८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव सार्ने बहानामा सरकार : ओली

पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) को मागलाई बहाना बनाएर दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्ने योजना सरकारले बनाइरहेको आरोप लगाएका छन्। त्यस्तै मुस्लिम समुदायको रमजानलाई बहाना बनाएर पनि निर्वाचन सार्ने योजना सरकारले बनाएको उनले बताए।

जेठ ३१ गते तोकिएको दोस्रो चरणको निर्वाचन अझैं पछाडि धकेल्ने वा नगराउने  भन्ने ध्याउन्नमा सरकार रहेको उनको भनाइ छ ओलीले निर्वाचन सार्ने कुरा आफ्नो दललाई मान्य नहुने बताए।

। 'अब निर्वाचन कसरी नगर्ने भन्नेमा सरकारको ध्यान गएको छ,' पोखरा–लेखनाथ महानगरपालिकामा विजयी एमालेले शनिबार यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, 'निर्वाचन सार्न एउटा विषय रमजानलाई बनाउने, अर्काे राजपाको यसो,यसो भयो भनेमात्र सहमतिमा आउँछु भन्ने बहानालाई पनि कारण बनाउन सक्छ।'  जेठ ३१ को निर्वाचन कुनै पनि बहानामा सार्न नपाइने उनले बताए। 'राजपालाई भन्न चाहन्छु, सधैं यस्तो र उस्तो भनिरहनु हुँदैन। यस्तो र उस्तो भनेर निहुँ खोज्नु हुन्न,' ओलीले भने, 'नयाँनयाँ कुरा निकालेर संघर्षबाट आएको लोकन्त्रलाई जोखिममा पार्न पाइँदैन।'

अहिलेकै अभ्यासबीचबाट सहमति गरेर वार्ताद्वारा अगाडि बढ्न सकिने पनि उनले बताए। 'राजपाका मागमा जेठ ३१ को चुनावपछि छलफल गर्न सकिन्छ,' ओलीले भने, 'संविधान संशोधनका कुरा गर्न पनि सकिन्छ। तर निर्वाचनलाई सर्त बनाउने उपयुक्त हुँदैन। लोकतन्त्रलाई संस्थागत गर्ने हो भने चुनावमा बाधा ल्याउने होइन, सहभागी भएर प्रक्रियाबाट समस्या समाधान गर्नुपर्छ।'

हरेक कुरामा राजपाको विरोधलाई देखाएर काम गरिएको भन्दै ओलीले असन्तुष्टि जनाए। 'राजपाले विरोधका कुरा आफैं गरेको छ वा सरकारसँगको साँठगाँठमा भएको हो भनेर समेत मैले सोधें,' उनले भने, 'तर प्रधानमन्त्रीले राजपाले आफैंले विरोध गरेको भनेका छन्।' उनले चुनाव मिति तोकेपछि स्थानीय तह बढाउनु गलत भएको बताए। 'तह बढाउँदा मधेसी मोर्चा चुनावमा आउँछ भनेपछि सुरुमा हामीले मान्यौं। मधेसी मोर्चा पनि निर्वाचनमा आउँछ भनेर २ चरणमा गर्न पनि थालियो, ओलीले भने, 'तर, अहिले राजपालाई अघि सारेर निर्वाचन नगर्ने प्रयास भइरहेको छ। कहाँसम्म भाग्ने हो, थाहा छैन।'

सरकारले नचाहिने कुरामा अल्मल्याएर समस्या खडा गर्न चाहेको ओलीको आरोप थियो। सहमतिका साथ देश चलाउनुपर्ने र बाँकी ४ सय ६१ तहमा निर्वाचन गराउनुपर्ने समयमा प्रधानमन्त्रीले सरकारको झोला फ्याँकेको उनले बताए। 'सरकार छाड्नैपर्ने भए २० दिनपछि छाड्नुभन्दा पनि मानेनन्। सरकारको नेतत्व लिन हतार गर्नेले केही दिन पर्खेको भए हुन्थ्यो,' ओलीले भने, 'यस्तो बेलामा सहमतिको वातावरण बनाउनुपर्छ भन्ने आग्रह गर्दा सरकारले मानेन।'

राजपाको मागलाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिने ओलीको भनाइ छ। तर नयाँनयाँ बहाना बनाएर निर्वाचन बिथोल्न नपाइने उनले बताए। 'हामीले निर्वाचनमा सहभागी गराउनका लागि हस्ताक्षर गरेर दिने समय रहेन। १५ दिन समय छैन,' उनले भने, 'तर उनीहरूलाई ठाउँ दिलाउने काम गर्छाैं, छुट्यो भन्नुपर्दैन।'

ओलीले अब कुनै पनि हालतमा स्थानीय तह संख्या बढाउन नमिल्ने बताए। 'एमालेले जित्ने ठाउँ कहाँ–कहाँ छ र त्यसलाई कसरी हार्ने गराउने सकिन्छ भनेर तह काटेका छन,' उनले भने, 'हामीले विरोध गर्दा सरकारले पाखुरा सुर्कायो, बल देखायो। हामीले भनेपछि जे पनि हुन्छ भन्यो, तर अदालतले हावा खुस्काइदियो।'

ओलीले एमालेलाई मधेस विरोधी भनेर गलत प्रचार गरिएको पनि बताए। 'एमाले सबैको साझा पार्टी भएकाले सबैका लागि काम गर्छ। जनताको पार्टी हो। त्यसैले विरोधी हुँदैन,' उनले भने।

निकासका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने ओलीले बताए। राष्ट्रिय सहमतिको सरकार बनाए पनि त्यसमा एमालेले नेतृत्वको दाबी नगर्ने उनले बताए। 'एमालेलाई प्रधानमन्त्री चाहिएको हो भनेर कसैले भन्छ भने त्यो भ्रम हुनेछ। एमाले कात्तिक–मंसिरसम्म पर्खेर बकाइदा बहुमत ल्याएर राजमार्गै राजमार्गबाट सरकार बनाउने बाटो हिँड्न चाहेको हो,' उनले भने, 'राजमार्ग हिँड्न छाडेर खाल्डाखुल्टी र गोरेटो हिँडन चाहन्न। केही महिना हो, पर्खिन्छौं।' समय आएपछि आफैं मूलढोकाबाट सरकारमा जाने हो, तर अहिले जस्केलाबाट जान नचाहेको ओलीले बताए।

एमालेले अब समृद्धितर्फ मुलुकलाई धकेल्ने उनले बताए। मूलमूल सहरमा एमालेले जितेको भन्दै उनले पोखरा–काठमाडौं अब छुकछुके नभई सुलुलु कुद्ने रेल ल्याउने बताए।

उनले एमालेको विजय लहर रोक्न सरकारले अनेक हत्कन्डा अपनाएको आरोप पनि लगाए। 'सरकारमा बसेका पार्टी सबै मिलेर आउँदा पनि एमालेको कम्मरसम मात्र आए,' उनले भने, 'बलियाबलिया छौं भन्नेहरू नै कम्मरसम्म मात्र आए। नमिलेका भए त सर्वनासै हुने रहेछन्।'

सभामा पोखरा–लेखनाथ महानगरका नवनिर्वाचित मेयर मानबहादुर जिसीले स्वाभिमान झुक्नेगरी कहिल्यै काम नगर्ने बताए। 'बिगार्ने काम कहिल्यैं गर्नेछैनौं,' हजारौं मतदातामाझ जिसीले भने, 'सबैको सहयोगमा पोखरा सहर बनाउनेछौं।' उनले अबका ३ वर्षभित्र महानगरभित्रका सबै कच्ची बाटो कालोपत्रे गर्ने बताए। नवनिर्वाचित उपमेयर मञ्जु गुरुङले सबैसँग मिलेर पोखरालाई समृद्ध सहर बनाउने बताइन्।

विजयोत्सव मनाउन एमालेका हजारौं कार्यकर्ता अमरसिंहचोकको चौरमा भेला भएका थिए। विभिन्न गाउँबाट सवारी साधन रिजर्भ गरेर एमालेका कार्यकर्ता विजयसभामा सहभागी हुन आएका थिए।

प्रकाशित: १४ जेष्ठ २०७४ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App