८ वैशाख २०८१ शनिबार
अन्य

तीन कविता : देश किन चलाख हुँदैन बा ?

प्रकाश रम्घाली

देश किन चलाख हुँदैन बा ?
 
दम दिएर चलाख बनाएको घडीझैँ
हजुर मात्र किन
यति चलाख हुनुहुन्छ बा ?
चलाख हुनुपर्ने देश
किन चलाख हुँदैन ?
चलाख हुनुपर्ने हामीहरू
किन चलाख हुँदैनौँ ?
हजुरचाहिँ
घडीको सुईहरूझैँ सक्रिय बनाउनुहुन्छ हात
र, छाम्नुहुन्छ 
घामले ओछ्यान नछाड्दै 
प्रत्येक बिरामी बस्तीको निधार 
घडीको फिताझैँ ओछ्याउनुहुन्छ छाती
र, पुर्याउनुहुन्छ 
पृथ्वीमा रातले धावा नबोल्दै 
हजारौँ मान्छेलाई सुरक्षित गन्तव्य ।

बा !
के दम दिन नजानेर हो देश चलाख नभएको ?
कि देशको हातमा हजुरको जस्तो घडी नभएर हो ?
किन बा
हरेक दिन आमाको ओठबाट 
बसाइँ सर्दै जान्छन् मुस्कानहरू ?
झोलामा राहदानी बोकेर काठमाडौंतिर
किन धाइरहन्छ अचेल सगरमाथा ?
र, चिउँडोमा हात राखेर देउरालीछेउ
किन टोलाइबस्छ बूढो पिपलको रूख ?
भन्नुस् न बा 
हजुर र हजुरले बाँधेको घडीजस्तै चलाख हुन
अब हामीले कस्तो खाले सपना देखेमा
उल्टाउनुपर्छ देशको सिरानी ?
र, कस्तो खाले सपना देखेमा 
निकाल्नुपर्छ
सिरानीमुनिको खुकुरी ?
००० 
 
बायाँ

सर्टको बायाँपट्टि नै राखेर
किन सिउँछन् दमैदाइ रित्तो गोजी ?
ओथारो बसेको कुखुराको पोथीझैँ
किन कचकच गरिरहन्छ छातीको बायाँबाट मुटु ?
कम्मरको बायाँपट्टि नै किन भिरिन्छ सिरुपाते खुकुरी ?
र, बायाँबाटै किन खटाइन्छ युद्धमा निरीह सिपाही ?
सूर्यको बायाँबाट
घुम्दैन पृथ्वी ?
विवाह मण्डपमा 
बायाँतिर बस्दैन बेहुलो
बेहुलीले बायाँतर्फ 
भिर्दिन छड्के तिलहरी
दराजको बायाँतिरै किन झुन्डिन्छ आमाको फरिया ?
दिदीकै ओठको बायाँपट्टि किन अँस्ताउछ कालो कोठी ?
बैनीकै बायाँपट्टिको हातले किन चल्दैन जोगीलाई भीक्षा ?
कसैसँग छ भने जवाफ ?
भन्नुस्
किन राम्रोचाहिँ दाहिनातर्फ मात्रै हुन्छ ? 
०००

बाटो
नछोडी गए 
कहीँ न कहीँ त 
अवश्य पुर्याउँछ बाबु यो बाटोले 
यही बाटो हो
जुन बाटो तिम्रा बाले वर्षौंअघि नहिँडिदिँदा
फक्रिन पाएन आमाको ओठमा खुसीको फूल
फेर्न पाएन पुरानो घरको जिब्रोले छानोको स्वाद
टेक्न पाएन दाजुको पाइतलाले स्कुलको आँगन
र, सजिन पाएन दिदीको सिउँदोमा एक धर्सो सिन्दुर ।

पैलेपैले यो बाटो हिँड्न
त्यति सजिलो थिएन रे बाबु 
छोपिदिन्थे आँखा बादलले
उडाएर लैजान्थ्यो घाम हुरीले
पखालेर लैजान्थ्यो सपना झरीले
हेरिदिएछन् तिम्रा बाले 
हेर्नै नहुने आकाश
टेकिदिइछन् तिम्री आमाले
टेक्नै नहुने धर्ती
छोइदिएछन् तिम्रा दाजुले
छुनै नहुने ईश्वर
गाइदिइछन् तिम्री दिदीले
गाउनै नहुने गीत
बस्, यत्ति हो
तिमीले बिराएको इतिहास !

ढिला नगर बाबु !
अब आफैँ तयार छ
तिमीलाई हिँडाउन बाटो 
तिमीले हिँडिदिए
फेरिने छ बाटोको चोला
तिमीले हेरिदिए
झन् चौडा हुनेछ आकाश
तिमीले टेकिदिए
अलि कम हुनेछ माटोको पीडा
तिमीले छोइदिए
पवित्र हुनेछ ईश्वर
तिमीले गाइदिए
फर्कनेछ पृथ्वीको लय
बरु झोलामा छुट्यो कि पार्सपोर्ट ?
जुन ठाउँमा जाँदै छौ तिमी
त्यहाँ तिम्रो जात होइन
श्रम बिक्छ बाबु !

प्रकाशित: १३ जेष्ठ २०७४ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App