७ वैशाख २०८१ शुक्रबार
राजनीति

चन्दननाथ नगर हाँक्दै कान्तिका

जुम्ला- कर्णालीकै पहिलो चन्दननाथ नगरको नेतृत्व महिलाको काँधमा छ। स्थानीय तहको निर्वाचनबाट प्रमुखमा कान्तिका सेजुवाल र उपप्रमुखमा अप्सरादेवी न्यौपाने निर्वाचित भएका छन्। निर्वाचित भएपछि उनीहरूले नगरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

'दलको खोल नओडी सबैको हितमा काम गर्नेर्छौं,' मेयर कान्तिकाले प्रतिबद्धता गरिन्। उनले सुशासन र पारदर्शिता  प्राथमिकता रहेको बताइन्। 'सिंहदरबारको अधिकार गाउँनगरमा कार्यान्वयन गर्नेछु,' नगर कार्यकक्षमा प्रवेश गर्दा उपप्रमुख अप्सरादेवीले प्रतिबद्धता गरिन्, 'महिला सशक्तीकरण अभियान र समाजमा व्याप्त कुरीति हटाउन लागिपर्नेछु।' नगरका राजनीतिक दलसँग समन्वय र सहकार्य गरी काम गर्ने दुवैको प्रतिबद्धता छ।

नगरलाई हराभरा बनाउने अभियानमा लाग्ने अप्सरादेवी बताउँछिन्। उनीहरूले घोषणापत्र कार्यान्वयन गर्ने दोहोर्‍याउँदै आएका छन्। सम्भावनालाई उजागार गर्दै विकास गरेरै छाड्ने नवनिर्वाचित मेयर कान्तिका बताउँछिन्। खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षालगायत क्षेत्रको विकास गरेरै छाड्ने उनीहरूको आश्वासन छ।

नगरबासीका गुनासा सही ढंगले समाधान गर्ने वातावरण मिलाउने उनले बताइन्। 'नगरलाई सुन्दर बनाउन पहिलो चरणमा सरसफाइ अभियान चलाउनेछौं,' उनले भनिन्, 'बजारमा फोहोर गर्नेलाई सजग बनाउने र जनचेतनामूलक क्रियाकलाप अघि बढाउनेछौं।'  नवनिर्वाचित मेयर कान्तिका दुई वर्षअघि राजनीतिमा सक्रिय भएकी हुन्।

सानै उमेरमा सशस्त्र युद्धमा लागेकी नवनिर्वाचित उपमयेर अप्सरादेवी भने शान्तिप्रक्रियासँगै किसानको नेतृत्व गर्दै आएकी हुन्।

कान्तिकाले एमालेका शान्तिलाल महतलाई ७ सय ४० मत अन्तरले हराइन् भने अप्सरादेवीले नेपाली कांग्रेसका जगत खत्रीलाई २ सय ४४ मत अन्तरले पराजित गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०७४ ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App