७ वैशाख २०८१ शुक्रबार
खेल

दिवंगतलाई उपाधि समर्पण

स्टकहोम- म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले बुधबार आयाक्सलाई २–० को नतिजामा हराउँदै जितेको युरोपा लिगको उपाधि म्यानचेस्टरमा भएको आतंककारी हमलामा मारिएकाहरूप्रति समर्पित गरेका छन्।

सोमबार आतंककारी बम हमलाबाट म्यानचेस्टर एरिनामा मारिएका २२ जनाको सम्झनामा १ मिनेटको मौनधारणपश्चात् सुरु भएको खेलमा पोग्बा र हेनरिक एमखिटार्यनले १/१ गोल गरेपछि युनाइटेड २–० ले विजयी भएको थियो।

खेलको पहिलो मिनेटमै पोग्बाको भली प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा युनाइटेडले अग्रता लिने मौका गुमाएको थियो। तर, १८औं मिनेटमा पाएको अवसरमा पोग्बा चुकेनन्। मारौनी फेलानीको पासमा पोग्बाले गोल गरेका थिए।

त्यस्तै मध्यान्तरपछिको तेस्रो मिनेटमा एमखिटार्यनले युनाइटेडको अग्रता दोब्बर बनाए। उनले क्रिस स्मलिङको हेडिङ पासलाई पोस्टको दिशा दिएका हुन्। युरोपा लिगमा एमखिटार्यनको यो छैटौं गोल हो।

‘हामीले आतंककारी हमलामा मारिनेहरूका लागि खेल्यांै,’ पोग्बाले भने, ‘यस्ता कुराले संसारभर आतंक फैलाइरहेको छ, लन्डन र पेरिसमा पनि। हामी जितमा केन्द्रित थियांै र हामीले म्यानचेस्टर तथा समग्र राष्ट्रका लागि जित्यौं।’

उक्त घटनाको विरोधमा स्टकहोम एरिनामा भरिएका समर्थकहरूले हातमा युनाइटेडको कालो ‘आर्मब्यान्ड’ बाँधेका थिए भने उनीहरूले ‘म्यानचेस्टर’ ‘म्यानचेस्टर’ को नारा लगाएका थिए। पोग्बा आफैं पनि हालै मृत्यु भएका पिताको सम्झनामा दुःखी थिए।

‘पक्कै पनि, हामीले सक्ने भए तुरुन्तै यो उपाधि साटेर मर्नेहरुलाई जीवित पार्ने थियांै,’ युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले भने, ‘हामी दोहोर्‍याएर सोच्ने छैनौं। के यो कपले म्यानचेस्टर सहरलाई केही खुसी दिन्छ? सम्भवतः दिन्छ। तर हामी यहाँ आफ्नो जिम्मेवारी पूरा गर्न आएका हांै।’

खेलअघि आफू र खेलाडीहरूलाई उक्त दुःखद घटना बिर्सन संघर्ष गर्नुपरेको बताएका माउरिन्होले उपाधि जित्दै ओल्ड ट्राफोर्डमा पहिलो सिजनलाई सफल परिणामका साथ बिदाई गर्न सक्षम भएका छन्।

यसअघि उनले युनाइटेडलाई लिग कपको उपाधि जिताइसकेका थिए। इङ्लिस प्रिमियर लिगको छैटांै स्थानमा रहेर सिजनको अन्त्य गरेको युनाइटेडले युरोपा लिग च्याम्पियनको हैसियतमा अर्को वर्ष च्याम्यिन्स लिग खेल्ने भएको छ।

युभेन्ट्स, बायर्न म्युनिख, चेल्सी र आयाक्सपछि च्याम्पियन्स लिग, युरोपा लिग र लिग कप गरी तीनै उपाधि जित्ने युनाइटेड पाँचौं टोली बनेको छ।

यस जितसँगै दुई पटक च्याम्पियन्स लिग र सन् २००३ मा पोर्टोमा रहँदा युइएफए कप जितेका माउरिन्होले आफू सहभागी भएको युरोपियन प्रतियोगिताको चारवटै फाइनल जित्न सफल भएका छन्।

सन् १९९६ को च्याम्पियन्स लिगपछि पहिलो पटक युरोपियन प्रतियोगिताको फाइनल खेल्ने क्रममा आयाक्सले औसत २२ वर्ष २ सय ८२ दिन उमेरका खेलाडी मैदान उतारेको थियो। यससँगै युरोपको प्रमुख प्रतियोगितामा सबभन्दा कम उमेरको टोली खेलाउने कीर्तिमान आयाक्सले बनाएको छ।

पिटर बोस्जको टोलीले सुरुआतमा युनाइटेडलाई केही अप्ठेरो पारे पनि उनीहरुलाई निराश पार्ने खालको चुनौती भने दिन सकेन।

‘पक्कै पनि दुवै टोली म्यानचेस्टरमा भएको हमलाबाट प्रभावित थिए। तर जब तपार्इं फाइनल खेल्नुहुन्छ तपार्इंले त्यो सबै बिर्सनुहुन्छ,’ बोज्सले भने, ‘म निराश छु किनभने फाइनल जित्नका लागि खेलिन्छ। हामीले सकेनौं। मैले देख्दै आएको आयाक्सको टोलीले राम्रो प्रदर्शन गर्दै अन्य टोलीलाई दबाबमा राख्थ्यो तर आज त्यस्तो भएन। युनाइटेडले लामो पास मात्र खेल्यो र गोलको अवसर सिर्जना गर्न कुनै जोखिम लिएन। यो त्यति उत्साह दिने खेल रहेन।’

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App