coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रोल्पा नगरपालिकामा उम्मेदवारको टुङ्गो

रोल्पा – यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । 

एक नगरपालिका र नौ गाउँपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । 

जिल्लाको रोल्पा नगरपालिकाबाट काँग्रेसले पूर्व सांसद लेखनाथ आचार्यलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी मिश्री हमालले उम्मेदवारी दिने बताइएको छ । 

यसैगरी, एमालेले प्रमुखमा मीना शर्मालाई अघि सारेको छ भने उपप्रमुखमा नन्दकुमार आचार्य उठ्ने तयारी भएको एमाले रोल्पाले बताएको छ । 

यसैगरी, माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा पूर्णबहादुर केसीलाई उठाउने भएको छ भने उपप्रमुखमा मनकुमारी घर्तीले उम्मेदवारी दिने भएकी छिन् । नगरपालिकामा पूर्व जिविस सभापति भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगरले समेत प्रमुखमा उम्मेदवारी घोषणा गरेका छन्

जिल्लामा आफ्नो दल एक्लै प्रतिस्पर्धामा जाने गरी तयारी गरिरहेको माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्तीमगरले बताए । यता माओवादी केन्द्रबाहेकका दलले साझा उम्मेदवार उठाउने चर्चासमेत चलेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले यसअघि ५ नं प्रदेशबाट रोल्पा जिल्लालाई छुट्याउन संसद्मा पेस गरेको संविधान संशोधन विधेयकका विरुद्ध माओवादी केन्द्रबाहेकका दलले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही आन्दोलनकारीहरुको मोर्चा कायम राख्न भन्दै साझा उम्मेदवारी दिने चर्चासमेत सुनिन थालेको छ । 

नगर क्षेत्रमा सबै दलले एक्लाएक्लै उम्मेदवारी दिए काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ । काँग्रेसका प्रत्यासी लेखनाथ आचार्य सांसद भइसकेका व्यक्ति हुन् भने माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार केसी पनि युवा नेता भएकाले यी दुईको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

साविक लिवाङ, खुमेल, धवाङ, ह्वामा, जंकोट र कोटगाउँ पूरै एवम् कोर्चवाङ र जेद्वाङका केही वडा समायोजन गरी रोल्पा नगरपालिका बनाइएको छ । 

माओवादी केन्द्रका वरिष्ट नेता एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन र सभामुख ओनसरी घर्तीमगरको गृह नगर यस नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका रुपमा हेरेका छन् । 

मुख्य तीन राजनीतिक दलका साथै अन्य दल र स्वतन्त्र उम्मेदवारले समेत गाउँ गाउँ पुगी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । रासस 

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App