१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'कीर्तिपुरको पहिचान जोगाएर समृद्ध बनाउँछु'

काठमाडौं- भित्तामा एउटा पेन्टिङ झुन्डिएको छ। पेन्टिङले तीस–चालिस वर्षअघिको झल्को दिन्छ। पुरानो घरको आँगनमा एक वृद्ध महिला सुकुलमा बसेर चर्खामा धागो कातिरहेकी छन्। वृद्धापछाडि अर्की महिला नाङ्लोमा चामल निफन्दै छिन्। पेन्टिङमा एउटा खसी र कुखुरा पनि देखिन्छन्। पेन्टिङभित्रै एक पुरुष खसीतर्फ हेरिरहेका छन्। यही पेन्टिङको मुनि छ मेयरको कुर्ची। कुर्चीमा छन् कीर्तिपुर नगरपालिकाको नवनिर्वाचित मेयर- रमेश महर्जन।

'म सानो छँदा कीर्तिपुरका गल्लीमा हिँड्दा खट्...खट्..खट..गरेको आवाज सुन्थें, जुन चर्खाको आवाज थियो। प्रत्येक घरमा चर्खा र तान चल्थे। कपडा किन्नु पर्दैनथ्यो। आफ्ना लागि चाहिने कपडा घरमै तयार पारिन्थ्यो,' करिब ४० वर्षअघिको कीर्तिपुरको दृश्य महर्जनको दिमागमा अझै ताजै छ, 'अचेल कीर्तिपुरको सडक–गल्लीमा चर्खाको आवाज सुनिँदैन। कपडा पनि बन्न छोडे। सबै किन्नुपर्छ।' 

२०२२ सालमा कीर्तिपुरको तत्कालीन लायकु गाउँ पञ्चायत–२ (हालको कीतिपुर नगरपालिका–१) मा जन्मेका महर्जनले १२ वर्ष हुँदासम्म किनेको कपडा लाएनन् रे। प्रत्येक घरमा तान हुन्थे। धान काटेर गहुँ छरेपछिको करिब तीनचार महिना टोल तान र चर्खाको आवाजले गुञ्जायमान हुन्थ्यो। त्यतिबेला कीर्तिपुरबासीको मुख्य पेसा कृषि थियो। अन्य बेला चर्खा र तान चलाउने फुर्सद उनीहरूले पाउँदैनथे। जब गहुँ छरिन्थ्यो त्यसपछि पुसदेखि फागुनसम्म वर्षभर आफूलाई चाहिने लत्ताकपडा कीर्तिपुरबासी घरमै बुन्थे।

'त्यतिबेला घरमै तानमा बुनिएका कपडालाई घरबुना कपडा भनिन्थ्यो। सबैले घरबुना कपडा लाउँथे। अब यी सम्झना मात्र भए,' मेयर महर्जनले भने।

त्यो बेलाको मुख्य बजारमध्ये काठमाडौंको इन्द्रचोक एक थियो। इन्द्रचोकमा कीर्तिपुरमा बनेको पछ्यौरा भनेपछि निकै बिक्री हुन्थ्यो। कीर्तिपुरको पछ्यौरा पाएसम्म इन्द्रचोकमा अन्य ठाउँमा बनेर आएका पछ्यौरा बिक्दैनथे रे। अहिले कीर्तिपुरको दुई ठाउँमा मात्र 'हाकुपटासी' बनाउन तान चलाइएको छ। यसले व्यावसायिक रूप लिन सकेको छैन।

'अहिल्यै व्यावसायिक रूपमा लैजान गाह्रो छ। तर सम्भावनाको खोजी हुनुपर्छ र हामी गर्छौं पनि। नत्र, यहाँ (कीर्तिपुर) को उत्पादन के त? कीर्तिपुरलाई चिनाउन पनि यो आवश्यक छ,' महर्जनले भने।

०००

महर्जन सानै उमेरदेखि राजनीतिमा होमिएका थिए। कीर्तिपुर मावि र परोपकार हाइस्कुलबाट विद्यालय शिक्षा सकेका उनी ८ कक्षा पढ्दा राजनीतिमा लागेका थिए। शंकरदेव क्याम्पसबाट बिकमसम्मको अध्ययन सकेका उनी शंकरदेवमै अनेरास्ववियु पाँचांैमा संगठित भएर लागेका थिए। एमकमका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा भर्ना त भए तर राजनीतिले गर्दा पूरा गर्न भ्याएनन्। पढ्ने रहर भने उनको मरेको थिएन। २०६० सालमा उनी फेरि त्रिविमै मास्टर्स डिग्रीमा भर्ना भए, तर मानविकी तर्फ। नेपाल भाषामा उनले एमए गरे। 

२०४३ सालको स्थानीय निर्वाचनमा उनी लायकु गाउँ पञ्चायतको प्रधानपञ्चमा उठेका थिए। उनी तत्कालीन मालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए। उनले पाँच सय ८६ मत ल्याए, तर हारे। जित्नेले हजार हाराहारीमा मत ल्याएको थियो।

२०४६ सालमा राजनीतिक परिवर्तन भयो, देशमा प्रजातन्त्र आयो। प्रजातान्त्रिक आन्दोलनमा उनी लागिपरे। २०४७ सालमा उनी त्रिवि कमिटीमा अनेरास्ववियुतर्फबाट कोषाध्यक्ष भए। २०४९ मा स्थानीय निकायको निर्वाचन हुँदा एमालेले उनलाई कीर्तिपुर लायकु गाविस वडा नं. २ को वडाध्यक्षमा उठायो। उनले जिते।

सार्वजनिक शैक्षिक गुठीले २०४९ सालमा स्थापना गरी सञ्चालनमा ल्याएको हिल टाउन स्कुलमा सुरुका पाँच वर्ष उनी उपप्रधानाध्यापक भए। २०५४ देखि २०६६ सम्म उनी सोही स्कुलमा प्रधानाध्यापक भएर काम गरे। २०५८ देखि २०६० सालसम्म उनी कीर्तिपुर यातायात सेवा कम्पनीको अध्यक्षसमेत भए। उनी २०६४ सालमा नेपाल जुडो संघको महासचिव भए। उनी निरन्तर ८ वर्षसम्म संघको महासचिव पदमा रहेर काम गरे। २०७२ सालको अधिवेशनपछि उनी जुडो संघको उपाध्यक्ष भए।

मेयर महर्जन साउथ एसिया जुडो फेडरेसनको एजुकेसन एन्ड कोचिङ डाइरेक्टरमा छन्। उनी दुई वर्ष भयो यो संस्थामा रहेको। २०६६ सालमा स्थापना भएको सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको संस्थापक महासचिव भएका उनी अहिले सोही संघमा वरिष्ठ उपाध्यक्ष छन्। उनी २०६७ देखि २०७२ सालसम्म कीर्तिपुर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्ष रहे। उनी २०७१ सालदेखि नेपाल डिफ एन्ड ब्लाइन्ड पारा जुडो एसोसिएसनको अध्यक्षसमेत रहिआएका छन्। कीर्तिपुर अस्पताल सञ्चालक समितिको सदस्य रहेका उनी सहिद स्मारक कलेजको सञ्चालक समितिको सदस्य हुन्।

०००

कीर्तिपुर धेरै फेरिएको छ। नवनिर्वाचित मेयर महर्जन सानो छँदा देखेको कीर्तिपुर अहिले धेरै फिँजिएको छ। शैली फेरिएका छन्। बस्ती थपिएका छन्। धेरै नयाँ अनुहारको प्रवेश भएको छ। यति ठूलो परिवर्तन ३०–४९ वर्षको अवधिमा भएको हो, तर सुविधा उस्तै छ। २०५३ सालमा गठन भएको नगरले अहिलेसम्म एउटा व्यवस्थित बसपार्क पाउन सकेको छैन।

 

'पहिला धेरै नेवारी शैलीका घर बन्थे। पुरानो नेवारी शैली बिस्तारै हराउँदैछ। नेवारीपनमा ह्रास आएको छ। पहिला त्यही पुरानो शैलीको घर हेर्न पर्यटक आउँथे। अहिले पर्यटक खोज्दा भेटिँदैनन्,' यो उनी आफूले अनुभव गरेको तितो यथार्थ हो।

अब कीर्तिपुरको सम्पूर्ण विकासको जिम्मेवारी महर्जनको थाप्लोमा आएको छ। उनी कीर्तिपुर नगरपालिकाको मेयर बनेका छन्। १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन बन्दा जनतामा पलाएको नैराश्य र विकासको चाहना बीच उनले तालमेल मिलाउनुपर्नेछ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन– तीन तहको योजना बनाई अघि बढ्ने सोचमा छन् मेयर महर्जन। अल्पकालीन योजना दुई महिनाभित्र पूरा हुने खालका हुनेछन्। फोहोरमैला व्यवस्थापन, खानेपानी व्यवस्थापन यसमा पर्नेछन्। 'सुरुमा हामी सार्वजनिक स्थानमा थुप्रेका फोहोर व्यवस्थापन गर्छौं। कीर्तिपुरको दुई–तीन ठाउँमा डिप बोरिङ गरिएको छ। यसको अस्थायी व्यवस्थापन गरी घरघरमा पानी पुर्‍याउने लक्ष्य हाम्रो छ,' सुरुकै महिनामा कार्यान्वयन गर्ने आफ्नो योजना उनले सुनाए।

नगरपालिकाले यो आर्थिक वर्षमा वडामा पठाएका योजनाको अवस्था हेरेर त्यसलाई टुंगोमा पुर्‍याउने कार्यलाई प्राथमिकता दिने उनको लक्ष्य छ। नयाँ बजेट नआउन्जेलसम्म नयाँ कार्यक्रम नगरवासीमार्फत लान नसकिने बुझाइ उनको छ। त्यसैले अहिले सञ्चालनमा रहेका कार्यक्रमलाई सुरुको महिनामा प्राथमिकता दिइनेछ। आवश्यक ऐनकानुन बनिनसकेकाले केही काम तत्काल गर्न नसकिने उनी बताउँछन्।

महर्जनको मध्यकालीन योजनामा संस्कृति र सम्पदा संरक्षणजस्ता कार्यक्रम पर्नेछन्। पाँगा, चोभार र कीर्तिपुरलाई समेटेर सांस्कृतिक नगरीका रूपमा विकास गर्ने योजना उनको छ। दीर्घकालीन योजनाअनुसार कीर्तिपुरमा नयाँ  बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्नेछ। एकीकृत बस्तीमा सबै सुविधा हुनेछन्।

कीर्तिपुर नयाँबजार गेट नजिक रहेको खाली जगामा बसपार्क बनाउने योजना उनको छ। बसपार्क तीनतले हुनेछ। सबैभन्दा तल्लो तलामा हेभी गाडी र त्यसमाथिका तलामा हल्का सवारीसाधन पार्क गर्ने ठाउँ हुनेछ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App