coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आइतबारसम्म मौसम सितल हुने

काठमाडौं- एक साता अघिसम्म उपत्यकामा हरेक दिन कुनै न कुनै समयमा पानी पर्‍र्यो। र, सर्वसाधाणले मौसमको अवस्थाबारे टिप्पणी पनि गरे, 'यसपटक गर्मी नै हुँदैन कि क्या हो? चिसो हुन्छ ।' त्यतिबेला मनसुन नै सुरु भयो भन्ने तर्क गर्नेहरु पनि भेटिए। पानी अत्यधिक परेको अनुमान पनि गरे।

सर्वसाधारणले तत्कालको मौसमी अवस्थालाई हेरेर जेसुकै तर्क वितर्क गरेपनि मौसमका ज्ञाताहरु यसलाई सामान्य रुपमा लिन्छन्। एक साता ह्वात्तै बढेको तापक्रम शुक्रबारबाट नबढ्ने अनुमान पनि गर्छन्।

'जति गर्मी हो आजै हो, भोलिदेखि अलि सितल हुन्छ', मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले नागरिकसँग भनिन्, 'ढुक्क हुनुहोस्, शुक्रबारदेखि आइतबारसम्म उपत्यका लगायत देशका अन्य भूभागमा पनि सितल हुन्छ।'

यस वर्ष अहिलेसम्मको सबैभन्दा तातो दिन गत मंगलबार थियो। मंगलबार काठमाडौंको अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस थियो। बुधबार ३०.७ र बिहीबार पनि यसकै हाराहारीमा तापक्रम कायम रह्यो।

'शुक्रबारबाट अझ कम हुनसक्छ। ३० डिग्री सेल्सियसभन्दा माथि जाँदैन,' कँडेलले ठोकुवा गरिन्। उनका अनुसार शुक्रबारबाट देशका अधिकांश भूभागमा बद्ली हुन्छ। पूर्वी, मध्य र पश्चिमका केही स्थानमा मेघजर्गनसहित बर्षा पनि हुन्छ। 'यसले गर्दा तापक्रम कम वा स्थिर हुने सम्भावना धेरै छ,' कँडेलले भनिन्। उनका अनुसार आगामी तीन दिनको मौसम एक साताअघि जस्तो थियो त्यस्तै हुने सम्भावना छ।

गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३४.२ डिग्री सेल्यिससम्म पुगेको थियो। काठमाडौंमा अहिलसम्मैकै सबैभन्दा धेरै अधिकतम तापक्रम ३६.६ सम्म पुगेको छ। 'आत्तिनुपर्ने अवस्था अहिले होइन,' कँडेलले भनिन्।

सर्वसाधारणले यसपटक अन्य वर्षहरुको तुलनामा धेरै पानी परेको अनुमान पनि गरे। त्यसो त प्रारम्भिक मनसुन सुरु हुनुअघि नै दक्षिण एसियाका मौसमवीदहरुले नै यसपटक मनसुन राम्रो हुने अनुमान गरिसकेका थिए। 'विगत दुई वर्षका प्रारम्भिक मौसमहरुमा पानी अत्यन्त न्यून परेर खडेरी भएकाले होला सर्वसाधारणले यसवर्ष धेरै पानी परेको अनुमान गरे,' कँडेलले भनिन्, 'अघिल्ला एक/दुई वर्षको तुलनामा यस वर्षको प्रारम्भिक मनसुन अलि सक्रिय भयो। पानी धेरै पर्‍र्यो।'

तर अधिकांश स्थानमा औसतभन्दा कम र सामान्य परेको छ। उनका अनुसार वैशाख १५ गतेदेखि जेठ १५ गतेसम्मको काठमाडौंको औसत वर्षा १ सय २३ मिलिमिटर हो। यसपटक जेठ ११ गतेसम्म आइपुग्दा ८८ मिलिमिटर मात्र वर्षा भएको छ। 'यसलाई धेरै वर्षा भएको भन्न मिल्दैन। हामीले सामान्य वर्षाका रुपमा लिएका छौं,' कँडेलले भनिन्।

उनले यस वर्षको मौसम निर्धारित समय (जेठ २७ वा अन्तिम साता) भन्दा ढिलो हुने बताइन्। साउथ एशियन क्लाइमेट आउट लुक फोरमको आठौं बैठकले 'लानिना'को सक्रियताले गर्दा यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको छ। फोरमले दक्षिण एसियाको मध्य तथा दक्षिण पश्चिम भेगमा बढी वर्षा हुने जनाएको छ भने पूर्वी तथा दक्षिण पूर्वी भेगमा औसतभन्दा कम वर्षा हुने जनाएको छ।

यसले नेपालको पूर्वी भेगमा भन्दा पश्चिमतिर बढी वर्षा हुने सम्भावना औंल्याएको छ। गत वर्ष 'इललिनो' प्रभावले गर्दा वर्षा कम भएको थियो। सन् २०१४ मा देखिएको इललिनो सन् २०१६ सम्मै कायम रह्यो र खडेरी सिर्जना गर्‍यो। 

प्रशान्त महासागरमा पानी औसत तापमान भन्दा बढी तात्ने प्रक्रियालाई 'इलनिनो' भनिन्छ भने यसको ठिक विपरित पानी चिसो हुने प्रक्रियालाई 'लानिना' भनिन्छ। लानिनाको प्रभाव देखा पर्ने बेला भूमध्य रेखास्थित प्रशान्त महासागरको पूर्वी तथा मध्य क्षेत्रको सतहको पानी औषत तापमानभन्दा बढी चिसो हुने हुन्दा त्यस क्षेत्रको वायुमण्डलीय चापमान समान्य अवस्थामा भन्दा बढी हुन्छ।

प्रकाशित: १२ जेष्ठ २०७४ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App