७ वैशाख २०८१ शुक्रबार
अन्य

कथा : मुनादिदी

एकाबिहानै गाउँमा ठूलै हल्लाखल्ला सुनियो । बाहिर निस्केर सुनेँ । अलिपरै हो जस्तो लाग्यो । छोरीहरू उठेका थिएनन् । श्रीमान् जागिरमा जानुभएको थियो । निकै ठूलो स्वरले कोही रोइरहेको थियो । कल्याङबल्याङले गर्दा निधो पाउन सकिनँ । गाउँमा ठूलै घटना घटेको शंका लाग्यो । यसो ढोका ढप्क्याएर घरमाथि बाटोमा आएँ । रुवाइ र हल्लाखल्ला मुनादिदीको घरतिरकै थियो । दलेदाइ हिजो मात्र सहरमा उपचार गरी आएका थिए । मैले दलेदाइ र मुनादिदीलाई साँझमा भेटेकी थिएँ।

मेरो मन मानेन । ढोका ढप्क्याएँ मात्रै । पाइला अघि बढाएँ । मुनादिदीको घर अलि एकान्तमै जस्तो छ । निकै पर माइली खत्रिनी आमैको घर छ, अलि माथि दुर्गे लामाको । 

मेरो मनले दुःखद् घटनाको कल्पना गरिसकेको थियो । अत्यन्त दर्दनाक दृश्य देखेँे मुनादिदीको आँगनमा । दलेदाइलाई आँगनको तुलसीको मठनेर सुताएका रैछन् । मुनादिदीकै पछ्यौराले ढाकेको रहेछ । मुनादिदी लडिबुडी गर्दै रोइरहेकी थिइन् । दुईवर्षे सानो छोरा मुनादिदी लडेकै गुन्द्रीमा खेलिरहेको थियो । ठूलो छोराको आँखामा कस्तो–कस्तो विषाद भरिएको थियो । दलेदाइ बितेको वास्तविकता बुझ्न मैले कसैलाई सोध्नुपर्ने आवश्यक थिएन । आँगनमा देखापर्न पनि मलाई अप्ठेरो लाग्यो । मन कताकता बाउँडिएर आयो । आपैmँ ढल्छु कि जस्तो भयो । वातावरण एकदमै कारुणिक थियो । १०–१२ जना गाउँले जम्मा भएका रहेछन् । गाउँले थपिने क्रम जारी थियो । गाउँलेको अनुहारमा एकतमासको भाव देखिएको थियो । गाउँमा कसैलाई गुमाउनुपर्दा अनुहार कस्तो देखिन्छ, त्यै देखिएको थियो । धेरै गाउँलेका आँखा रसाएका थिए । केहीमा भने रिसको आगो बलेको थियो । बोलेका थिएनन् तर मुर्मुरिएका थिए । 

मुनादिदीको आँखा सधैँ रसाएका हुन्थे । उमेरमै लोग्ने गुमाएको पीडाभन्दा पनि ‘लोग्नेको हत्यारा’को आरोपले उनको मन कोतरिरहेको हुन्थ्यो । मसँग भेट हुँदा उनी साह्रै विरक्तिएर कुरा गर्थिन् । खुलेआम भन्न नसके पनि केही गाउँलेका आँखामा उनी ‘हत्यारा’ नै ठहरिएकी थिइन् ।

रंगे खत्री च्याँठिएर बोल्यो, ‘यै मुने राँडको कैफियत छ । हिजै मात्र आएको दले । बेल्का मैले भेट्दा रोगै काटेको जस्तो अनुहार देख्याथेँ । सरसाउँदो मान्छे, कसरी राति नै मर्न सक्छ ? यसैले लोग्ने मारेकी हो । पुुलिस नबोला’र तिमेरु के हेरिबस्या ?’

धेरैजसो गाउँले गाउँमै मिलाउनुपर्ने पक्षमा थिए । विलासे बरुवाल विपक्षमा बोल्यो, ‘मान्छे सारो भएपछि गाउँलेलाई खबर गर्नुपर्दैन ? कसरी कालगतिले मरेको भन्नु ? पुलिस केस नगरी लास उठाउनु हुँदैन है ! नत्र गाउँले सबै सोहोरिएर जाउला जेलको हावा खान ।’

कसैले पनि यसै हो भन्न सकेनन् । मुखामुख गरिबसे सबै । तर माझघरे ठुल्दाइले भने, ‘दलेभाइ बिरामी थियो । बसबाट ओर्लेपछि हिँडाइको धपेडीले उसलाई व्यथाले च्यापेको हो । ज्यानको कुरामा कसैलाई दोस्नु हुँदैन ।’ 

रंगे खत्री चुप लागेन । ऊ अभैm रन्कियो, ‘मानिसको ज्यान जानु स्यानो कुरो हो ? मलाई मुने राँडमाथि पूरै शंका छ । रोगी लोग्नेलाई स्याहारेर बस्नुभन्दा सिध्याएर पोइल जान यसैले मारेकी हो ।’ माझघरे दाइले अभैm कडा कुरा गरेपछि रंगे खत्री लत्रियो । रंगेलाई मुखभरिको जवाफ दिन मलाई पनि मन लागेको थियो तर त्यो दुर्दान्त घटनाले मन छियाछिया भएको थियो । म बोल्न सकिनँ । खत्रिनी आमै मुनादिदीलाई सम्झाइरहेकी थिइन् । विदीर्ण मन लिएर म घर फर्किएँ ।
०००

बाआमाले प्यारो गरी बोलाउँदा मुना भएको उनको नाम, नागरिकतामा भने मनमाया खत्री छ । दुःखका अनगिन्ती छालको ठक्करबाट पनि विचलित नभएकी आइमाई । शान्त समुद्रजस्तै लाग्छिन् मुनादिदी । अनेकौँ हुन्डरीले पनि किञ्चित नहिल्लएकी पहाडजस्ती पनि लाग्छिन् । जस्तोसुकै दुःखमा पनि चट्टानझैँ उभिन सक्ने एक साहसी नारी हुन् मुनादिदी।
    
तीन वर्षभित्रै मुनादिदीले परिवारका चारजना सदस्यको किरिया गरिन् । लोग्नेअघि दुइटा देवर र ससुरा बिते । उनी त्यो घरमा भित्रिनुअघि नै सासू बितेकी थिइन् । लोग्ने नै बितेपछि त उनको रुमानी बैँसमा आँखा लगाउने ढाडेहरू बाटो–कुबाटो ढुक्थे र ढुकिरहेका छन् । ती ढाडे बिरालाबाट उनी छलिइन् । र, छलिँदै हिँड्नुपरेको छ उनलाई । अभैm पनि कामुक आँखा लगाउँछन् ढाडेहरू । 

पाँच कक्षासम्म सँगै गाउँकै स्कुलमा पढेका थियौँ, मुनादिदी र मैले । केटाकेटीदेखि नै मुनादिदी एकदमै भद्र थिइन् । मेरो परिवार हुनेखानेमै पथ्र्यो । मुनादिदीको भने ज्यालादारी नै गरेर पेट पाल्नुपर्ने अवस्था थियो । प्रशस्त जग्गा–जमिन र आम्दानीका अन्य स्रोत पनि भएकाले बुबाआमाले मलाई अर्को गाउँको स्कुलमा पढ्न पठाउनुभयो । गरिबीका कारण मुनादिदीको पढाइ कक्षा पाँचमै सीमित भयो । मैले पनि एसएलसी कटाउन सकिनँ । मेरो शैक्षिक योग्यता ‘दश कक्षा’ मात्रै भयो । संयोगै मान्नुपर्छ– हामी दुवैको बिहे माइती गाउँमै भयो । 

मुनादिदीको आँखा सधैँ रसाएका हुन्थे । उमेरमै लोग्ने गुमाएको पीडाभन्दा पनि ‘लोग्नेको हत्यारा’को आरोपले उनको मन कोतरिरहेको हुन्थ्यो । मसँग भेट हुँदा उनी साह्रै विरक्तिएर कुरा गर्थिन् । खुलेआम भन्न नसके पनि केही गाउँलेका आँखामा उनी ‘हत्यारा’ नै ठहरिएकी थिइन् ।
०००

घाम एक जुवामाथि आइसकेको थियो । म अलि हतारमा थिएँ । बेलुकासम्म मलाई जसरी पनि अदुवा रोप्नु थियो । बारी खनिदिने मान्छे खोजेकी थिएँ ।    

‘बैनी, कता हिँड्नु भो बिहानै ?’ माझघरे ठुल्दाइको प्रश्नले म झस्किएँ । पुलुक्क हेरेँ । म हिँडिरहेँ । हिँड्दै गर्दा मैले पनि छोटै उत्तर दिएँ, ‘मुनादिदीकोमा सानो एउटा काम छ दाइ ।’ 

ठुल्दाइ बाँसको घाँस झार्न दापसहितको खुकुरी कम्मरमा भिर्दै थिए । मसली भाउजू अलि तल पत्कर सोहोर्दै थिइन् । भाउजूले मलाई देखिनन् । खै, म बोलेकोचैँ सुनिन् कि ! मैले पनि भाउजूलाई बोलाइनँ । 

 म मुनादिदीकोमा पुगेँ । मुनादिदीलाई घरमा देखिनँ । आँगनको पर्खालमा उभिएर चारैतिर हेरेँ । कतै देखिनँ । पर्खालबाट झरेर घरवरिपरि हेरेँ । अँ हँ, कतै देखिनँ । म आँगनतिरै आएँ । 

म आँगनमा यताउता गर्दै थिएँ । मैले देखेँ– आँगनको एक कुनामा दुब्ली एउटी कुकुर्नी सुतेकी थिई । चारवटा छाउरा आमाको लाम्टो चुसिरहेका थिए । माउका दूधका लाम्टा सुकेका थिए । तर छाउरा लाम्टा तान्दै थिए । माउ कुकुर्नी आफ्ना छाउरालाई लाम्टा चुस्न दिइरहेकी थिई । लाम्टो तान्न छाड्दा छाउरा ‘क्याउँक्याउँ’ गर्थे । सायद माउको रसहीन लाम्टोबाट दूध आएको थिएन । ‘कठै, सन्तानको माया, आपूmलाई सुकाएर सन्तानको पेट भर्नुपर्ने ! दूधै नआएपछि त छाउरा छाडेर भाग्नु नि !’ मेरो मन गहिरिएर कता–कता पुग्यो ।

के के मनमा सोच्दै थिएँ म । परबाट एउटा डाँगो कुकुर आयो । त्यसले गोठको खाँबोमै खुट्टा उचालेर तुक्र्यायो । लम्पसार परेकी कुकुर्नीलाई सुँघ्यो । कुकुर्नीले नरुचाएजस्तो आवाज निकाली । ‘यत्रा सन्तान जन्माउन लगाएर तँ डाँगो लखर्लखर हिँडिरहन्छस् । यी सन्तान पाल्ने तेरो दायित्व छैन ? बुंगा डाँगो !’ कुकुर्नीले यसै भनेर गाली गरी कि क्या हो, डाँगो त्यत्तिकै पुच्छर लुकाएर हिँड्यो ।

छाउराको ‘क्याउँक्याउँ’ आवाजले एक किसिमको झिजो ल्याएको थियो, वातावरणमा । मलाई त्यहाँ एक्लै बसिरहन पनि गाह्रो भएको थियो । छाउरा लगातार माउको लाम्टो चुसेको चुस्यै थिए । माउ हल न चल भएर सुतेकी थिई । सायद सारा जीवजीवात्का आमाको नियति नै यस्तै हो कि ! जति चुसिए पनि चुसइिरहनुपर्ने । प्रतिवाद गर्न मन नलाग्ने वा लागे पनि गर्न नपाइने । 

निकैबेर पर्खें मैले, मुनादिदी आइनन् । चोलोभित्र छिराएर छातीमा राखेको मोबाइल झिकेँ र मुनादिदीलाई फोन गरेँ । मोबाइल उनको घरभित्रै बज्यो । ‘दिदी टाढाचैँ गएकी छैनन् । फोन घरमै छ । आइहाल्छिन् होली नि,’ यस्तै सोचेँ । गोठतिर हेरेँ, ५–६ वटा बाख्रा रहेछन् । टाट्नामा अलिअलि घाँस बाँकी थियो । बाख्रा उघ्राइरहेका थिए ।

माथि बाटोमा फेरि माझघरे ठुल्दाइ देखिए । उनी बाँसको घाँसको भारी लतार्दै हिँडेका थिए । पछिपछि भाउजू ढोक्सेमा आफूभन्दा दोब्बर अग्लो पत्करको भारी कसेर हिँडेकी थिइन् । ठुल्दाइ उभिए। भाउजू पनि उभिइन् । ठुल्दाइ फिस्स हाँसे मात्र । भाउजूले मेसो मिलाएर बोलिन्, ‘नानी, तपाईं त अघि नै आए जस्तो लागेको थियो । मुनाबैनी घरमा छैनन् कि क्या हो ?’

मैले उत्तर दिएँ, ‘निकैबेर भइसक्यो भाउजू । खै दिदी कता गइन् गइन् । अब फर्कनुपर्याे भनेर ।’
उनीहरू हिँडे । म असमञ्जसमा परेँ । हिँड्ने तर्खरमा थिएँ, परबाट मुनादिदी आइन् । अघिअघि दुई छोरा थिए । मुनादिदी छोरासँग गुनगुन गरिरहेकी थिइन् । म पर्खालमै बसेँ । मुनादिदी परैबाट बोलिन्, ‘नानीलाई झुक्याएजस्तो भयो है ! सबैले मकै छरे । ढिलो भैसक्यो । माझघरे दाइकोमा गोरु भन्न गएकी थिएँ, भेटै भएन । बिहानै दुवैजना कता गएछन् कुन्नि ! मोबाइल पनि बोकिनछु । फोन गर्न त हुन्थ्यो ।’
मैले ठट्टा गर्दै भनेँ, ‘हुस्सु बूढीमाउ ! फोनचैँ भान्सामा भात पकाइरा’छ ।’

मुनादिदीले भनिन्, ‘हो नानी, म ज्यादै हुस्सु भइसकेँ । एउटा कुरा सम्झे पो !’ 

मैले भनेँ, ‘मैले डायल गर्दा घरभित्रै घन्टी बजिरा’को छ । दाजु–भाउजू यतैबाट घाँस र पतकर लिएर घर गएँ । तपाईं तलबाट आउनु भएछ । उनीहरू माथ्लो बाटो गए ।’

मुनादिदीले भनिन्, ‘ए, अनि के भेटिन्थ्यो त ? शुद्धि पनि के भा’को हो नानी ! केही कुराको याद हुन छाड्यो ।’ 

मुनादिदीको अनुहारमा गहिरिएर हेँ मैले । ज्यान सुकेर त्यान्द्रो भएको थियो । अनुहार फुंग उडेको थियो । मुनादिदीले ढोकामा लगाएको ताल्चा खोल्दै भनिन्, ‘नानी खाटमा बस्नुस् न । म अदुवा ल्याउँछु । खनेर थुपारेको मात्रै छु । केलाउन पनि भ्याएकी छुइनँ ।’

म खाटमा बसेँ । मुनादिदीले एउटा डालोमा अदुवा ल्याइन् । दलानमै खन्याइन् । अलिअलि माटो झारेर बीउको अदुवा प्लास्टिकमा हालिन् । मुनादिदीको हात र मुख एकैचोटि चल्यो । उनले भनिन्, ‘खै बैनी, यो तालले त कसरी यहाँ बस्नु ? सहरतिर गएर भाँडै माझौं कि ! दुइटा बच्चा त पाल्न सक्छु होला नि !’

मैले भने, ‘यस्तै हो दिदी । उता पनि गरिखान सजिलो छैन ।’

मुनादिदीको अनुहारमा एक्कासि घना बादल पोतियो । पानी झर्ला झर्लाजस्तो देखियो । कुरा गर्न पनि निकै सकस भएको थियो । लामो सुस्केरा झिकेर मुनादिदी बोलिन्, ‘के गर्नु बैनी, तपाईंका त दुईजना हुनुहुन्छ । म त एक्लै छु । मन दरो पारेर बसेकी छु सीता बैनी ।’ 

मुनादिदी निकै भावुक बनिन् । एकछिनपछि नै समालिन् आपूmलाई र फेरि भनिन्, ‘बैनी, म दरो मन बनाएर बसेँ । कस्ताकस्ता दुःखमा आपूmलाई सम्हालेँ । बिर्सेँ । तर आजकल केले केले मेरो मन झस्काइरहन्छ । रुन मन लाग्छ ।’ 

मैले बिचैमा रोकेँ, ‘दिदी, बितिसकेको कुरा तपाईं किन निकाल्दै हुनुहुन्छ ? गएको मान्छेलाई घरिघरि सम्झेर ज्यान मात्रै सुकाउनु छ । भो म जान्छु दिदी । अदुवाको पैसा... ?’

मुनादिदी फेरि भक्कानिइन्, ‘अदुवाको पैसाको कुरा नगर्नु न नानी । त्यति जाबो अदुवाको तपाईंसँग म पैसा लिन्छु त ? एकछिन बस्नु न बैनी । आज म तपाईंसामु पोखिएर हलुंगी हुन्छु ।’ 

मलाई त्यहाँ बसिरहन निकै गाह्रो भयो । म प्लास्टिकको थैलोमा अदुवा बोकेर उभिइरहेँ । मुनादिदीले तानेरै मलाई बसाइन् । भनिन्, ‘नानी, आज मेरा कुरा सुनेर जानुस् । मेरो मनमा गाँठो परेर बसेको छ । आज म तपाईंसामु गाँठो फुकाउँछु । खिल पल्टेको छ छातीमा, खिल निकालेर म हलुको हुन चाहन्छु । रंगे खत्रीले मलाई नै लोग्नेको हत्यारा ठानेको छ । अभैm गाउँभरि हल्ला गरेर हिँडिरहेको छ । म हत्यारा हैन बैनी । सारा सम्पत्ति सकेर लोग्ने बचाएकी थिएँ । लोग्ने त गुमाएँ गुमाएँ, लोग्ने हत्याको आरोप खेपिरहनुपरेको छ ।’ 

मुनादिदीले तरक्क आँसु खसालिन् । मलाई तानेर राखिन् । मलाई बस्न करै लाग्यो । म खाटमै बसेँ । छोराहरू बारीको तल्लो पाटोमा आफ्नै दुनियाँमा खेलिरहेका थिए ।

मुनादिदी बर्सिइन्, ‘उनी काठमाडौंबाट आएको थाह पाएपछि केटाकेटीलाई घरमा एक्लै छाडेर म तलसम्म लिन गएँ । तर खोलाको बगरमा उनलाई भेटेँ । रोगाएर गएका थिए । रोग त सहरतिरै छोडेर आएछन् जस्तो लाग्यो । अनुहार हँसिलो देखेँ । कलकलाउँदा पो देखिए । कम्ता खुसी भइनँ म । मैले सोधिहालेँ, ‘कस्तो छ तपाईंलाई ?’ उनी मुसुक्क हाँसे । उनी हाँसेको देखेर मेरो मन पनि हाँस्यो ।’ 

मैले सोधेँ, ‘अनि के भएको रैछ त तपाईंलाई ?’ उनले भने, ‘टिबी रोग लागेको रे क्या ! डराउनुपर्दैन रे । औषधि पनि किन्नुपर्दैन रे । स्वास्थ्य चौकीमा त्यसै पाइन्छ रे ।’ म झल्याँस्स भएँ । मेरा देवरहरू र ससुरा पनि त्यै रोगले गएका त हैनन? 

एकछिन चौतारामा थकाइ मारे उनले । श्रीमान्को मुख देखुँलाजस्तो लागेको थिएन । लामो समय रोगले थलिएका लोग्ने, उज्यालो मुख लगाएर उकालोमा पनि ठमठम्ती हिँडेर आएको देख्दा कुन श्रीमतीको मन खुसी नहोला ! त्यति खुसी त म कैले पनि भएकी थिइनँ । झोला मैले बोकेँ । झोला निकै गह्रौँ थियो । हामी घर–व्यवहारका कुरा गर्दै उकालो चढ्यौँ । घर आइपुग्दा साँभैm प¥यो । । मेरो मन फुरुंग भएको थियो, सिमलकै भुवाजस्तो । गोठधन्दा सकेर भात पकाएँ मैले ।’ 
ठुल्ठुला थोप्ला पानी परेभैmँ उनको आँखाबाट आँसु झर्न थाल्यो । म बोल्न सकिनँ । मुनादिदी नै बोलिन्, ‘स्याउ र अंगुर ल्याएका रहेछन् । ठूलो छोरालाई आफ्नै हातले दिए । कापीकलम पनि दिए । सानु छोरो कापी समातेर ‘आमा, क क’ भन्न थाल्यो । मेरै काखमा थियो सानु । उनले चुप्प म्वाइँ खाए ।’                 
मैले सोधेँ, ‘अनि त्यसपछि ?

उनले आँखा निस्तेज पारेर भनिन्, ‘त्यो रात हामी चारैजना यै खाटमा सुतेका थियौँ । छोराहरू भित्तापट्टि सुतेका थिए ।’ बाँसका खाँबा गाडेर बनाएको चौडा खाट देखाइन् उनले ।

मुनादिदीले आज भयंकर रहस्यका कुरा खोल्दै छन् । सुनिहाल्न मन लाग्यो पनि । सुनिहाल्न मन लागेन पनि । फेरि आँसुमै बोलिन् मुनादिदी, ‘नानी, मैले आजसम्म कसैलाई भनेकी थिइनँ । आज म तपाईंलाई भन्छु । यो कुरा सरलाई पनि नभन्नु है !’

मैले भनेँ, ‘हुन्छ दिदी । किन भन्नु र ? म कसैलाई भन्दिनँ ।’

मुनादिदी बोलिन्, ‘अनि उनले मलाई नजिक ताने । मेरो छातीमा आफ्नो छाती बेस्मारी कसे । लामो सास फेरे । अनि भने, ‘मुना, आज तँ नाइँ नभन् ल !’ मैले भनेँ, ‘रोगी मान्छे । थकाइ लागेको होला । खुरुक्क नसुतेर ? आज सुत्नु क्या । भोलि पनि म भैहाल्छु नि !’ 

धेरै भएको थियो सँगै नभएको । मलाई पनि उनले त्यही कुरा फेरि भनिदिए हुन्थ्यो जस्तो लागेको थियो । अभैm नजिक–नजिक हुन पाए हुन्थ्यो जस्तो लागेको थियो । मन पनि चौचौ भयो मेरो । मुखलेचैँ ‘हुँदैन हुँदैन’ भनिरहेँ ।’

मलाई ज्यादै सकस भयो । मैले सकसमै सोधेँ, ‘अनि त्यसपछि ?’

उनको गला गाँठो परेको भयो । बल्लबल्ल बोलिन्, ‘म मान्दै मानिनँ । मैले बिहानको भाका राखेँ । उनी ठुस्किएर अर्कैतिर फर्केर सुते । म पनि थकाइले गलेकी थिएँ । छिट्टै निदाएँछु । बिहान चारै बजे ब्युँझेछु म । ब्युँझँदा उनको टाउको मेरो छातीमा टाँसिरहेको थियो । उनको सास बढेको थियो– स्याँस्याँ । मैले उनलाई हटाउन खोजेँ । तर उनले मान्दै मानेनन् । अचानक मेरै छातीमा हुलुक्क रगत छादे । ‘मुना !’ भनेर उनी भैँमा लत्रिए । उनी हामीलाई छाडेर गैसकेछन् । बिहान गाउँले जम्मा भए । केही मलाई सम्झाउँदै थिए । एक–दुई जना खासखास खुसखुस गर्दै थिए । ‘निको भएर आएको मान्छे कसरी मर्छ ? मलाई घरकै मान्छेमाथि शंका लागेको छ ।’ भनेको सुनेँ । तर भन्ने मान्छे खुट्याउन सकिनँ । लास उठाउन पनि दिएनन् । धन्न बैनी, माझघरे ठुल्दाइले त ‘मुनालाई हैन, म अरू ककस्लाई जेल पार्दो रहेछु’ भने । मेरो चोलोमा रगत लत्पतिएको थियो । त्यै देखेर मैमाथि शंका गरेका थिए होलान् । बैनी ! त्यो रात म उनीबाट टाढा रहेकी भए, अन्तै सुत्न गएकी भए तपाईंका दलेदाइ हामीसँगै हुन्थे होलान् । सम्झँदा मनै पिरो भएर आउँछ बैनी !’

मुनादिदीले यो रहस्य खोलेपछि म त्यहाँ बस्नै सकिनँ । अदुवाको बीउ पनि बिर्सेर हिँड्न लागेछु । मुनादिदीले नै सम्झाइन्, ‘बैनी, खै त अदुवाको बीउ लगेको ? तपाईंले सुन्न सक्नुभएन । मैले त भोगेर आएँ । यस्तै हो सीता बैनी, अजम्बरी कोही छैन । उनी नभए पनि सँगै भएको सम्झेर म सजिलै जीवन बिताइरहेकी छु । बिताउन सक्छु । तर हत्याको आरोपले मलाई सधैँभरि पोलिरहन्छ बैनी ! यी गाउँलेलाई म कसरी बितेको कारण बताऊँ ?’ 

मैले उनको हातबाट अदुवाको बीउ समातेँ । अनि बाटो लागेँ । अलि माथि पुगेपछि हेरेँ । मुनादिदी सानो छोरालाई पछ्यौराले ढाडमा अड्याएर आँगन बढार्न थालिछन् । मनमनै भनेँ, ‘मुनादिदी, तिमी पहाड हौ । तिमीलाई बतासले हल्लाउन सक्दैन । पख, मुनादिदी ! म तिमीलाई लोग्ने हत्याको आरोपबाट मुक्त गराएरै छाड्छु ।’ 

प्रकाशित: १३ जेष्ठ २०७४ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App