्रधानमन्त्री ओलीले राजीनामा दिने, त्यसपछि सबै दल मिलेर बजेटका बाँकी विधेयक पारित गर्ने र त्यसपछि सहमतिको सरकार निर्माण र संविधान कार्यान्वयनसहितका विषयमा नयाँ शिराबाट सहमति प्रयास गर्ने विषय आउनेछ।

'यसमा सरकारको नेतृत्वसहितका विषयमा खुला छलफल हुनुपर्नेछ,' एमालेको एक स्थायी कमिटीका सदस्यले भने, 'नयाँ सरकार गठन हुँदा त्यसका नीति तथा कार्यक्रम मात्र नभएर तीन तहको निर्वाचन, पुनर्निर्माणसहितका समस्या समाधानका लागि स्पष्ट खाकाका साथ दलहरुबीच सहमति गरेर जानुपर्छ।'

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पछिल्लो विकसित राजनीतिक घटनाबारे निर्णय लिन स्थायी कमिटी बैठक बोलाएका हुन्।

स्थायी कमिटी बैठक तत्कालीन राजनीतिक घटनाक्रमबारे निर्णय गर्न संसद्मा अविश्वास प्रस्ताव आएको पाँच दिनपछि बस्न लागेको हो।

नेकपा माओवादी केन्द्रले एमालेसँग गठबन्धन तोड्दै नयाँ सरकार गठनका लागि कांग्रेससँग मिलेर ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याएको छ। त्यसयता दलहरुबीच तीव्र ध्रुवीकरण छ।

यसैबीच, नेकपा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र संविधानसभामा पूर्वअध्यक्ष तथा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले दलहरुबीच देखिएको तिक्तता कम गर्न माओवादी केन्द्र र कांग्रेस नेतासँग छलफल तीव्र पारेका छन्।

नेता नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटेका छन्। नेपालले नयाँबानेश्वरस्थित अर्याल होटलमा भेटघाट गरेका थिए। 'नेपालले भेट्न चाहने नेताहरुसँग नेम्वाङले सोमबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेट गरेका थिए। अध्यक्ष ओलीलाई जानकारी गराएरै नेम्वाङले विपक्षी दलका नेतासँग छलफल सुरु गरेका हुन्।

प्रकाशित: ४ श्रावण २०७३ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App