coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा चोरिएको डुंगा भारतबाट बरामद

रौतहट–  दक्षिणी रौतहट र सर्लाही जिल्लाको सीमाको रुपमा रहेको बागमति नदीमा चलाइने डुंगा रौतहटबाट चोरी भएकोमा प्रहरीले भारतबाट बरामद गरी ल्याएको छ।

रौतहटको बडहर्वा गाविसको साढे २ लाख रुपैयाँको लागतमा बनेको सार्वजनिक डुंगा गत असार १८ गते चोरी भएकोृ थियो। चोरी भएको स्थानबाट ६८ किलोमिटर टाढा भारतीय गाउँ बेलवाबाट रौतहट प्रहरीको एक टोलीले डुँगा बरामद गरी ल्याएको हो।

बागमती नदीको किनारै किनार खोज्दै जाँदा भारतको ‘डाका गाउँ’का रुपमा कुख्याती कमाएको बेलवामा डुंगा फेला परेको प्रहरीले जनाएको छ। डुंगामा गाविस बडहर्वा लेखिएको पाइएकोले चोरिएकै डुंगा भएको यकिन गर्न कुनै अप्ठ्यारो नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी गणेश रेग्मीले बताए। डुंगा बरामद भएको भारतीय गाउँ निकै बदनाम डाँकाको गाउँ भएकोले भारतीय प्रहरीले नै डुंगा चोर पहिचान गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए।

भारतीय प्रहरीको सहयोगमा बागमती नदीको किनारै किनार डुंगालाई बडहर्वा ल्याएर पुनः सञ्चालनमा ल्याएपछि दैनिक दुई हजारभन्दा मानिसले यस सीमा नदीलाई पार गरी आफ्नो आवश्यकता पूर्ति गर्ने गरेका छन्।

डुंगा खियाउने माझी अजय सहनीले उक्त डुंगा गाविसबाट ठेक्कामा लिएर चलाउँदै आएका छन्। सहनीले बागमती नदी तारेवापत प्रतिव्यक्ति बीस रुपैयाँदेखि पचास रुपैयाँसम्म लिने गरेको स्थानीय वीरेन्द्र साहले बताए।

वर्षातको समयमा नदीको भेल तरेर वारपार गर्न हरेक वर्ष यस्तै डुंगा यहाँका नागरिकको सम्बन्धको सेतु बनेको छ। तर, चल्दै आएको डुंगा अचानक चोरी भएपछि खोजेर ल्याउन प्रहरीलाई दबाब परेको थियो।

वर्षा सुरु भएपछि रौतहटको बडहर्वा तथा सर्लाहीको धुर्वा र खैर्वा गाविसको बीचमा बागमती नदीमा चलाइने डुंगा नै आवतजावतको एकमात्र साधन हुने गर्छ। दुवै जिल्लाका दर्जनौँ गाविसका स्थानीयबासी यस डुंगाबाट लाभान्वित हुने गरेका छन्।

डुंगा चोरी भएपछि सर्लाहीको धुर्वा, खैर्वा, हथिऔल, सुदामा, अर्नाहा, छतौना, अचलगढ, बलरा, छनकीलगायत करिब एक दर्जन गाविसका बासिन्दालाई रौतहटको सदरमुकाम गौर, गरुडा, पिपरा र भारतीय बजार बैरगनियामा किनमेल गर्न तथा भेटभाटका लागि आउन समस्या भएको थियो।

नेपाल प्रहरीले भारतबाट डुंगा बरामद गरेर पुनः सञ्चालनमा ल्याएपछि दुई जिल्लाका दक्षिणी भेगका स्थानीयबासी हर्षित भएको बडहर्वा गाविसका पूर्व अध्यक्ष ललन ठाकुरले बताए।

 

प्रकाशित: ३ श्रावण २०७३ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App