कल्पनाशील कला

शनिबार, १३ जेठ २०७४, १२ : ५९ चाँदनी हमाल

प्रकृतिलाई दुरुस्त उतार्नेबाहेक अरु उपाय हामीसँग छैन– कलाकार राजन काफ्लेको अनुभव छ । उनका अनुसार कलामा प्रकृतिकोे प्रभाव, विस्तार र निरन्तरता खोज्न पनि सहज छैन ।

ढुंगे युगमा छँदै मानिसले ओढार र ठूला चट्टानमा चित्रकला तथा मूर्तिकला सुरु गरेको कलाविद् उल्लेख गर्छन् । ‘त्यतिबेलाका प्रायः चित्र जंगली जनावरका थिए,’ कला पारखी रविन्द्र पुरी थप्छन्, ‘नेपाल उपत्यकामा भने किरातकाल, लिच्छवीकाल, मल्लकाल हुँदै आधुनिक चित्रमा प्रकृति कोरिन थाल्यो ।’ 

नेपालको दाङ क्षेत्रमा पाषाण कलाका चित्रको अवशेष अझै रहेको उनले औँल्याए । राजधानी उपत्यकाभन्दा पर लुम्बिनी, नवलपरासी र कपिलवस्तु क्षेत्रमा ईशापूर्व १०१५ अघि नै कलाकारिताको अवशेष भेटिएको पुरी बताउँछन् । किरातकालको प्रत्यक्ष उदाहरणमा राजधानीको विरुपाक्ष र किरातेश्वर महादेवको मूर्ति रहेको उनको भनाइ छ । लिच्छवी कालको सातौँ शताब्दीमा बनेको सबैभन्दा पुरानो बुढानिलकण्ठको मूर्ति हो । 

पाँचौँ शताब्दीमै बनेको बौद्ध गुम्बा र उपत्यका एउटा ताल रहँदै बनेको स्वयम्भूनाथको मन्दिर ऐतिहासिक नेपाली कला बोल्ने पुरी सुनाउँछन् । नवौँ शताब्दीमै कौटिल्यको अर्थशास्त्रमा रंगीन नेपाली राडीपाखीको उल्लेख गरिएको पाइन्छ । चित्रकलाको इतिहासमा भने नेवारी पौभाचित्र मौलिक कला हो । ११औँ शताब्दी अघि अमिताभ नाम गरेका कलाकारले बनाएको नेपाली मौलिक थांका र ११औँ शताब्दीको मध्यतिर बनेको अर्को थांका अमेरिकाको काउन्टी म्युजियममा अझै सुरक्षित छ । राजधानीस्थित राष्ट्रिय अभिलेखालयमा १२औँ शताब्दीमा काठमा कोरिएका चार थान चित्र छन् । भित्तेचित्रको हकमा भने भक्तपुर तलेजु भवानीको मन्दिरका भित्तामा कोरिएका चित्र एउटा सिंगो इतिहास हो । 

पौभाचित्र जसमा नेपाली समाजको प्रकृति समेटिएको हुन्छ । ‘त्यो नेपालको मौलिक चित्रकला हो,’ इतिहासविद् सत्यमोहन जोशी भन्छन्, ‘नेवारको बुढापास्नी संस्कार तीनपटक भएपछि पौभा लेखिन्थ्यो ।’ शैव र बुद्ध परम्परामा पौभाचित्रमार्फत कथा चित्रण गर्ने चलन रहेको उनले जनाए । चौथो शताब्दीतिरै चावेलको एक शिलालेखमा पौभाको सन्दर्भ उल्लेख भएको जोशीले दर्शाए । १४औँ र १५औँ शताब्दीमा भने नेपालको पौभाले आफ्नो पहिचान बनाउन सफल भएको थियो । आधुनिक चित्रकलाको इतिहास भने राणाकालमै सुरु भएको दाबी जोशी गर्छन् । जब चन्द्रमान मास्केसहितका कलाकारले कोलकातामा चित्रकला सिकेर अनि पढेर आए, त्यसपछि यहाँ आधुनिक धारका चित्र बन्न थाले । जोशीका अनुसार अमूर्तचित्र भने लैनसिंह वांग्देलको पालामा विकास भएको थियो ।

कलाका विभिन्न विधा छन्– परम्परागत कला, लोक कला, आधुनिक कला, उत्तरआधुनिक कला र यथार्थवादी कला । परम्परागत कलाभित्र पौभा कला, थांका र भित्तेचित्र पर्छन् । लोककला स्थानीय लोकजीवनमा आधारित कला हो । मिथिला, अवधि, थारुलगायत जनजातिका मौलिक परम्परासँग जोडिएको हुन्छ । यिनैका नामबाट मिथिला कला, अवधी कला, थारु कला भनेर चिनिने कलाविद् बताउँछन् । आधुनिक कलामा भने अमूर्तकला, अवधारणगत कला तथा पम्परागत कलामा थोरै आधुनिकता जोडेर कोरिने कला आदि पर्ने पुराना कलाकार किरण मानन्धर बताउँछन् । घरमै सिकेर कलाकार बनेका मानन्धर परम्परागत र प्राकृतिक कला क्यानभासमा उतार्न मन पराउँछन् । तर उनका छोरा सागर मानन्धर भने आधुनिक कला कोर्छन् । परफर्मेन्स कला, भिडियो र इन्स्टालेसन कला भने उत्तर आधुनिक कलाका रूप भएको कलाकार देवेन्द्र थुम्केली बताउँछन् । यसमा पनि प्रकृतिका विषयवस्तु कलात्मक रूपमा देखाउन सकिने उनको भनाइ छ । 

यथार्थवादी कलाअन्तर्गत प्रकृति कला हो । ‘प्रकृतिमा जे छ, जस्तो छ त्यसलाई त्यही रूपमा ल्यान्डस्केप साइजमा निकाल्नु प्रकृति कला हो,’ कलाकार ज्योति बिकले भने, ‘यसमा देखिने प्रकृतिमा प्रकाश, छाया, आकाश, पानी र प्रकृतिका रंगको समायोजन मुख्य हुन्छ ।’ उनले बनाएका हिमालको चित्रमा देखिने सुनौलो घामको किरण, हिउँको सेतो रंग, पहाडको काला पत्थर, नीलो आकाश र परिपरिका घुर्मैलो कुहिरोसँगै स्थानीयका प्रतीक प्रस्ट देखिन्छन् ।

उतिबेला सन् १८५० मा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरे । त्यो बेला कलाकार भाजुमान चित्रकारलाई पश्चिमा कला सिकाउन लगेका थिए । जुन कुरा कला समीक्षक रमेश खनालले लेखेको इतिहासको कालखण्डमा राजमानसिंह चित्रकार र कला मन्थन पुस्तकमा उल्लेख छ ।
जसअनुसार राणाकालमै बाघ, हात्तीजस्ता भीमकाय जीवको कैयौँ चित्र र मूर्तिहरू बनाइएका छन् । जुन त्यतिबेला बनेका दरबार÷भवनमा अहिले पनि देख्न पाइन्छ । 

त्यस्तै, कलाकार तथा साहित्यकार बालकृष्ण समका ‘सुन्दर झरना’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संग्रहमा रहेको छ । उनैले बनाएको सिकार चित्र सिंहदरबारस्थित संसद् भवनमा छ ।    

१९८० सालमा चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकारले औपचारिक शिक्षा गभर्नमेन्ट स्कुल अफ आर्ट, कोलकाताबाट लिए । त्यहाँ ६ वर्ष पढेर नेपाल फर्किए । १९९१ सालमा चतुररत्न उदासको संयोजकत्वमा नेपाल आर्ट स्कुलको स्थापना भयो । १९९५ मा नेपाल आर्ट स्कुल जुद्धकला पाठशालामा परिणत भयो । 

२००७ सालको क्रान्तिपछि खुला समाजको प्रभाव कलामा पनि पर्याे। २०१२ सालमा गेहेन्द्रमान अमात्यको अमूर्त तथा अर्धमूर्त कला प्रदर्शनी पहिलोपटक भयो । २०१६ सालमा उर्मिला गर्ग कला पढेर विदेशबाट फर्किन् । लखनउमा पढेका उत्तम नेपाली पनि नेपाल फर्के । यसरी पढेरै देशमा कलाकारितामा लाग्नेहरुको जमात बलियो हुन थाल्यो । 

२०१८ सालमा लैनसिंह वाङ्देलको नेपाल आगमनले कलामा नयाँ आयाम ल्यायो । नेपालमा २०२० देखि २०३० सालको अन्तरालमा प्रकृतिमा गएर दृश्यचित्र बनाउने रामानन्द जोशीले अभियान नै थाले । २०२२ सालमा नेपाल ललितकला संस्था (नाफा) को स्थापना भयो । २०२४ सालमा जुद्धकला पाठशाला ललितकला महाविद्यालयमा रूपान्तरण भयो । 

२०३० मा आएर फेरि महाविद्यालय त्रिवि अन्तर्गतको ललितकला क्याम्पसमा परिणत भयो । जहाँ कला विषयमा अध्ययन अध्यापन हुन्थ्यो । भारत चीन, फ्रान्स सोभियत संघ लगायत देशमा पुगेर नेपाली कलाकारले कला अध्ययन गरे भने कतिले नेपालकै शिक्षण संस्थाबाट अध्ययन गरे । 

प्रकृति कलामा जोडिएको फरक विषय दृश्यचित्र पनि हो । कला सम्बद्ध लेखका अनुसार सूक्ष्म दृश्यचित्र बनाउनेमा रतनकुमार राई मानिन्छन् । उनी पहाडका कुना, कन्दरा, त्यहाँका बस्ती र फाँटलाई जलरङबाट उतार्थे । क्यामराजस्तो प्रविधि नेपालमा अभाव थियो । त्यसैले चरा बनाउन चरा मारेरै त्यसको हरेक अंग–प्रत्यंग नापजाँच गरेर चित्र बनाउँथे कलाकार हिरालाल डंगोल । 

‘जंगलको चरा कस्तो घाँसमा बस्छ अनि पानीको चरा कसरी बस्छ भनेर ठाउँमै पुगेर हेथ्र्यौं,’ डंगोल सुनाउँछन्, ‘हिमालका चरा हिउँमै बसेको बनाउन त ठाउँ हेर्नैप¥यो ।’ उनका अनुसार चराको रङ चित्रमा उतार्न भने चाहिएको चरा मार्नैपर्ने बाध्यता थियो । अहिले पनि मयुरको प्वाँखमा रंग भर्न उनी साँच्चैको मयुरको प्वाँख अघि राखेरै रंग भर्छन् । त्यसको औंला, प्वाँख, खुट्टा, चुच्चो सबै नापजाँच गरेर स्केच बनाउथे । अहिले भने फोटो खिचेर ल्याउँछन् । अनि चित्रमा उतार्छन् । उतिबेला उडिरहने चरा खोजेर चित्र बनाउनु निकै सकसको कुरा हुन्थ्यो । 

जंगलमा बस्ने, हिमालमा बस्ने चरा सहरबजारमा र पर्यटक बनेर आउनेले मन पराउने गर्छन् । कलासँग जोडिएका डिबी चित्रकार, श्यामलाल श्रेष्ठ, मदन चित्रकार, दुर्गा बराल, शंकरराज सिंह सुवाल, शरद रञ्जित, यादव भुर्तेल, बुद्धि गुरुङ, आलोक गुरुङ लगायत कलाकारले प्रकृति साथ लिएर कला कोर्ने प्रयास गरेको विभिन्न लेखमा उल्लेख छन् । दृश्यचित्रमा अटाउने प्रकृतिमा भू–दृश्य चित्र, पर्वत दृश्यचित्र, सागर दृश्यचित्र, आकाश दृश्यचित्र, नगर दृश्यचित्र मुख्य मानिन्छन् । 

नेपालमा नेपाल कलाकार समाज, कमर्सियल आर्टिस्ट संघ, रेनेसा फाइन आर्ट, सिर्जना कन्टेम्पोरेरी आर्ट ग्यालरी लगायतले दृश्य चित्रकलामा प्रकृति समेटेर कार्यशाला गरेका छन् । पश्चिमा प्रभाव नेपाली कलामा ब्रिटिस साम्राज्यको १८औँ शताब्दीतिर परेको मानिन्छ । नेपालभन्दा निकै पर फ्रान्समा सन् १९०४ अघि प्रकृतिमा बसेर चित्र बनाउन बन्देज थियो ।    उतिबेला फ्रान्सका कलाकार घरभित्रै काल्पनिक दृश्यचित्र कोर्थे । प्रकृतिसँग साक्षात्कार रहेर चित्र बनाउने क्लाउड मोनेसहितका ३० जनाले परम्परागत मान्यता तोडेको मोनेको कला जीवनी चित्रण पुस्तिकामा उल्लेख छ । पुस्तिकामा दृश्य बनाउँदा प्रकृतिमा रहेको समुद्र, पहाड र प्रकृति कोर्दा त्यही नजिकै बसेर प्रकाश र छायाको संयोजन चित्रमा अनिवार्य पार्नुपर्छ भन्ने मोनेले बताएका छन् । 

‘एउटा राष्ट्रिय कला प्रदर्शनीमा मोनेसहितका कलाकारका चित्र अस्वीकृत भए,’ कला समीक्षक तथा कलाकार रमेश खनाल भन्छन्, ‘मोनेले सम्राट नेपोलियन बोनापार्टसँग सोधेका थिए– किन अस्वीकृत भयो हाम्रा चित्र ?’

त्यहीँबाट प्रभाववादको जन्म भएको खनालले जनाए । ‘प्रकाश र समयले प्रकृतिमा पर्ने प्रभावलाई प्रभाववादी चित्रकारले क्यानभासमा उतारे,’ खनाल थप्छन्, ‘नेपाल भने अरनिकोको कलाले खाएको देश थियो त्यतिबेला ।’ विश्वमा त्यसपछि नै उत्तरवादी (कल्पनाशील) कलाकार र विज्ञानवादी कलाकारको जन्म भएको दाबी खनाल गर्छन् । उत्तरवादले आँखाले देखेको नभई हृदयले देखेको बनाउनुपर्छ भन्ने गर्छ । विज्ञानवादले रङहरूको बिन्दुमा कला खोज्नुपर्छ भन्ने संकेत देखाउँछ। 

प्रकृतिसँग नजिक रहेर मोनेले बनाएका ‘वाटरलिली’ फुलको शृंखलाबद्ध चित्र विश्वचर्चित छन् । इतिहासको कालखण्डमा राजमानसिंह चित्रकार पुस्तकमा लेखिएअनुसार भारतको कोलकातास्थित इनट–इन्डिया कम्पनीका प्रशासनिक पदमा कार्यरत ब्रायन हड्सन नेपालको आवासीय प्रतिनिधि (नेपालै रहेर ब्रिटिससँगको सम्बन्ध सुधार गर्ने)का रुपमा सन् १८२० मा नेपाल छिरे । नेपालमा २३ वर्ष काम गरेपछि पनि नेपाल छाडेनन् । यहाँको प्रकृतिसँग मोहित भए । १३ वर्ष दार्जलिङमा अनुसन्धान गरेर नेपालको इतिहास पढे । उनले चराचुरुंगी र हिमाली वन्यजन्तुमा चासो राख्थेँ । १० हजार पाँच सय प्रजाति उनले नेपालबाट संकलन गरेर बेलायतको म्युजियममा बुझाएका छन् । ती चरा र वन्यजन्तुको रंगीन चित्रको पुस्तक तयार पार्ने उनको इच्छा थियो ।

जसका लागि नेपालका दक्ष कलाकारसँग सम्बद्ध भएर काम गरे । त्यही क्रममा राजमानसिंह चित्रकार यिनीसँग जोडिए । चरा बनाउन हुलका हुल चरा जालमा पार्थे । अनि जुन चाहिएको हो, त्यही चरा राखेर अरु छाडिन्थे । चरा हेरीहेरी चित्र बनाउँथे, राजमानसिंहको नेतृत्वमा १० नेपाली कलाकारले हड्सनको अनुसन्धानका लागि चित्र बनाएको अर्का समीक्षक मदन चित्रकार उल्लेख गर्छन्।

उनले नै राजमानको अस्तित्व झल्काउन राजमानको सन्ततिको फोटो हेरेर राजमानको चित्र कोरे । त्यतिबेला सिंहसहित नेपाली टोलीले बनाएका चित्र रोयल एसायाटिक सोसाइटी लन्डनमा छन् । जनरल अफ नेचुरल हिस्ट्री एन्ड एसियाटिक रिसर्चबाट प्रकाशित छन् । हड्सन कालखण्डमा सिंहसहितका नेपाली कलाकारले बनाएका एक हजार चित्र पेरिसको कला संग्रहालयमा संग्रहित छन् । राजमानसिंहका ४२ चरा चित्र नेपालको राष्ट्रिय संग्रहालय छाउनीमा रहेका छन्।

प्रकृति कला स्थापित गर्ने प्रयास
कलाका अनेकन् विधामध्ये प्रकृति एउटा नयाँ विधाका रूपमा उदाउँदै छ । बढ्दो तापक्रमले पृथ्वीका जीव वनस्पति खतरामा पर्न थालेको स्वीकार संयुक्त राष्ट्रंघको बैठकमै गरिएपछि कलाबाट प्रकृति रक्षाका सचेतना फैलाउने प्रयत्न संरक्षणकर्मीले गरे, जसलाई नेपाली कलाकर्मीले पनि आत्मसात् गरे । पृथ्वी, शरीर र मस्तिष्क शीर्षकमा सन् २०१२ मा सिद्धार्थ आर्ट फाउन्डेसनसहितले काठमान्डु इन्टरनेसनल आर्ट फेस्टिभल (केआईएएफ) कला प्रदर्शनी गर्याे । 

काठमाडौंमा भएको बृहत प्रदर्शनीमा नेपालसहित विश्वका विभिन्न देशका कलाकारका चित्र, मूर्ति, आर्ट फोटोग्राफी, भिडियो आर्ट, प्रतिस्थापन कलालगायत कलात्मक कृति प्रदर्शन गरिएको थियो । 

शीर्षकअनुसार वातावरणीय विषय, मानिसको मुड, सामाजिक, राजनीतिक संकट, विपत्मा मानवीय संकटको अवस्थालाई कलाकारले प्रदर्शनीमार्फत पस्के । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन कम्बोडिया, नेदरल्यान्ड, अस्ट्रिया, प्यालेस्टाइन, फिलिपिन्स, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, क्रोएसिया, इप्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इरान, इटाली, जापान, काजकस्तान, मंगोलिया लगायत देशका कलाकारका कलाकृति सो फेस्टिभलमा राखिएको किम्फ पुस्तिकामा उल्लेख छ । विश्वकै प्रकृतिलाई एकैथलोमा कलात्मक रूपमा उतार्न महोत्सव सफल भएको एक सिद्धार्थ आर्ट ग्यालरी सञ्चालक संगीता थापा बताउँछिन् । ‘कलाबाट प्रकृति र त्यसको संरक्षण गर्नका लागि यो महोत्सव एउटा कोसेढुंगा नै हो,’ थापाले भनिन् । 

अन्तर्राष्ट्रिय संरक्षण संघ (आईयुसीएन)ले विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज रहेको स्थानमा सन् २००८ मा वातावरणसँग सम्बन्धित कला कार्यशाला गरेको संरक्षणकर्मी डा. प्रभु बुढाथोकीले बताए । उनले १३ वर्ष सरकारी संरक्षण निकायमा सेवा गरेका थिए । त्यसपछि अर्को कलात्मक कार्यक्रम नभएपछि बुढाथोकी आफ्नो अनुभव संगाल्दै वन्यजन्तु पीडित उद्धार कोष नामक संस्था गठन गरेर अभियान चलाए । नेपालमा वन्यजन्तु र प्रकृति कला स्थापित गर्न तथा कलाबाट जोखिममा परेका वन्यजन्तु संरक्षण गर्ने चेतना फैलाउने उद्देश्य कोषले राखेको बुढाथोकी उल्लेख गर्छन् ।

यसले प्रकृति पनि कलाको एउटा विधा बन्न सक्ने सम्भावनालाई अझ बलियो बनायो । प्रकृति संरक्षणसँगै विदेशी मुद्रा आर्जनलाई व्यावसायिक रूप दिन सकिने धारणा उनको छ । 

ऐनका अनुसार सन् २०१५ मा ‘आर्ट फर नेचर’ कार्यक्रमअन्तर्गत निकुञ्जछेउ कला कार्यशाला भएको थियो । सन् २०१६ मा कास्कीमा स्थानीय प्रकृतिको संरक्षणार्थ कला प्रदर्शनीसहितको कार्यशाला भएको थियो । कला प्रदर्शनीमा बिक्री भएको चित्रबाट उठेको निश्चित रकम संस्थाले राख्छ । लाङटाङका भूकम्पपीडितका लागि राहत सहयोग गरिएको थियो । ‘यस्ता गतिविधिले कलाकारलाई प्रकृति र यसका अवयव चिनाएकोसम्म छ, यसको संरक्षणका लागि उनीहरूले निरन्तरता दिन बाँकी छ,’ बुढाथोकी भन्छन्, ‘उनीहरूले बाघ, गैँडा, मयुर र वनजंगल र प्राकृतिक सम्पदा नजिकबाट देखेर बनाउनु ठूलो कुरा हो ।’ 
चितवन, कास्की र काठमाडौंका कलाकार्यशाला तथा प्रदर्शनीपछि कलाकारहरूले आफ्ना चित्रमा अनिवार्य प्रकृति व्यक्त गर्न थालेको अनुभव उनको छ । त्यहाँ नदी, पानी, हिमाल, जीव, चरा, रूख–बिरुवा र प्रकृति संरक्षणकै विषयवस्तु चित्रमा कोरिए । 

यही वर्ष लाङटाङ राष्ट्रिय निकुञ्जमा त्यहाँको परिवेश हेर्दै चित्र बनाउने कार्यशाला भयो । ‘विदेशी राष्ट्रका त्यत्रा एम्बेसी छन्, त्यहाँ सुन्दर प्रकृति टाँगेर उपयोग गर्न सकिन्छ,’ उनी थप्छन्, ‘जसले शोभासँगै नेपालको प्राकृतिक सौन्दर्यताको चेतना विस्तार गर्छ ।’ 

प्रकृति समेट्ने विषयमा केही विवाद भने नभएका हैनन् । वातावरण र प्रकृतिका नाउँमा चित्र बन्नु राम्रो कुरा भए पनि यसको दूरगामी हितका लागि काम नभएको भन्दै आलोचना गर्छन्, कला समीक्षक मदन चित्रकार । ‘जसले प्रकृतिको आर्ट बनाइरहेको छ नि मलाई शंका लाग्छ,’ उनी थप्छन््, ‘त्यसले कलाकारलाई दुई पैसा मात्र दिन्छ कि प्रकृतिको रक्षा गर्न पनि सक्षम छ ?’ उनका अनुसार कलाकारका चित्रमा प्रायजसो देखिने सुन्दर प्रकृति, वन, वन्यजन्तु, चराजस्ता चराचर मात्र हुन् । तिनको भविष्य के हुँदै छ भन्ने कुरामा कलाकारका कला मौलाउन सकेको छैन । जसकारण कलाकारका कला आम रूपमा प्रभावकारी हुन सकेको छैन । त्यस्ता चित्रले समाजमा परिवर्तन ल्याउनुभन्दा भित्ताको शोभा मात्र बढाउन सकेको आरोप उनले लगाए । 

कतिपयले डलर कमाउने साधनका रूपमा कलामा प्रकृतिलाई समेटेको आरोप चित्रकारले लगाए । ‘२० लाख खर्च गरेर जंगलमा बसेर वन्यजन्तुको चित्र बनाउँदैमा तिनको संरक्षण हुन्न,’ चित्रकार थप्छन्, ‘त्यसरी बनेका चित्र कुनै विदेशीले आहा भनेर त हेर्छ ।’ तर जंगलमा ती प्राणीको बास र संरक्षण कहिलेसम्म होला ? यस्ता कुरा भने कलाको वास्तविक विषय बन्न सकेको छैन ।
कलाकर्मी जोडी सुदर्शन राणा र सुनिता राणा पनि वातावरण र चित्रको साथ दिइरहेका छन् । बुढाथोकीको आर्ट फर नेचर परियोजनासँगै कलाकारलाई सम्बद्ध गराउने अभियानमा उनीहरूले काम गरिरहेका छन् । नेपालको परम्परागत संस्कृति पौभा चित्रमा जति चर्चित छ । त्यति यहाँको प्रकृतिलाई चर्चित बनाउन कलाले नसकेको टिप्पणी सुदर्शन राणा गर्छन् । ‘केही विदेशी कलाकारले नेपालको प्रकृति समेटे होलान् तर नेपालका कलाकार यसैमा भविष्य खोज्न सकिरहेका छैनन्,’ राणाको अनुभव छ, ‘बनाइहाले पनि आक्लझुक्कल मात्र बनाउने गरिएको छ । भनिन्छ, प्रकृति र संस्कृति जति बेच्यो उति बढ्छ ।’

नेपाली कलाकारलाई प्रकृतिप्रेमी बनाउनसके १३औं शताब्दीमा अरनिकोले तिब्बत र चीनमा गएर नेपाली कला प्रख्यात बनाएझंै यहाँको प्रकृति प्रख्यात हुने राणा सुनाउँछन् । बढ्दो सहरीकरण, जलवायु परिवर्तन र जनसंख्या वृद्धिले विनाश गरिरहेको प्रकृति चित्रमा देखाएर चेतना प्रसार गर्न सकिने बाटो उनकी पत्नी सुनिता ठह¥याउँछिन् । ‘मानिस नै प्रकृतिको एक अंग हो,’ उनी औंल्याउँछिन्, ‘ढिलो–चाँडो होला, कलामा प्रकृति एक दिन छाउनेछ ।’ 

सन् २०१६ को विश्व वातावरण दिवस पारेर कार्टुनमा वातावरण झल्काउने कला प्रदर्शनी काठमाडौंमा भयो । वन्यजन्तु पीडित उद्धार कोषले नेपाल कार्टुनिस्ट क्लबसँगको सहकार्यमा भएको प्रदर्शनीमा दर्शकले व्यंग्य मात्र पाएनन् । वातावरण जोगाउने चेतना पनि संगाले । लामखुट्टे हिमालमा पुग्दा पनि गर्मी भएको, वायु प्रदूषण, वन विनाश, उद्योगीकरण, सवारी–साधनको बढ्दो प्रयोगले वातावरणमा पारेको नकारात्मक असरलगायत हेर्नुपर्ने निकायको बेवास्ता जस्ता विषय मन कार्टुन बनेका थिए ।

समाजमा जनचेतना बढाउन कार्टुनको भूमिका प्रभावकारी रहने कार्टुनिस्ट क्लब नेपालका अध्यक्ष अविन श्रेष्ठको अनुभव छ । वातावरण विनाशलाई जति सामान्य सोचिन्छ, त्यो हैन । साहित्य, कला, गीत–संगीत, चलचित्रजस्ता हरेक क्षेत्रले बिग्रँदो वातावरणविरुद्ध आवाज उठाउन जरुरी भइसकेको श्रेष्ठ औंल्याउँछन् ।

चित्रकार हरि नेपालीले दुर्गन्धित वागमती बिर्साउने गरी सुन्दर वागमतीसहितको पशुपति क्षेत्रलाई दर्शकमाझ चित्रमा पस्केर प्रकृति समेट्न उद्यत् रहे ‘सुन्दर वागमती मेरो जलरङ चित्रमा’ शीर्षकको एकल कला प्रदर्शनी उनले गरे । ती स्थानमा आफंै पुगेर क्यानभासमा चित्र उतारे । 

कलामा प्रकृति अँगाल्न चुनौती 
आधुनिक कलाका रुपमा प्रकृतिलाई अँगाल्न भने त्यति सजिलो छैन । ‘प्रकृति समेट्न प्रकृतिमै जानुपर्छ, जसका लागि स्रोत, साधन र खर्च सबै चाहिन्छ,’ अग्रज कलाकार हिरालाल डंगोल भन्छन् । त्यसले आउने आम्दानी र खर्चको मेलोमेसो मिलाउन कलाकारलाई गाह्रै रहेको डंगोल प्रस्ट्याउँछन् । रंग नै निकै महँगो पर्छ,’ डंगोलले भने, ‘इग्ल्यान्डबाट रंग मगाएर म चरा बनाउँछु तर सरकारले रंग ल्याउँदा कुनै सहुलियत दिँदैन,’ डंगोल विवशता सुनाउँछन् ।

अझ बनाएको चित्र बिकेन भने त्यो झन् पीडादायी हुने गर्छ उनका लागि । फोटो खिच्ने क्यामराको विकाससँगै नापजाँच प्रविधिले बिदा लियो । हिउँ हेर्न हिमाल पुग्नैपर्छ, पहाड हेर्न पहाड चढ्नैपर्ने, यात्रा गर्नैपर्ने, खर्च जुटाउनैपर्ने विभिन्न खालका समस्या र चुनौती कलाकार औंल्याउँछन् ।

स्रोत, साधन र कलाकारको बाँच्ने आधार आर्थिक स्रोत हो । त्यस्ता स्रोत कलाबाटै कमाउन समय कुर्नुपर्ने हुन्छ ।

महाभूकम्प र ठूला विपत्तिका कला समयानुकूल कलाकारले पस्कन सक्छ तर निरन्तर त्यसमा खोज र अनुसन्धानमूलक कला खोज्न कलाकारले आर्थिक अभावका कारण नसक्ने अनुभव उनीहरू सुनाउँछन् । प्रकृतिलाई आइडल मानेर कलाकारले काम गर्ने दिन आइनसकेको भन्दै कलाकार दाबी गर्छन् ।

कलाकार ज्योतिप्रकाश बिके भने वर्तमान कठिन भए पनि प्रकृति कला रोज्ने हो भने यसको भविष्य उज्वल रहेको देख्छन् । ‘म प्रकृतिलाई नै विषय बनाएर आगामी प्रदर्शनीको तयारी गर्दै छु,’ उनले भने, ‘कसरी प्रकृतिलाई जोगाउन सकिन्छ भन्ने मेरो थिम हुनेछ ।’ उनले भनेझैँ विदेशी नेपालको पहाड, हिमाल, वन जंगल, वन्यजन्तु, चराचुरुंगी र सुन्दर प्रकृति राम्रो मान्छन् । उनीहरूको देशमा यहाँको जस्तो भौगोलिक र प्राकृतिक विविधता छैन ।

‘त्यसैले पनि चित्रमा प्रतिविम्बित प्रकृति गर्नसके विदेशी पर्यटक लोभ्याउने एउटा पाटो बन्न सक्छ,’ विक थप्छन् । नेपाली कलाकारले आफैँ स्रोत जुटाएर पनि हिम्मत गरे त्यसले दीर्घकालीन स्थायित्व पाउन सक्ने उनी अनुमान गर्छन् । 
कार्टुनिस्टका लागि भने यही विधामै पहिचान बनाउन अहिले नै सम्भव नरहेको कार्टुनकला कोर्नेहरू सुनाउँछन् । फरक बिटमा फरक खालका पत्रपत्रिका निस्केझैँ वातावरणकै बिटमा मूलधारका पत्रिका निस्केमा भने कार्टुनिस्टका लागि सहज हुने अविन श्रेष्ठले बताए । 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’

एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा...

Ncell Footer Ad