६ वैशाख २०८१ बिहीबार
अन्य

‘नेपालको परिचय दिने पुस्तक अभाव छ’

लेखक तथा पत्रकार मोहन मैनाली समाज, वातावरण तथा मिडियालगायत विषयमा कलम चलाउन रुचाउँछन् । अध्ययनशील पत्रकारका रुपमा चिनिने मैनालीको अर्काे परिचय वृत्तचित्र निर्माता पनि हो । उनले निर्माण गरेको वृत्तचित्र ‘द लिभिङ अफ जोगिमारा’ निकै चर्चित छ । यात्रा गर्न रुचाउने उनले यात्राका क्रममा देखे–भोगेका घटना तथा परिदृश्यलाई समेटेर पुस्तक समेत तयार पारेका छन् । ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ उनका यात्रामा आधारित र समाजको वास्तविकता देखाउने पुस्तक हुन् । ‘खोज पत्रकारिता, के, किन र कसरी’ पुस्तक लेखेका उनले पत्रकारितासम्बन्धी तालिम पनि दिने गर्छन् । हाल उनी साउथ एसिया चेक अनलाइनमा सम्पादक समेत रहेका मैनालीसँग पुस्तकबारे गरिएको कुराकानी :

तपाईंको हातमा अहिले कुन पुस्तक छ ?
टोनी हेगनद्वारा लिखित विकेन्द्रीकरण र विकासको नेपाली अनुवाद पढ्दै छु । वसन्त थापाले अनुवाद गरेको यो पुस्तक वर्तमान नेपालका लागि सान्दर्भिक छ । नेपालमा विकासको पहिलो खाका कोर्ने व्यक्तिका रुपमा चिनिने लेखक हेगनले पुस्तक लेख्ने क्रममा निरन्तर नेपालसँग सम्पर्कमा रहेर लेखेको देखिन्छ । पुस्तकमा जनतालाई नै सशक्त बनाउनुपर्छ भन्ने धारणा देखिन्छ । त्यसैले पनि यो वर्तमान अवस्थामा सान्दर्भिक देखिन्छ ।  

यसअघि कुन पुस्तक पढ्नुभएको थियो ?
हरिहर विरहीको ‘आगो निभेको छैन’ पढेको थिएँ । 

मन पर्याे कि परेन ? किन ?
मन पर्याे । पुस्तकमा नेपाली कांग्रेसका बारेमा केही नयाँ कुरा जान्न पाइन्छ । नेपाली कांग्रेसले तत्कालीन अवस्थामा गरेको संघर्षका बारेमा थप जानकारी प्राप्त गर्न चाहनेका लागि पुस्तक उपयुक्त छ । पुस्तकले गैरकांग्रेसीहरूले कांग्रेसका विषयमा गर्ने आलोचनालाई पनि सही हो भन्ने ढंगले देखाउन खोजेको छ ।

अब के पढ्ने योजना छ ?
कृष्णप्रसाद सिग्द्यालको ‘नेपाल, छिमेक र विश्व’ पढ्ने तयारीमा छु । यो पुस्तकबाट नेपालको परराष्ट्रनीतिबारे महŒवपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरेको छु । 

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ ?
हामीलाई नेपालको बारेमा बुझाउने पुस्तक लेखियोस् भन्ने मेरो अपेक्षा हो । साँच्चिकै नेपालको परिचय दिने किसिमका पुस्तकको अभाव छ । त्यस्ता पुस्तक लेखिएमा त्यसले नेपाल बुझाउन सहयोग गर्छ भन्ने लाग्छ । नेपालको भूगोल, जातजाति, भाषा, संस्कृति, यहाँका प्राकृतिक स्रोत–साधन लगायत विविध विषय समेटिएका पुस्तक लेखिनुपर्छ । म आफैँले केही पुस्तक लेखेको छु, जस्तो उपल्लो थलो र मान्ठा डराएको जुगमा मैले सकेसम्म आफूले देखे–भोगेका कुरा लेख्ने प्रयास गरेको छु । नेपालका हरेक पक्षलाई समेटेर लेखिएका पुस्तकको खाँचो देखिन्छ ।
 
पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक कुन हो ? किन ?
मन परेका पुस्तक धेरै नै छन्, तर सानै उमेरमा पढेको ‘रने उपन्यास’ निकै मन परेको पुस्तक हो । ग्रामीण परिवेशको कथावस्तु समेटिएको उक्त उपन्यासमा एउटै मान्छेले मात्र चाहेमा पनि धेरै गर्न सक्छ भन्ने कुरा देखाउन खोजिएको छ । ‘रने’ मैले पहिलोपटक पढेको उपन्यास हो । साथीभाइले त्यो उपन्यास अहिले पनि दोहो¥याएर पढ्न आग्रह गर्छन् । तर मलाई यसको पुरानै स्वादले छुट्टै आनन्द महसुस गराउँछ । त्यसैले त्यसलाई दोहो¥याएर पढ्न चाहन्न । 

तपाईंको विचारमा नपढी नहुने पुस्तक कुन हो ? किन ?
त्यस्ता धेरै पुस्तक छन्, जसलाई पढ्दा रामै्र हुन्छ । जस्तो डा. तीर्थबहादुर श्रेष्ठको ‘नेपाल नखुलेका पाटाहरू’, फ्रेड्रिक एच गेजको ‘रिजनलिजम एन्ड नेसनल युनिटी इन नेपाल’  तथा डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ पढ्नैपर्ने पुस्तकमध्ये पर्छन् । 
डा. श्रेष्ठको पुस्तक नेपाल नखुलेका पाटामा नेपालको जैविक विविधता र यसलाई कसरी उपभोग गर्न सकिन्त भन्ने कुरालाई राम्रोसँग वर्णन गरिएको छ । त्यस्तै, गेजको पुस्तकमा नेपालमा मधेसीमाथिको विभेद र समाधानका उपायबारे उल्लेख गरिएको छ । विष्टको पुस्तकले नेपालमा को–को बस्छाँै भन्ने चित्र प्रस्तुत गरेको छ । तथापि यो आफैँमा पूर्ण छैन। 

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएको होला ?
हामी भर्खर लेख्न सिक्दै छाँै । हामी प्राकृतिक स्रोत र साधनका हिसाबले अगाडि छौँ, यो प्रकृतिको देन हो । तर, लेखन मानिसको उपज हो । जुन कुरामा हामी पछाडि छाँै । हाम्रा प्रकाशन उद्योग पनि भर्खर स्थापित हुने कोसिस गर्दै छन् । अर्काे कुरा नेपाली साहित्य पढेनौँ भने संसारभरको साहित्यिक स्वाद लिन सक्दैनौ भन्ने मान्यता पनि स्थापित गर्न सकेका छैनाँै । यसले गर्दा नेपाली लेखकका पुस्तक विदेशमा नपढिएका हुन् । 

पढ्न मन लागेर पनि नपाएको पुस्तक ?
सूचना विभागले धेरै पहिले निकालेको ‘नेपाल मेचीदेखि महाकालीसम्म’ पुस्तक पढ्न मन लागेर पनि पढ्न पाएको छैन । त्यतिबेला उक्त पुस्तक दरबारले अनुसन्धान गरेर निकालेको जनाइन्छ । त्यो पुस्तक पढ्न पाएमा त्यतिबेलाको नेपाल बुझ्न सजिलो हुन्थ्यो । तर, धेरै सुनेर पनि पढ्न नपाएको पुस्तक हो त्यो । पञ्चायती व्यवस्थाकै बेलामा प्रकाशित उक्त पुस्तकमा त्यतिबेलाको नेपालका बारेमा महŒवपूर्ण जानकारी रहेको छ भन्ने सुनेको छु । तर, कतै पुस्तकालयमा पनि फेला पार्न सकिरहेको छैन । 

घरमा कतिवटा पुस्तक छन् ?
त्यस्तै एक हजार एक सय जति छन् कि ? 
प्रस्तुति : वसन्त खड्का

प्रकाशित: १३ जेष्ठ २०७४ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App