६ वैशाख २०८१ बिहीबार
समाज

तटबन्धले छुटायो मातृभूमि

होलिया (भारत)- होलिया–५, टेपरीगाउँका बिकाउलाल यादव नेपाली नागरिक हुन्। तर, उनको बसोबास सीमावर्ती भारतीय गाउँमा छ। त्यसैले उनी कहिलेकाहीँ 'आफू नेपाली हुँ कि भारतीय' भनेर अलमलिन्छन्। 'मसँग नागरिकता मात्र नेपाली छ, अरू सबै भारतकै हुँ,' उनले भने, 'अब तपाईं आफैं भन्नुस्, म भारतीय कि नेपाली?'

 बिकाउलाल दुई देशको नागरिक भएको डेढ दशकअघि भारतले कलकलवा तटबन्ध निर्माण गरेपछि हो। साढे २२ किलोमिटर लामो तटबन्धसँगै बिकाउलाल बसोबास गर्ने बाँके, होलियास्थित टेपरीगाउँ बर्सेनि डुबानमा पर्न थाल्यो। डुबान र कटानले थातथलो नै मेटियो। त्यसपछि उनी दक्षिणतिर भारतीय भूमिमा बसाइँ सरे। अहिले उनी तटबन्धले सुरक्षित बनाएको भारतीय गाउँमा बस्छन्। 'उता (नेपाल) तिर गाउँ उजाड बनेको देख्दा पीडा हुन्छ,' उनले भने, 'अर्काको देशमा बसाइँ सरेको सम्भि्कँदा मन झन् दुख्दो रहेछ।'

 सीमाक्षेत्रमा भारतद्वारा निर्मित कलकलवा तटबन्धले दक्षिणतिर धकेलिने बिकाउलाल एक्लो होइनन्, उनीजस्ता थुप्रैको जीवनलाई तटबन्धले 'भारतीय' बनाएको छ। तटबन्धकै कारण डेढ दशकमा करिब तीन सय घरधुरी भारतमा बसाइँ सरेका छन्। सीमा नाघेर आएका नेपालीलाई भारत सरकारले 'किसानबही खाता' दिएको छ जसका आधारमा उनीहरू भारतीय सेवासुविधा उपभोग गर्छन्।

 बिपेनकुमार सिंहका दाजुभाइ नेपालतिरै छन्। उनी पनि नेपाली नागरिक हुन्। तर, भारतीय गाउँमा उनको पक्की घर र पर्याप्त जग्गाजमिन छ। उनको विचारमा भारत आफैंले गैरकानुनी रूपमा तटबन्ध बनाएर विदेशी (नेपाली) को बोझ बोकिरहेको छ। 'भारतले बाँध नबनाइदिएको भए उतातिर हाम्रो भूमि नाश हुने थिएन, हामी यता आउने थिएनौं,' उनले भने, 'तर, बाँधले उठिबास लगाएपछि भारतकै ओत लाग्न आयौं।'

 उनका अनुसार सन् २००० मा कलकलवा तटबन्ध निर्माण भएलगत्तै पहिलो वर्ष डुबानले होलियाका डेढ सय घर विस्थापित भएर भारततिर आए। सुरुमा नेपाली स्थानीय विद्यालयमा आश्रय लिएर बसे। पछि भारत सरकारले नै बसोबास अनुमति दियो। २०७१ को बाढी तथा डुबानले थप डेढ सय घरपरिवारलाई भारतीय भूमिमा पुर्‍यायो। 'तटबन्धले बर्सेनि डुबान र कटान गर्न थालेपछि नेपालीलाई नेपालमै बस्ने ठाउँ रहेन,' उनले भने, 'त्यसपछि बाध्य भएर भारत पस्नुपर्‍यो।'

 भारत सरकारका कारण भारततिरै बसाइँ सर्न बाध्य भए पनि यहाँका नेपाली नेपाल सरकारले आफूहरुको पीडा नबुझेको गुनासो गर्छन्। तटबन्ध निर्माण भइरहेका बेला स्थानीयले विरोध गरे पनि नेपाल सरकार चुपचाप बसिदिँदा यस्तो अवस्था आएको उनीहरुको भनाइ छ। 'बाँच्नका लागि जन्मभूमि छोडेर अर्काको देशमा आउनुपर्‍यो तर हाम्रो देशको सरकार र प्रशासनलाई कुनै चिन्ता छैन,' ६७ वर्षीय कान्तप्रसाद मौर्यले भने, 'यतातिर डुबान र बाढीको समस्या नभए पनि माटोको मायाले पोलिरहन्छ।'

स्थानीयका अनुसार तटबन्ध निर्माण गर्नुअघि राप्तीनदी र डुडुवाखोलाले नेपाल–भारत दुवैतिर उत्तिकै क्षति पुर्‍याउँथ्यो। पानीको बहाब दक्षिणतिर बढ्ने हुनाले भारतीयलाई अझ बढी सताउँथ्यो। जसै तटबन्ध बन्यो, भारतीय त सुरक्षित भए तर नेपालतिर थेगिनसक्नु विनाश निम्तियो। 'तटबन्ध बनेपछि होलिया मात्र होइन, आधा दर्जन नेपाली गाउँ विस्थापित भएका छन्,' लक्ष्मणपुर बाँधपीडित संघर्ष समिति अध्यक्ष जगदीशबहादुर सिंहले भने, 'कोही भारत पसे, कोही नेपालभित्रै जंगल मासेर विस्थापित जीवन बिताइरहेका छन्।'

 तटबन्धले नेपालीको सामाजिक जीवन पनि निकै प्रभावित गर्‍यो। वषर्ौंदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको नेपाल–भारत सीमाक्षेत्रमा भारतीयले 'घरजग्गा डुब्ने घरमा छोरी दिँदैनौं' भन्न थाले। 'बिहेबारीका लागि पनि धेरै परिवार नेपाल छोडेर यता बसाइँ सरेका छन्,' बिपेनले भने, 'डुबान र कटानको समस्याले हामीलाई हुनसम्मको सास्ती दिएको छ।'

प्रकाशित: ४ श्रावण २०७३ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App