८ वैशाख २०८१ शनिबार
खेल

दक्षिण अफ्रिकामाथि इङ्ल्यान्डको जित

लिड्स- कप्तान इयान मोर्गानको शतकप्रेरित इङ्ल्यान्डले बिहीबार दक्षिण अफ्रिकाविरुद्धको पहिलो दिवारात्रि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२ रनको जित हात पारेको छ।

एकदिवसीय वरीयताक्रमको विश्व नम्बर एक टोलीविरुद्ध हात पारेको यस जितपछि इङ्ल्यान्डले ५० ओभरका तीन खेलको शंृखलामा १–० को अग्रता लिँदै घरेलु मैदानमा अर्को हप्ताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि हौसला बटुलेको छ। एकदिवसीय खेलको प्रतियोगिता च्याम्पियन्स ट्रफीमा विश्वका शीर्ष ८ टोलीले सहभागिता जनाउनेछन्।

३ सय ४० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सुरुमा राम्रो गर्न सकेन। विकेटकिपर ब्याट्सम्यान क्विन्टन डि कक (५) लाई क्रिस ओक्सले विकेटकिपर जोस बट्लरबाट क्याच गराउँदै पाहुना टोलीलाई सुरुआतमै झड्का दिएका थिए।

त्यसपछि ब्याटिङका लागि आएका अनुभवी ब्याट्सम्यान हसिम अमला र फाप डु प्लेसीले दोस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै टोलीको इनिङ उकास्ने प्रयास गरेका थिए।

तर अमला र डु प्लेसी पनि पवेलिनय फर्केपछि भ्रमणकारी टोली १४९–३ को स्थितिमा पुगेको थियो। ७६ बलमा ८ चौकाको मद्दतमा ७३ रन जोडेका अमलालाई मार्क उडले एलबिडब्लुको सिकार बनाएका थिए भने ६१ खेल खेल्दै ८ चौकाको मद्दतमा ६७ रन जोडेका डु प्लेसीलाई लियाम प्लङ्केटले विकेटकिपर बट्लरको हातबाट क्याच गराएका थिए।

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान एबी डी भिलियर्सबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा दक्षिण अफ्रिका ५ ओभरअघि नै २ सय ६७ रनमा अलआउट भएको थियो।

३८ बल खेलेका डी भिलियर्सले ७ चौका प्रहार गरे। इङ्ल्यान्डका ओक्सले ४ तथा एडिल रासिद र मोइन अलीले समान २ विकेट लिए। त्यस्तै प्लङ्केट र उडले समान १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङका लागि उत्रिएको इङ्ल्यान्डले मोर्गानको १ सय ७ रनको मद्दतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई ३ सय ३९ रनको योगफल खडा गरेको थियो।

१९८–५ को स्थितिमा रहेको इङ्ल्यान्डका लागि मोर्गानले अलीसँग छैटौं विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए। ९३ बल खेलेका मोर्गानले ७ चौका र ५ छक्का प्रहार गरे भने अलीले अविजित ७७ रनको योगदान गरेका थिए। ५१ बल खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै एलेक्स हल्सले ६१ र जो रुटले ३७ रनको योगदान दिएका थिए। दक्षिण अफ्रिकाका लागि म्यान अफ दी म्याच क्रिस मोरिस र एन्डल फेलुक्वायोले समान २ विकेट लिए भने कासिगो रावाडा र वायन पार्नेलले समान १ विकेट लिए।

शंृखलाअन्तर्गतको दोस्रो खेल शनिबार साउथह्याम्पटनमा हुनेछ भने तेस्रो तथा अन्तिम खेल लडर््समा सोमबार हुनेछ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App